समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल; प्रधानमन्त्री दाहाल आज बेइजिङमा

PM addressing BOAO Conferenceकाठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताउनुभएको छ ।

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उहाँले भन्नुभयो — “समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र व्यापार आवश्यक भएको छ ।”

‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सो सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताउनुभयो ।

भूमण्डलीकरण र स्वतन्त्र व्यापार विकासको बाहक भएको तथा २१ औं शताब्दी एसियालीको शताब्दी भएको बताउँदै उहाँले भन्नुभयो, “भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ ।”

प्रधानमन्त्री दाहालले एसियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेको तथा वस्तु र सेवाको निर्वाध प्रवाह पनि हुन नसकेकाले ती राष्ट्र विकासका दृष्टिले पछि परेको बताउँदै अवसरमा समानतासँगै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

बितेका केही दशकमा भूमण्डलीकरण अन्तर्राट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विकासको प्रमुख शक्ति र विश्व अर्थतन्त्रको मेरुदण्ड भूमण्डलीकरण भएको तथा त्यसले लाखौं लाख जनतालाई गरिबीबाट उठाएको भन्दै भूमण्डलीकरण मात्रै पूर्ण विकास नभएको धारणा व्यक्त गर्नुभयो ।

“हाम्रो विश्वलाई समृद्धशाली बनाउन स्वतन्त्र व्यापार र भूमण्डलीकरणको महत्व सर्वस्वीकार्य निर्विवाद छ तर धेरैले त्यस प्रक्रियामा आफूहरु समाहित हुन नसकेको अनुभूत गरेका छन्, भूमण्डलीकरणको परिणामस्वरुप धेरैले आफूहरु प्रभावहीन भएको गुनासो पनि गरेका छन्,”उहाँले भन्नुभयो— भूमण्डलीकरणको प्रतिफल समान ढङ्गले बाँडफाँट हुन सकेको छैन् ।”

प्रधानमन्त्री दाहालले स्वतन्त्र व्यापार र भूमण्डलीकरणको असमानताले विकसित र विकासोन्मुख देशका विभिन्न भागमा आशङ्का सिर्जना गरेको र त्यसले अनिश्चय र निराशा उत्पन्न गरेको उल्लेख गर्दै
आर्थिक वृद्धिको आधारभूत तत्व वाणिज्य र व्यापार हो भन्नुभयो ।

नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरुले सघाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ । द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो ।”

नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेका तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै उहाँले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको बढ्दो बजार र एसियाका विशाल अर्थतन्त्र भएका दुई ठूला छिमेकीबीचको अवस्थितिले हाम्रो मुलुकलाई आर्थिक गतिविधिको मुख्य केन्द्र बनाउन सकिने अपार सम्भावना रहेको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहाल आज बेइजिङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्नुहुनेछ ।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, सोमबार उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री आज विहान एशियाका लागि बोआओ मन्चको बार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट आजै बेइजिङ पुग्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter