मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै; मतदाता शिक्षामा खटिए २१ हजार कार्यकर्ता

Election Commissionकाठमाडौँ, वैशाख ३ गते । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले गोरखापत्रसँग कुरा गर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा खटिनुभएका मुख्य निर्वाचन अधिकृतहरू शनिबारसम्म सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिनुभयो ।

जम्मा ७४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको नियुक्ति आयोगले गरिसकेको छ । आयोगले ६६९ जना निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ मा खोल्ने तयारी गरेको छ ।

उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य निर्वाचनको कार्यालय खोल्न सबै तयारी पूरा भएको जानकारी सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले दिनुभएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँका जिल्ला निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले काठमाडौँका लागि राष्ट्रिय सभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी पूरा भएको बताउनुभयो ।

काठमाडौँको मुख्य निर्वाचन अधिकृतमा पुरुषोत्तम ढकाल खटिनुभएको छ र यस जिल्लामा ३२० वटा मतदानस्थल तोकिएका छन् । काठमाडौँमा दुई लाख ७२ हजार २७१ पुरुष र दुई लाख ८७ हजार ११८ महिला र ११ जना तेस्रोलिङ्गी गरी पाँच लाख ५९ हजार ४०० मतदाता छन् ।

यसैगरी ललितपुरका जिल्ला निर्वाचन अधिकारी सीता साम्बाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहने बताउनुभयो । ललितपुरको मुख्य निर्वाचन अधिकृतमा बालमुकुन्द दवाडी हुनुहुन्छ । यस जिल्लामा पुरुष एक लाख तीन हजार ७७, महिला एक लाख नौ हजार ३९३ र तेस्रोलिङ्गी एक गरी जम्मा दुई लाख १३ हजार ७३ मतदाता छन् ।

यस्तै भक्तपुरका जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार भक्तपुर नगरपालिका नजिकै रहेको भवनमा भक्तपुरको मुख्य निर्वाचन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । भक्तपुरमा ७८ हजार ९२६ पुरुष, ८२ हजार ५९८ महिला र पाँच तेस्रोलिङ्गी गरी जम्मा एक लाख ६१ हजार ५२९ मतदाता छन् । भक्तपुरमा ८७ वटा मतदान केन्द्र तोकिएका छन् ।

मतदाता शिक्षामा खटिए २१ हजार कार्यकर्ता
हामी मतदाता शिक्षा कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेविका हाँैं, स्थानीय तह निर्वाचनका लागि खटिएका हाँैं’ भनी निर्वाचन आयोगका कर्मचारी तपार्इंको घरको ढोका ढकढक्याउन आए भने आश्चर्य नमान्नुहोला ।

निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता/मतदाता शिक्षा स्वयंसेविकालाई प्रत्येक मतदाताको घरमा पुग्ने गरी खटाएको छ । उनीहरूले निर्वाचनको मौन अवधि सुरु हुनुअघि अर्थात् एक महिनासम्म मतदातालाई उम्मेदवार बन्ने, मतदान गर्ने र निर्वाचनमा विजयी भएपछि नेतृत्व सम्हाल्ने लगायतका विषयमा मतदाता शिक्षा प्रदान गर्नेछन् ।

आयोगका मतदाता शिक्षा हेर्नुहुने सहसचिव नवराज ढकालले भन्नुभयो, ‘‘आयोगले प्रत्येक मतदान केन्द्रका लागि एक जनाका दरले मतदाता शिक्षा कार्यकर्ता÷स्वयंसेविका खटाएका छौंँ, उहाँहरूले एक महिनाभरि प्रत्येक मतदाताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गर्नेछन् । ’’ आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता शिक्षकलाई प्रशिक्षण दिएर खटाइसकेको छ । प्रत्येक वडाका लागि कम्तीमा तीनजना कार्यकर्तालाई परिचालन गरिएको छ ।

उनीहरूले मतदाता शिक्षाका लागि आयोगले तयार गरेको पाँच प्रकारका पोस्टर, नेपालको संविधानमा निर्वाचन र यससँग सम्बन्धित केही जानकारी भएको हातेपुस्तिका, क्यालेन्डर, नमुना मतपत्रसहित बोकेर मतदातासमक्ष प्रस्तुत हुनेछन् । आगामी स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् ।

त्यस क्रममा एक जना स्वयंसेविकाले एक महिनाको अवधिमा कम्तीमा सात सयदेखि एक हजार जनासम्मलाई मतदाता शिक्षा प्रदान गर्नेछन् । आयोगले पहिलोपटक मतदानमा भाग लिँदै गरेका युवा, महिला र मधेशलाई केन्द्रित गरेर मतदाता शिक्षामा जोड दिएको छ ।

मुलुकका ७५ जिल्लाबाटै मतदानस्थल तोकिएको विवरण आयोगमा आइसकेको छ भने मतदान केन्द्रको सङ्ख्या केही दिनभित्रै टुङ्गो लाग्ने आयोगले जनाएको छ । आयोगले करिब २१ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ । देशका विभिन्न जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याका आधारमा आयोगले छ आकारको मतपत्र तयार गरेको छ ।

सबैभन्दा ठूलो मतपत्रमा ६८ क्रमाङ्क रहेको छ भने प्रत्येक क्रमाङ्कमा सातवटा चुनाव चिह्नका कोष्ठ रहेका छन् । काठमाडौँसहित रूपन्देही, नवलपरासी, मोरङ, झापा, सुनसरीजस्ता जिल्लाका लागि ठूलो मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा सानो आकारको रहेको मतपत्रमा १८ क्रम सङ्ख्या रहनेछ ।

लामो समयपछि स्थानीय तहको निर्वाचन नयाँ संरचनामा हुन लागेको, मतपत्र ठूलो हुने, समावेशी सिद्धान्त पालना गर्नुपर्ने लगायतका विषयमा मतदाता शिक्षा दिइने जानकारी पनि सहसचिव ढकालले दिनुभयो । मतपत्र बदर कम होस् भनेर आयोगले मतदाता शिक्षाको प्रचारप्रसारका लागि आमसञ्चार माध्यमको पनि प्रयोग गरिनेछ । २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४.९६ र समानुपातिकतर्फ ३.२० प्रतिशत मत बदर भएको थियो । आयोगले हालसम्म ६१ जिल्लाको एक करोड १७ लाखभन्दा बढी मतपत्रको छपाइ कार्य पूरा भइसकेको जनाएको छ ।

मतदान गर्ने समयभित्रै मतदान केन्द्रमा पुगिसक्ने, मतदाता परिचयपत्र साथमा लैजाने, मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषको लाइन बस्नुपर्नेलगायत मतदान गर्ने उम्मेदवारको पहिचान गरी स्वस्तिक चिह्नद्वारा मतदान गर्नेलगायत आवश्यक विषयमा प्रेरित गर्ने ढङ्गबाट स्वयंसेविकाले मतदातालाई शिक्षा दिनेछन् ।

मतदान अधिकृतको दस्ताखत नभएको, औँठाबाट मत सङ्केत गरेको, मतसङ्केत नबुझ्ने गरी लतपतिएको, निर्वाचन चिह्न रहेको कोठामा नगरी बाहिर मतसङ्केत गरिएको, उम्मेदवार नै नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको अवस्थामा मत बदर हुने कुरामा पनि मतदातालाई प्रशिक्षित तुल्याइनेछ ।

स्थानीय तहको निर्वाचनबाट नगरपालिकाको हकमा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य दलित महिला वडा सदस्य र अरू दुईवटा वडा सदस्य निर्वाचित हुनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter