स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र; निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

Election Commissionकाठमाडौँ, ४ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ ।

पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक÷दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ ।

निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने अनुमान गरेको छ । नगरपालिका र गाउँपालिका तथा तिनका वडामा गरी कुल ३६ हजार छ सय ३९ पदका लागि निर्वाचन हुने छ । आयोगमा दर्ता भएका कुल एक सय १३ दलमध्ये तोकिएको समयमा ७९ दलले मात्र निर्वाचनमा भाग लिन आवेदन दिएका छन् ।

मुलुकभर चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी सात सय ४४ स्थानीय तह तथा सबै तहमा गरी कुल छ हजार छ सय ८० वडा छन् । त्यसमध्ये संसद्मा हाल प्रतिनिधित्व गरेका २६ दलले मात्र आफ्नो चुनाव चिह्नसहित भाग लिन पाउनेछन् । बाँकी दल र स्वतन्त्र उम्मेदवारले भने आयोगले निर्धारण गरेको चिह्नका साथ निर्वाचनमा भाग लिनुपर्ने आयोग, कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताउनुभयो ।

अदालतको फैसला सजपाका पक्षमा

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीको खारेजी निर्णयलाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिमकालीन आदेश दिएको छ । नियमित तीन वर्षभन्दा बढी समयसम्म आयव्यय नबुझाएपछि गत वर्ष २०७२ फागुन २१ गते आयोगले समाजवादी पार्टी खारेज गरेपछि मन्त्री सिंह त्यसविरुद्ध अदालत जानुभएको थियो ।

अदालतले. शुक्रबार पुनरावेदनको मार्ग प्रशस्त भएको र त्यस्तो निर्णयलाई अन्तिम मानी चुनावमा पार्टीको हैसियतबाट भाग लिन नपाउने भन्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो । साथै अदालतले निवेदक दलले आफ्नो दायित्व पूरा गर्ने विश्वाससमेत दिई कानुनबमोजिम विवरण बुझाएपछि सक्रिय रहन नपाउने भन्न नमिल्ने देखिएकाले हाललाई आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन भनी सो आदेश दिएको हो ।

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो – “वैशाख ३१ मा हुने महाअभियानमा सबैको सहभागिता होस् भन्ने निर्वाचन आयोगको चाहना हो ।”

प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्दछ भन्नुभयो ।

“संसद्मा भएका राजनीतिक दल तथा नभएका दल सबै निर्वाचनमा भाग लिन चाहेका छन्, त्यसका लागि सहकार्य गरेर अगाडि जानुपर्छ,” उहाँले भन्नुभयो – निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ ।

आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई विश्वस्त पार्नुभएको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनुभएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उहाँले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताउनुभयो । रासस ९श्रव्य सामग्री र तस्बिर उपलब्ध छ०

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter