संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली; गोविन्द गौतमका परिवारलाई रु पाँच लाख सम्मानस्वरुप प्रदान

Support to Govinda Gautamधनगढी, ३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ ।

एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।”

नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो¥याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय एकता र समाजिक सद्भाव खलबलिन नदिन सबै चनाखो हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले सप्तरी जिल्लामा हत्याकाण्ड गराएर एमालेलाई बद्नाम गर्न चाहनहरु आफैँ बदनाम भएको बताउनुभयो । एमालेका अर्का उपाध्यक्ष भीमबहादुर रावलले तराई, पहाड र हिमालका जनताले एकता चाहेको उल्लेख गर्दै ‘जनतालाई टुटाउने र विभाजित गरेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र’ देशमा सफल हुन नदिइने बताउनुभयो । “एमालेले भारत, चीन, अमेरिका सबै देशसँग राम्रो सम्बन्ध चाहेको छ तर नेपालको स्वाधीनतालाई झुकाउने, बाह्य हस्तक्षेप निम्त्याउने कुरालाई अस्वीकार गर्छ, ” उहाँले भन्नुभयो । सभामा एमालेका नेता कर्ण थापा, प्रेम आले मगर, गरिमा शाह, नारदमुनि रानालगायतले पनि बोल्नुभएको थियो ।

सभामा नेकपा (माओवादी केन्द्र) डोटीका डम्बरबहादुर सिंहलगायत व्यक्ति एमालेमा प्रवेश गर्नुभएको थियो । स्थानीय बजारको मुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका थिए । गत फागुन २१ देखि पूर्वी नेपालबाट सुरु गरिएको सो अभियान आजै कञ्चनपुरमा पुगेर औपचारिक रुपमा समापन गर्न लागिएको जनाइएको छ ।

संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदैछ : ओली

यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानको आज कञ्चनपुरको भीमदत्तनगरमा समापन गर्दै नेता ओलीले कुनै पनि बहानामा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै अध्यक्ष ओलीले सङ्क्रमणकाल टुङ्गिन नदिन र विभिन्न जातीय, वर्गीय नाउँमा वैमनश्यता फैलाउन तत्वसमेत सक्रिय रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले सिमानामा भारतीयले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउँदै भन्नुभयो, “गोविन्द गौतमको हत्याको विषयमा भारतले माफी माग्नुपर्छ ।”

नेता माधवकुमार नेपालले तीन वटै तहको निर्वाचन नभए संवैधानिक सङ्कट आउने बताउनुभयो । निर्वाचन हारजितको विषय नौलो होइन भन्दै उहाँले लामो समयदेखि निर्वाचन नहुँदा विकास निर्माण प्रभावित हुनाका साथै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेको बताउनुभयो । भारतीय एसएसबीले गौतमको हत्या गरेको विषयमा सरकारले कूटनीतिक पहल नगरेको आरोप पनि उहाँले लगाउनुभयो । ‘

महासचिव ईश्वर पोखरेलले संविधान संशोधन आवश्यक नरहेको धारणा राख्नुभयो । संविधान संशोधन गरेर कसको सेवा गर्न खोजिएको हो भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “यसको जवाफ सत्तारुढ नेपाली कांँग्रेस र नेकपा(माओवादी केन्द्र)ले दिनुपर्छ ।” संविधान कार्यान्वयन र निर्वाचन गर्न नदिन षड्यन्त्र भइरहेको जनाउँदै नेता पोखरेलले त्यसको खबरदारी एमालेले गर्ने बताउनुभयो ।

कार्यक्रममा एक साताअघि भारतीय सीमा सुरक्षा बल(एसएसबी) को गोली प्रहारबाट सहादत प्राप्त गर्नुभएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई एमालेले रु पाँच लाख सम्मानस्वरुप प्रदान गरेको छ ।

सम्बोधनका क्रममा सहिद गौतमको सम्मानस्वरुप नेता ओलीले रु पाँच लाखको चेक र गौतमका छोरीलाई एक थान ल्यापटपसमेत प्रदान गर्नुभयो । उक्त चेक र ल्यापटप एमाले जिल्ला अध्यक्ष तथा पुनर्वासका बासिन्दा तारा लामा तामाङलाई हस्तान्तरण गरिएको थियो ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter