न्यून लगानीबाट सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

Women Enterpriseकालिका खड्का / काठमाडौँ, २० चैत । “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् ।

देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल लिन सकिन्छ, एक पटक उत्पादन गर्दा रु पाँच लाख नाफा हुन्छ” – उनले थपिन् ।

सामान्य लेखपढ मात्रै गरेकी च्याउ उद्यमी ३३ वर्षीया देवमायाले गृहिणी शिक्षामार्फत गतवर्ष एसएलसी उत्तीर्ण गरिन् । फरवार्ड नामक संस्थाबाट दुई दिनको तालिम लिएर महिला बचत तथा ऋण सहकारी संस्थाबाट रु डेढ लाख ऋण लिएर पाँचवर्षदेखि उनले च्याउ खेती गर्दै आएकी छिन् ।

च्याउ खेतीमा सुरुमा एकपटक राम्रोसँग ध्यान दिएमा तीनमहिनासम्म उत्पादन लिन सकिन्छ । फल्न सुरु भएपछि प्रतिकूल हावापानी र रोग लाग्नबाट बचाउनुपर्छ । च्याउ खेतीबाट नै उनले दुई छोरा छोरीलाई पढाउन सकेकी छिन् । वैदेशिक रोजगारीमा गएका उनका श्रीमान् पनि अहिले च्याउ खेतीमै लागेका छन् ।

मुहारमा सन्तोषको भाव देखिएकी देवमायाले थपिन् –“च्याउ खेतीबाट राम्रो आम्दानी भएकामा धेरै खुसी छु । पैसा हातमा भएपछि हरेक काम गर्न आत्मबल बढदो रै’छ । अरु महिलालाई पनि म केही गर्न प्रेरणा दिइरहेका छु ।”

च्याउ व्यवसाय गरेर सफलता प्राप्त गरेकी देवमायाजस्तै पर्वत कुस्मा बजारकी जसमाया पुनले पनि अल्लो व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छिन् ।

विसं २०५६ सालमा छ महिना लघु उद्यम विकास कार्यक्रममार्फत घरेलु विकास समिति पर्वतबाट तालिम लिएर पुनले अल्लो व्यवसाय सुरु गरेकी हुन् ।

जसमायाले भनिन् – “अल्लो व्यवसायबाट राम्रोसँग परिवारको आर्थिक स्तर उकास्न सकेकामा खुसी लाग्छ । पहिला केही किन्न मन लागे पनि पैसा नहुँदा दुःख लाग्थ्यो । अहिले सानोतिनो कामका लागि कुनै चिन्ता छैन ।” उनीसँग दुई चर्खा र दुई तान छन् । अल्लोबाट बनेको कपडाको देशभित्र मात्र हैन बाहिरबाट पनि राम्रै माग आउँछ । अल्लोबाट कपडा, कोट, पर्स, झोला, चप्पल लगायत धेरै सामान निर्माण गर्न सकिन्छ ।

सामान्य लेखपढ मात्र गर्न सक्ने जसमायाले मासिक रु २५ देखि ३० हजार फाइदा लिन सकेकी छिन् । उनी छोरीलाई राम्रो शिक्षा दिलाउन सफल भएकी छिन् भने साउदी अरबमा रहेका श्रीमान् समेत आएर अल्लो व्यवसायमा सघाइरहेका छन् । काम गर्दै जाँदा उनलाई आधुनिक खालको मेसिनको आवश्यकता भयो र यस्तो मेसिन किन्न केयर नेपाल नामक संस्थाले रु ४० हजार सहयोग पनि ग¥यो ।

“आफू मात्र हैन, अरु दिदीबहिनी पनि व्यवसायी बनून् भनेर १५ जनालाई तालिम दिएकी छु, केही गर्नुपर्छ भनेर दिदीबहिनीलाई प्रोत्साहन पनि गरिरहेको छु” – उनले सुनाइन् ।

देवमाया र जसमायाजस्तै कैलालीकी पार्वती चौधरी पनि वेतबाँस (लहरा) का सामग्रीका सफल उद्यमी हुन् । वेतबाँसबाट निर्मित फर्निचर व्यवसाय गर्ने उनले कुर्ची, टेबल जस्ता आकर्षक सामग्री बनाएर बजारमा बेच्छिन् ।

लघु उद्यम विकास कार्यक्रमबाट सातदिनको तालिम लिएर काम सुरु गरेकी पार्वतीले रु पाँचहजारबाट यो व्यवसाय सुरु गरेकी हुन् र अहिले लगानी रु एक लाखबाट नाघिसक्यो । उनलाई यस्ता सामग्री बनाएर मासिक रु ३०÷३५ हजार फाइदा हुन्छ ।

“सुरुमा धेरै दुःख थियो, अहिले दुई छोरासहित ११ जनाको परिवारलाई राम्रैसँग धानेकी छु, अझै धेरै गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ” – सबै महिलालाई केही न केही उद्यम गर्न सल्लाह दिने पार्वती भन्छिन् ।

देवमाया, जसमाया र पार्वती उदाहरणीय महिला उद्यमी हुन् । उनीहरुको सफलतामा केयर नेपाल नामक संस्थाले सहयोग रहेको छ । यो संस्थाले यी सफल महिला उद्यमीको वृत्तचित्र बनाएर भिडियोमार्फत अन्य महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्दै आएको छ ।

केयर नेपालका परियोजना व्यवस्थापक हरि घिमिरेले देशभरबाट १५ सफल महिला उद्यमीको वृतचित्र तयार पारेर अन्य महिलालाई उत्प्रेरित गर्न ठाउँ–ठाउँमा अभियान नै सञ्चालन गरेको बताए ।

“भिडियोमार्फत पूर्वदेखि पश्चिमसम्म १९ जिल्लामा सफल महिला उद्यमी अभिप्रेरणा अभियान सुरु गरेका छौं, वृत्तचित्रमार्फत १२ हजारलाई उद्यमी बन्न प्रोत्साहन गरिएको छ”– उनले थपे । यी सफल महिला उद्यमीलाई थप प्रोत्साहन दिन केयर नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यी महिलाका सफल उद्यम अरुका लागि प्रेरणादायी छन् । उनीहरुबाट प्रेरणा लिएर अघि बढ्ने जो कोही आत्मनिर्भर बन्न सक्छन् भन्नेमा द्विविधा छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter