पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाव

myagdi_districtम्याग्दी, वैशाख ३ गते । म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको थियो । तर आवश्यक पूर्वाधार अभाव र प्रचारप्रसारमा भएको कमीले यथेष्ट मात्रामा पर्यटक भित्रन सकेका छैनन् ।

प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भावनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित छ । मङ्गला गाउँपालिको पूर्णगाउँ, रघुगङ्गा गाउँपालिकाको झीँ र बेनी नगरपालिकाको वाखेतको सीमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ ।

पर्यटन विकासको सम्भावनायुक्त स्थान भए पनि व्यवस्थित बस्ने खाने होटल र पदमार्गको अभावसँगै प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको हो । पर्याप्त मात्रामा पर्यटक भित्रन नसकेपछि पूर्णगाउँ, झीँ र वाखेतमा सञ्चालन गरिएका होमस्टेसमेत राम्ररी चल्न सकेका छैनन् ।

यस क्षेत्रमा पुग्नका लागि पदमार्ग र सडक दुवैको पहुँच भए पनि दुवैको स्तर राम्रो नभएकाले समस्या देखिएको हालै टोड्के पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो ।
गुराँसे जङ्गल र मनोरम हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध मानिएको टोड्केमा पछिल्लो समय भ्रमण र वनभोजका लागि आन्तरिक पर्यटक पुग्नेक्रम बढे पनि पूर्वाधारको अभावले थप पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ ।

विशेष गरी पदमार्ग र सडकको स्तरोन्नति र पर्यटकको बसोबासका लागि सामुदायिक लज निर्माणसँगै होमस्टे सञ्चालन गर्ने योजना अगाडि सारे पनि बजेट अभावले कार्यान्वयन गर्न नसकिएको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताउनुभयो ।

एकै ठाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े गणेश, गुर्जालगायतका हिमालको मनोरम दृष्यसँगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विशेषता हो । रङ्गीचङ्गी गुराँसे जङ्गल, सूर्योदय, पहाडी भूगोलले टोड्के क्षेत्र सम्भावनायुक्त रहेको पहिलोपटक टोड्के पुगेका बेनीका रुद्र गुरुङले बताउनुभयो ।

अहिलेको याममा जिल्लाका विभिन्न ठाउँबाट राताम्मे फुलेको लालीगुराँसको जङ्गलमा रमाउनका लागि र वनभोजका लागि जानेको सङ्ख्या बढेको देउराली युवा क्लब, कुहुँका एकजित रोकाले बताउनुभयो ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टोड्के क्षेत्र विकास कोषले विभिन्न सङ्घसंस्थासँगको समन्वयमा टोड्केमा आवश्यक भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन गतिविधिलाई अगाडि बढाएको छ । भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र पर्यटन कार्यालय पोखराको सहयोगमा भवन, शौचालय, सडकलगायत केही पूर्वाधार निर्माण भएको छ ।

अहिले स्थानीयवासीले टोड्केमा खानेपानी सुविधा र सामुदायिक लज स्थापनाको योजनासँगै बोटानिकल गार्डेन बनाउने अवधारणलाई अगाडि सारेका छन् । जैविक विविधतायुक्त क्षेत्र भएकाले जडीबुटी, कृषि र पर्यटन क्षेत्रलाई एकीकृत रुपमा विकास गर्न सके टोड्के क्षेत्रको विकास हुने स्थानीय युवा गजेन्द्र केसी बताउनुुहुन्छ ।

कोषकै पहलमा गत वर्षको फागुनमा ‘दोस्रो टोड्के’ महोत्सव गरिएको थियो । प्राकृतिक रुपमा सु–सज्जित टोड्के क्षेत्र धार्मिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको र उनका अनुयायीहरुसमेत वर्षौंसम्म टोड्केमा बसेको स्थल अहिले पनि संरक्षित छ ।

टोड्केमा तत्कालीन महाप्रभुले तपस्या गरेको स्थानमा अहिले एउटा मन्दिर र आश्रम पनि छ । टोड्के क्षेत्रलाई जिल्लाका प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, पुलाश्रम, जगन्नाथसँगै मालिकाधुरी र रिखार क्षेत्रलाई समेटेर धार्मिक गन्तव्यका रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको स्थानीयवासी प्रेमप्रसाद रेग्मीको भनाइ छ ।

प्रचुर धार्मिक एवम् पर्यटकीय सम्भावना बोके पनि आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ‘बत्तीमुनिको अँध्यारो’का रुपमा रहेको टोड्के क्षेत्रमा बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा यसले स्थानीयवासीको आयआर्जन र रोजगारी वृद्धि गर्नुको साथै गाउँपालिका र नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter