उपत्यकाका नदीबाट छब्बीस मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati cleaning Campaignकाठमाडौँ, १४ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।

सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी एक हजार ३०० व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो ।

सफाइमा अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य, गायत्री परिवारका डा राजु अधिकारी, हलेसी डेकोरका हेमराज कार्की, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालिम लिइरहनुभएका एक सय १० प्रशिक्षार्थी, साया ग्रुप, न्यानो स्पर्श, बाल विकास समाज, जीवन विज्ञान, एस ट्राभल्स, सिस्नुपानी नेपाल, नदी संरक्षण संस्थालगायतको सफाइमा संस्थागत उपस्थिति थियो ।

आगामी शनिबार १९९ औँ हप्ताको बागमती सफाइ मनोहरा र बागमतीको सङ्गमस्थल शङ्खमूलमा गरिने महाअभियानले जनाएको छ । फागुन २८ गते शनिबार बागमती सफाइको २०० औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा मनाउने तयारी गरिएको छ । विशेष कार्यक्रमको मूलसमारोह शङ्खमूलमै गरिने छ ।

तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमुलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य बनाइँदैछ ।

२०० औँ हप्ताको कार्यक्रम सुन्दरीजलदेखि चोभारसम्म नै गर्ने गरी तयारी गरिएको छ । सुन्दरीजलदेखि चोभारसम्मका १४ स्थानमा विशेष तयारीका लागि सरकारका १४ जना सचिवलाई विशेष जिम्मेवारी दिइएको श्रेष्ठले जानकारी गराउनुभयो ।
रुद्रमती सफाइको १५७ औँ हप्तामा आज सेतोपुल– देवीनगर पुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी, वातावरण संरक्षण अभियान, सामुदायिक प्रहरी कालोपुल र टोल सुधार समिति लगायतको सहभागिता थियो । सफाइको नेतृत्व पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।

विष्णुमती सफाइको १३० औँ हप्तामा आज बालाजुस्थित नेपालटार पुलमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा तारकेश्वर नगरपालिका, एकल महिला समूह, आमा समूह, टोल सुधार समिति, तारकेश्वर सरसफाइ समितिलगायत संस्थाका गरी ३०० जनाको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् । फागुन २८ गते शनिबार सफाइको २०० औँ हप्तामा गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुखलगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागिता हुने महाअभियानले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter