गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै; राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन
प्रशन्न पोखरेल / गोरखा, वैशाख १२ गते । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ । भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ । गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदालाई बिगार्नुका साथै ४७२ जनाको ज्यान लिएको थियो ।
भूकम्प गएको दुई वर्ष पुगेको दिन आजसम्म आइपुग्दा सरकारी अनुदान लिएर एउटै घर निर्माण भएको अवस्था छैन । जिल्लाका ५८ हजार ५०३ लाभग्राहीमध्ये ५४ हजार ७४८ जना भूकम्पपीडितले अनुदान सम्झौता गरी रु ५० हजारका दरले अनुदान रकम लिएका छन् । अनुदान रकम लिनेमध्ये अधिकांशले घर बनाएका छैनन् । घर बनाएका एक हजार २७३ जनाले मात्रै दोस्रो किस्ताको रकम पाएका छन् । यीमध्ये ९६८ जनाले सरकारी अनुदान पाएका हुन् भने बाँकी भूकम्पपीडितलाई विभिन्न सङ्घसंस्थाले अनुदान रकम दिएका छन् ।
भूकम्पले घर भत्किए पनि आफूहरु अनुदान पाउने सूचीमा नपरेको भन्दै १६ हजारले गुनासो फाराम बुझाएका थिए । गुनासोमाथि कुनै सुनुवाइ भएको छैन । पुनः तथ्याङ्क सङ्कलन गर्ने बताइए पनि गाउँमा प्राविधिक टोली खटाइएको छैन । लालपुर्जा नभएका भूकम्पपीडित अनुदान रकमबाट वञ्चित छन् । सेभ द चिल्डे«न र स्वाँरा सघन गाउँ विकास केन्द्रमार्फत पन्द्रुङ र मसेल गाउँमा निजी आवास निर्माण सम्पन्न भएका २४ घरलाई तेस्रो किस्ताको रकम दिएको बताइए छ । अधिकांश क्षेत्रमा तेस्रो किस्ताको सिफारिस गर्ने बेला भए पनि फाराम नहुँदा किस्ता वितरणमा ढिलाइ भइरहेको छ ।
६७ वटा विद्यालय भवनको पुनःनिर्माण
भूकम्पले ४४९ विद्यालय भवनमा क्षति पु¥याएको थियो । सरकार, दातृ निकाय तथा विभिन्न सङ्घसंस्थाले विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्दै आएका छन् । दुई वर्षमा ६७ वटा विद्यालय भवनमात्रै पुनःनिर्माण सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताउनुभयो । भूकम्प गएको एक महिनापछि दुई हजार ५०० वटा अस्थायी टहरा बनाएर विद्यालय सञ्चालन गरिएको थियो । अझै एक दर्जनभन्दा बढी विद्यालय अस्थायी टहरामा सञ्चालनमा छन् ।
पाँच हजार ८५१ वटा कक्षाकोठा निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले विद्यालय भवन पुनःनिर्माण हुन सकेको छैन । दुई सय १२ वटा विद्यालय शौचालयविहीन र २७२ वटा विद्यालयमा खानेपानीको अवस्था नाजुक छ । जाइकाले ५८, भारतीय दूतावासले २५ र चिनियाँ दूतावासले एउटा विद्यालय पुनःनिर्माण गर्दैछन् । पुनःनिर्माण हुने विद्यालयमा भूकम्प प्रतिरोधी भवनका साथै पुस्तकालय, प्रयोगशालालगायत सेवा र सुविधा रहनेछन् ।
अस्पताल पुनःनिर्माणमा ढिलाइ
भूकम्पले गोरखा अस्पताल, आँपपीपल अस्पतालसहित जिल्लाभरका करिब ७२ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति पु¥याएको थियो । भूकम्पको दुई वर्षसम्म गोरखा र आँपपीपल अस्पताल पुनःनिर्माण हुन सकेको छैन । यस्तै, स्वास्थ्य संस्थामध्ये सङ्घसंस्थाको सहयोगमा १९ वटा स्वास्थ्य चौकी भवनहरु पुनःनिर्माण भइसकेका छन् । असल छिमेकी नेपाल पोखरा, सेभ द चिल्ड्रेन, युनिसेफ, आइएमसीलगायत सङ्घसंस्थाले स्वास्थ्य चौकी भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।
केही सङ्घसंस्थाले स्वास्थ्य चौकी निर्माण गर्ने बताए पनि निर्माण सुरु गरेका छैनन् । आइएमसीले आरुआर्वाङ, स्वाँरालगायत गाउँमा स्वास्थ्य चौकी निर्माण सुरु गरे पनि पूरा नगरी अलपत्र छाडेको छ । समयमै भवन निर्माण नगर्ने सङ्घसंस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सचेत गराएको भए पनि सङ्घसंस्थाले अटेर गर्दै भवन निर्माणलाई गति दिएका छैनन् । जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीका अनुसार भवन निर्माण सक्न सङ्घसंस्थालाई ताकेता गरिएको छ ।
प्रहरी चौकी त्रिपालमै
गोरखाका अधिकांश प्रहरी चौकी अझै त्रिपालबाटै सञ्चालित छन् । प्रहरी चौकी घ्याम्पेसाल, आर्खेतलगायत प्रहरी चौकी त्रिपालमै छन् । भूकम्पले करिब ४० वटा प्रहरी चौकीमा क्षति पु¥याएको थियो । प्रहरी चौकी निर्माणका लागि बजेट आए पनि आफ्नो नाउँमा जग्गा नहुँदा भवन निर्माण गर्न सकिएको छैन । यस्तै चारवटा गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी नहुँदा सुरक्षा व्यवस्थापनमा असहज भएको छ ।
भूकम्पले छियाछिया पारेका बस्तीमा खानेपानीको सुविधा पु¥याउन सकिएको छैन । बारपाक, लाप्राकको गुप्सीपाखा, गोरखा बजारलगायत क्षेत्रमा खानेपानीको चर्को समस्या छ । घरघरै खानेपानीको धारा पु¥याउने योजनासहित केयर नेपालले बारपाकमा खानेपानी आयोजनाको काम गरिरहे पनि अझै पूरा भएको छैन ।
गोरखाका सबै गाउँमा खानेपानीको सुविधा पु¥याउन करिब रु चार अर्ब बजेट लाग्ने देखिन्छ । एक सय पाँचवटा ठूला खानेपानी आयोजना पूरा गर्न सकिए सबै गाउँमा खानेपानी पुग्ने बताइएको छ ।
दक्ष कामदार, निर्माण सामग्री अभाव, मापदण्डबारे अन्योललगायत विभिन्न कारणले निजी घर पुनःनिर्माणमा ढिलाइ भएको छ । पहिलो किस्ता बुझेका लाभग्राहीले धमाधम घर बनाएका छैन । छवटा पिलर राखेर बनाइएका घरको नक्सा स्वीकृत नहुँदा भूकम्पपीडित तनावमा छन् । १२÷१२ को नौवटा पिलर भएका घर निर्माण गर्न इञ्जिनियरले बताउँदै आए पनि छवटा पिलर भएका घर जताततै बनेका छन् ।
इञ्जिनियरले राजीनामा दिने क्रमः बढ्दो छ । सिर्दिवासलगायत उत्तरी भेगका सात गाउँमा इञ्जिनियर खटाउन सकिएको छैन । निजी घरका साथै सार्वजनिक महत्वका भवन तथा ऐतिहासिक गोरखा दरबारलगायतका सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छ । चुनाव र चाडबाडले गर्दा अबका केही महिना पुनःनिर्माणले गति लिने छाँट छैन । साथै विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिममार्फत छ हजार बढी कामदार उत्पादन भए पनि ती कामदार गाउँमा छैनन् । उनीहरु वैदेशिक रोजगारीका लागि गइसकेका छन् ।
क्यान्टिलिभर पुल निर्माण
भूकम्पपछि उत्तरी गोरखाको यारुवगरमा पहरा खोपेर दुई सय मिटर लामो क्यान्टिलिभर पुल र चुम्चेत जोड्ने सर्दिभिरमा पहरा खोपेर अर्को क्यान्टिलिभर पुल निर्माण भएको छ । दुवै पुल निर्माणमा बेलायती दातृ संस्था डिएफआइडीले सहयोग गरेको थियो । डिएफआइडीकै सहयोगमा मनास्लु पदमार्गमा पूर्वाधार निर्माणका लागि करिब रु नौ करोड बजेट आएको छ ।
सङ्घसंस्थाको सहयोगमा विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय भवन पुनःनिर्माण भएका छन् । गोरखा जेसिज गोरखाले भूकम्पमा परी मृत्यु भएका जिल्लावासीको सम्झनामा जिल्ला प्रशासन कार्यालय अगाडि भूकम्प स्मृति स्तम्भ निर्माण गरेको छ ।
बारपाकमा भूकम्प स्मृति स्तम्भ र उद्यान निर्माणका लागि जग्गा खोजी भइसकेको छ भने उद्यान निर्माणका लागि यस आवमा रु एक करोड बजेट आएको छ । बारपाक, भच्चेक, आरुघाटलगायत जिल्लाका व्यापारिक केन्द्र जोड्ने मुख्य सडक कालोपत्रे गर्न सडक स्तरोन्नतिको काम भइरहेको छ ।
एसियाली विकास बैंक र स्विस सरकारको सहयोगमा लुइँटेलदेखि आँपपीपल हुँदै हर्मीसम्म ३०.५ किलोमिटर, घ्याम्पेसालदेखि सौरपानीसम्म नौ किलोटिर सडक निर्माणको काम भइरहेको छ । यी सडक निर्माणमा रु १७ करोड ७५ लाख बजेट आएको छ । खानेपानीका मूल सुधार तथा सडक मर्मतलगायत विभिन्न ५१ वटा योजनाका लागि रु दुई करोड ६३ लाख बजेट आएको जिल्लास्थित प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले बताउनुभयो ।
तीन वर्षभित्रमा जिल्लाका ७९ वटा गुम्बा पुनःनिर्माण गर्न रु दुई करोड ९१ लाख २५ हजार बजेट आएको छ । तेह्र वटा गुम्बाको निर्माण प्रक्रिया अघि बढिसकेको छ । उत्तरी भेगमा ६५ वटा गुम्बा पुनःनिर्माण गर्नुपर्ने तर भौगोलिक हिसाबले दुर्गम हुँदा सामग्री ढुवानी गर्दा महँगो पर्ने देखिएको छ ।
जिल्लास्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत राष्ट्रिय अनुसन्धान, जिल्ला कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला हुलाक कार्यालयको निर्माण प्रक्रिया अघि बढेको छ । खानेपानी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, महिला तथा बालबालिका कार्यालयको मर्मत गर्न र जिल्ला प्रशासन, सिँचाइ डिभिजनको कर्मचारी आवास भवन निर्माण गर्न बजेट आएको भवन डिभिजनकी इञ्जिनियर सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।
एकीकृत बस्ती बन्दै
आफ्नो नाउँमा लालपुर्जा नभएका, गरिब, विपन्न, सुकुम्बासी भूकम्पपीडितलाई सामूहिक रुपमा आवासको सुविधा दिन पालुङ्टारमा संयुक्त आवास भवन निर्माणको तयारी गरिएको छ । भूकम्पको केन्द्र बारपाकमा एकीकृत बस्ती विकास गर्ने बताइए पनि गाउँमा बस्ती विकास गर्ने कार्यविधि नहुँदा अन्योल भएको छ । लाप्राकमा गैरआवासीय नेपाली सङ्घले ५७३ वटा घर निर्माणको काम सुरु गरेको छ । काठको अभाव हुँदा घर निर्माणमा समस्या हुँदै आएको छ ।
जिल्लाका साविक ४२ गाविसमा विपद् जोखिम न्यूनीकरणका लागि गुरुयोजना बनेका छन् । भूकम्पलगत्तै ९९ वटा सङ्घसंस्थाले जिल्लामा विभिन्न काम गरे पनि अहिले ४४ वटामात्रै सङ्घसंस्था क्रियाशील रहेको केयर नेपालका प्रमुख माधव ढकालले बताउनुभयो । निर्माण सामग्री ढुवानीमा समस्या, बजारमा सामग्रीको अभाव र अपुग जनशक्तिका कारण सोचेअनुसार निजी आवासलगायत संरचना निर्माण हुन सकेका छैनन् ।
प्रजिअ जितेन्द्र बस्नेतका अनुसार निजी आवास पुनःनिर्माणसँगै सार्वजनिक महत्वका भवन पुनःनिर्माणलाई तीव्रता दिइएको छ । सङ्घसंस्थालाई वितरणमुखी कार्यक्रम छाडेर पुनःनिर्माणमा सहयोग पुग्नेखालका कार्यक्रम लागू गर्न निर्देशन दिइएको छ । चुनाव भएपछि पुनःनिर्माणले गति लिनेमा ग्रामीण भेगका भूकम्प प्रभावित जनता विश्वास गर्छन् ।
राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ ।
गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको हो ।
उहाँले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभएको थियो । उहाँले पुनःनिर्माणका लागि काठ अभाव भए नभएबारेमा समेत जिज्ञासा राख्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै सम्पदाको भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराउनुभएको थियो । रासस