दृष्टिविहीन अमित सगरमाथा आरोहणमा

Mountaineerकमल खत्री / म्याग्दी, १६ फागुन । बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन् । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् । सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीलाई हिमाल आरोहणका लागि नेपाल सरकारले समेत स्विकृती दिइसकेको छ ।

“आगामी अप्रिल २ देखि जुन १० तारेखसम्म सर्वोच्च शिखर आरोहण गरिसक्ने गरी अनुमति लिएको छु, आरोहणका तयारी भइरहेका छन्, आरोहण खर्च जुटाउने प्रमुख कामको थालनी भएको छ,” – उनले भने । अपाङ्गतालाई कमजोरीको रुपमा नलिएर अवसरको रुपमा लिँदै आफूभित्र रहेका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दै अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पु¥याउन सक्छ भन्ने सन्देश दिन यो अठोट गरेको केसीले बताए ।

यस अघि पहिलो दृष्टिविहीन नागरिकको तर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका अमेरिकी नागरिक ऐरिक वाइमेरले ८ हजार ८ सय ४८ मिटरमध्ये ८ हजार मात्र आरोहण गर्न सकेकाले सर्वोच्च शिखरमा पाइला टेक्न सके आफू विश्वकै पहिलो दृष्टिविहीन आरोही हुने उनको दाबी छ । आफ्नो सगरमाथा आरोहणले नेपालमा रहेका अपाङ्गता भएका अरु व्यक्तिलाई सङ्घर्ष गरी सफलतामा पुग्नका लागि प्रेरणा दिने केसी बताउँछन् ।

सगरमाथा आरोहणको तयारी अन्तर्गत यस अगाडि २०७२ वैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको ६ हजार १८६ मिटर अग्लो आइसल्यान्ड पिक र चैत्र ८ गते ६ हजार ६५४ मिटर अग्लो मेरापिक हिमाल आरोहण गरिसकेको केसीले जानकारी दिए । “यी दुई हिमाल सफलतापूर्वक आरोहण गरेपछि मलाई आत्मबल बढेको छ, सर्वोच्च शिखर सगरमाथामा नेपालकै पहिलो दृष्टिविहीनको पाइला टेकाउने मेरो अठोटलाई पूरा गराउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छु” – उनले भने ।

दृष्टिविहीन केसीको सगरमाथा आरोहणमा अनुमति दिइसकेको नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५ लाख नगद सहयोग गरिसकेको छ । त्यस्तै सरकारले हिमाल आरोहीहरुबाट लिने ७५ हजार रुपैयाँ रोयल्टी र फोहर व्यवस्थापन शुल्कको लागि लिने ४ हजार डलर बराबरको कर समेत छुट दिएको केसीले जानकारी दिए ।

“आरोहणमा झण्डै एक करोड खर्च लाग्नेछ, सरकारी तवरवाट अपेक्षाकृत सहयोग पाएको छु, लायन्स क्लबहरुले समेत सहयोग जुटाउन आबश्यक पहल गरेका छन्, सबै सङ्घसंस्था तथा सहयोगदाता महानुभावहरुबाट सक्दो सहयोगको अपेक्षा गरेको छु,” – उनले थपे ।

म्याग्दी सँगै बागलुङ र पर्वतमा पनि केसीको सगरमाथा आरोहण अभियानका लागि आर्थिक सङ्कलन अभियान चलाइएको छ । केसीले साढे चार वर्षदेखि नेपालको पहिलो दृष्टिविहीन व्यक्तिहरुका तर्फबाट सगरमाथामा पहिलो पाइला टेक्ने अभियान सुरु गरेका थिए ।

“केसीको अभियान एक व्यक्तिको मात्रै नभएर सिङ्गो धौलागिरि र नेपालीहरुको साहसी कदम हो, यसले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरको खाँचो छ, उनीहरुमा अपाङ्गताकै कारण कमजोर हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ, – अपाङ्गता भएका व्यक्तिमा शिक्षा र प्रविधिको पहुँच विस्तारमा सक्रिय म्याग्दीका दृष्टिविहीन खोमराज सुवेदीले भने ।

केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउन बेनीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुलाई समावेश गरी एक समिति निर्माण गरिएको छ । म्याग्दीमा केसीको सहयोगार्थ रु ५५ हजार आर्थिक सङ्कलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter