नेपालमा फरक रक्त समूह भए पनि मिर्गौला प्रत्यारोपण सम्भव

dialysisकल्पना पौडेल / काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।

अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले यही चैत ९ गते सफल प्रत्यारोपण गरेको हो ।

अस्पतालका मिर्गौला प्रत्यारोपण समूहमा नेफ्रोलोजी समूहमा डा शाहको नेतृत्वमा डा महेशराज सिग्देल, डा मुकुन्द काफ्ले , डा मिदान श्रेष्ठ, डा प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा उत्तमकुमार शर्मा, डा पवनराज चालिसे र डा भोजराज लुइँटेल सर्जन हुनुहुन्छ । जसको अथक मेहनतले यो प्रत्यारोपण सम्भव भएको हो ।

काठमाडौँ सीतापाइलाकी सुलोचना श्रेष्ठको बुबाको मिर्गाैला प्रत्यारोपण गरिएको हो । अहिले उहाँलाई घर पठाइसकिएको छ । ‘ओ’ रगत समूह सुलोचनाको र ‘ए’ रगत समूह उहाँको बुबा श्यामकृष्ण श्रेष्ठको रगत मिलाएर इन्कम्प्याटिबल प्रत्यारोपण गराएको हो । यसका लागि सुलोचनालाई ‘प्जाज्मा फेरोसिस’ गरी प्रत्यारोपणका लागि तयार गरिएको थियो । प्रत्यारोपण समूहका सदस्य सर्जन डा पवनराज चालिसेका अनुसार मिर्गाैला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको रगत समूह एकै हुनुपर्छ । हाम्रो देशमा अहिलेसम्म यही आधारमा प्रत्यारोपण हँुदै आएको थियो । फरक रक्त सूमहको मिर्गाैलालाई शरीरको ‘एन्टी बडी’ले सपोट गर्दैन ।

“फरक रक्त समूहका मिर्गाैलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निष्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ । रक्त समूह नमिल्ने भएकाले प्रत्यारोपण गर्नेमा उच्च दक्षताको जरुरी हुन्छ । लामो समयको तयारीपछि हामीले सफल प्रत्यारोपण गरेका हौँ”– उहाँले भन्नुभयो ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले आफ्नै नातेदारबाट मात्र मिर्गौला लिन सक्छ जुन हाम्रो देशको कानुनले सीमा निर्धारण गरेको छ । जसका लागि एकै रक्त समूह हुनुपर्छ । यस्तो अवस्थामा मिर्गौला दिन चाहेर पनि रक्त समूह नमिलेका कारण दिन नसकिरहेका अवस्थामा यस्तो खालको फरक रक्त समूहको प्रत्यारोपणले मिर्गौला रोगीमा नयाँ आशा जगाएको छ ।

अहिले भइरहेको भन्दा केही झन्झटिलो र अलि महँगो विधि भए पनि यसले रक्त समूह नमिलेर डाइलासिसमा मात्र बसिरहेका बिरामीलाई प्रत्यारोपण गर्नसक्ने नयाँ बाटो खोलेको छ । डा चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि रक्त समूह नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकालाई यो प्रविधि नयाँ आशा हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter