भौतिक पूर्वाधारको विकास समृद्धिको प्रमुख आधार – प्रधानमन्त्री

Prachandaकाठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग मिलेर मुलुकको भौतिक पूर्वाधारको विकासमा अगाडि बढेको बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको भौतिक पूर्वाधार सम्मेलन, २०१७ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार एक्लैको प्रयासले मात्रै भौतिक पूर्वाधारको विकास नहुने भएकाले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्न चाहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनको प्रक्रिया एउटा चरणमा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको अबको बाटो आर्थिक समृद्धि र विकास भएकाले त्यसमा सबैको साथ र सहयोग जरुरी रहेकामा जोड दिनुभयो ।

भौतिक पूर्वाधारको विकास नै समृद्धिको प्रमुख आधारका रुपमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भौगोलिक अवस्था, यथेष्ट लगानीको अभाव तथा कमजोर पूर्वाधारका कारण पछिल्लो दश वर्षमा मुलुकको आर्थिक वृद्धिदर चार प्रतिशतमा सीमित हुन पुगेकाले आगामी दिनमा त्यसलाई बढोत्तरी गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।

सरकारले कृषि, जलस्रोत, जङ्गल र पर्यटन क्षेत्रको विकासमा प्रमुख ध्यान दिएको जानकारी दिनुहुँदै उहाँले ती क्षेत्रको उन्नयनका लागि पनि आधारभूत रुपमा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

स्वदेशी लगानीले मात्रै सबै क्षेत्रको समग्र विकास हुन नसक्ने भएकाले सरकारले वैदेशिक लगानीलाई समेत सहज रुपमा भित्र्याउन पहल गरिरहेको उहाँको कथन थियो ।

निजी क्षेत्रलाई समेत साथमा लिएर जाने लक्ष्यका साथ सरकारले सार्वजनिक, निजी साझेदारीको अवधारणाका साथ काम गरिरहेको र त्यसले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा सार्वजनिक निजी साझेदारीको त्यति धेरै प्रयोग नभए पनि पछिल्ला दिनमा सोही अवधारणाका साथ काम सुरु भएको प्रधानमन्त्रीको स्पष्टोक्ति थियो ।

नेपालको मेहनती जनशक्ति, प्राकृतिक रुपमा प्राप्त भएको अपार सम्पदाका कारण पनि निकट भविष्यमा नै उच्चस्तरको आर्थिक वृद्धि गर्न सकिने सम्भावना आँैल्याउनुभयो । सन् २०२२ सम्म विकाशील मुलुकमा प्रवेश गर्ने र सन् २०३० सम्म मध्यमस्तरीय आय गर्ने मुलुकका रुपमा विकास गर्न पनि आर्थिक वृद्धिलाई बढावा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले स्वदेश तथा विदेशका सबै खालका लगानीकर्तालाई लगानीका लागि आग्रह गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको ध्यान कसरी मुलुकलाई आर्थिक रुपमा सफल र सक्षम बनाउने भन्नेमा केन्द्रित छ । त्यसमा सबै क्षेत्रको सकारात्मक सहयोगको कामना गर्दछु ।”

प्रधानमन्त्रीले सबै राजनीतिक दलको एजेण्डा आर्थिक वृद्धि र समृद्धि नै भएकाले समान धारणाका साथ अगाडि बढेको र त्यसले गुणात्मक सफलता हासिल गर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालको भौतिक पूर्वाधार क्षेत्रको विकासमा सरकारले मन वचन र कर्मले लागिपरेको उल्लेख गर्नुभयो ।

सार्वजनिक निजी साझेदारी नै नेपालको समृद्धिको प्रमुख आधार भएकामा जोड दिँदै उहाँले जल, जमिन, जङ्गल र जनशक्तिको संयोजनबाट मुलुकले उल्लेखनीय प्रगति हासिल गर्ने भएकाले त्यसैमा जोड दिइएको स्पष्ट पार्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सरकारले गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थलको निर्माणलाई विशेष जोड दिएर निर्माण सुरु गरेको र आगामी केही समयभित्रै सिमरा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु हुने बताउनुभयो ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकार योजनाबद्ध तवरले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ अगाडि बढेको उहाँको कथन थियो ।

सम्मेलनमा सहभागी हुन आउनुभएका भारतीय रेलमन्त्री सुरेश प्रभुले पूर्वाधार निर्माणमा नेपालसँगै मिलेर काम गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।

भारतले नेपाललाई सडक र पुल निर्माणमा रु ३४ अर्ब बढी सहयोग गर्न लागेको पनि उहाँले सो अवसरमा जानकारी गराउनुभयो । भारतको रेल सञ्जालमा भएको विस्ताबाट नेपाललाई पनि केही न केही लाभ पुग्ने उल्लेख गर्दै उहाँले नेपालसँग मिलेर काम गर्न भारत तयार रहेको बताउनुभयो ।

भुटानमा उत्पादित सबै विद्युत् भारत एक्लैले खरिद गरेका कारण भुटान यो क्षेत्रमै प्रतिव्यक्ति आम्दानी उच्च भएको मुलुकमा परेको उहाँको कथन थियो । नेपालले कसरी अधिकतम् लाभ लिन सक्छ भन्ने नै आफ्नो मुलुकको चासो र प्राथमिकतामा रहेको रेल मन्त्री प्रभुको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter