तरकारी खेतीबाटै रु १७ करोड आम्दानी तर सिँचाइको समस्या

Vegetable 2गोरखा, २२ फागुन । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै होइन बचत पनि गर्नुभएको छ ।

रेग्मीले भन्नुभयो, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको पानी बारीसम्म तान्न नसकिएको उहाँको गुनासो छ । सिँचाइको अभावले तरकारीको उत्पादन आशा गरेजस्तो छैन ।

त्रिशूलीको पानी बारीसम्म ल्याउन पहल नगरिएको होइन । “नदीमा पानी बगेको बग्यै छ तर जनताको खेत बाँझै छ सिँचाइका लागि सरकारी तथा गैरसरकारी सहयोग आवश्यक छ” स्थानीय किसान ओमकुमारी रेग्मीले थप्नुभयो, “पानीमा डुबाउँदा पनि नबिग्रने पानी तान्ने मोटर हामीलाई आवश्यक छ । ”

स्थानीय खोलाबाट कुलोमार्फत खेतमा पानी ल्याएर जसोतसो सिँचाइ गर्दै आउनुभएका ज्यामिरेघाटका किसान भूकम्पपछि पानीको स्रोत सुकेपछि निरास हुनुहुन्छ । त्रिशूलीको पानी तानेर बारी सिँचाइ गर्नुको विकल्प नरहे पनि टिकाउ खालका मोटर खरिद गर्न नसक्दा उहाँजस्ता किसान चिन्तामा छन् । पाँच÷सात हजार लगानी गरी खरिद गरेको मोटर एक साता पनि नटिकेपछि उनीहरुलाई चिन्तित बनाएकोे हो ।

घ्याल्चोकका किसान तरकारी खेती गरेरै जीवन निर्वाह गर्छन् । यहाँका किसानले वार्षिक एक लाखदेखि दश लाखसम्म तरकारी बेचेरै आम्दानी लिने गरेका छन् । व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका किसान मिलेर जनकल्याण ताजा तरकारी तथा कृषि सङ्कलन केन्द्र पनि सञ्चालन गरेका छन् ।

यस्तै सहकारी मार्फत किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । सहकारीका सदस्यसचिव राजु रेग्मीले भन्नुभयो, “घ्याल्चोक–५ मा ९५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती हुँदै आएको छ । वार्षिक एक हजार आठ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ । तरकारी बिक्रीबाटै वार्षिक रु. १७ करोड कमाएका छौँ ।” घ्याल्चोकमा तरकारी सङ्कलन गरी बिक्री गर्न तीनओटा सहकारी सक्रिय छन् । निर्वाहमुखी तवरले तरकारी खेती गर्दै आएका घ्याल्चोकका किसानले व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको धेरै वर्ष भइसकेको छ ।

घ्याल्चोकमा उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री हुने गरेको छ । बारीमा फलेका तरकारी किसानले दिनहुँ सहकारीमार्फत सञ्चालन भएका सङ्कलन केन्द्रसम्म पु¥याउँछन्, व्यापारी ट्रक लिएर सङ्कलन केन्द्रमै आउँछन् र सहकारीले तोकेको मूल्यमा तरकारी खरिद गरी लैजाने गरेका छन् । तरकारी खेती गर्न किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि बीउ र सिँचाइ गर्न कुलो निर्माणमा सहयोग गर्दै आएपनि उल्लेख्य मात्रामा सिंचाई गर्न कठिन छ ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले घ्याल्चोकमा रु तीन लाख ८५ हजारको लगानीमा हालै कुलो निर्माण गरिएको बताउनुभयो । “तरकारीको बीउ, मल खरिदमा अनुदान र तरकारीलाई रोग, कीराबाट जोगाउन प्राविधिक सहयोग गर्दै आएका छौँ”, श्रेष्ठले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter