खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु

Nepali Womenकविता उपाध्याय / रोल्पा, वैशाख २८ गते । रोल्पामा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकापमा जाँचका लागि स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने, समस्या देखाउँदा श्रीमान्ले दोसं्रो विवाह गर्ने डरले चिन्तित बन्ने तथा ती महिलामा मानसिक असर पर्ने गरेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल रोल्पाका डा नजिर खानले भन्नुभयो ¬– “जटिल समस्या नआउँदासम्म आङ खसेका महिलाले आफ्नो ब्यथा लुकाएर राख्छन् जसका कारण दिनप्रतिदिन उनीहरुको ब्यथा बल्झिँदै जान्छ । जब समस्या जटिल बन्छ तबमात्र उनीहरु स्वास्थ्य संस्थामा आइपुग्छन् ।”

उहाँका अनुसार प्रत्येक महिला गर्भवती हुनुभन्दा अगाडि ६० ग्रामको हुने पाठेघर गर्भवती भइसकेपछि एक किलोको हुन्छ । अझ त्यसभित्र बच्चा बस्दा पाठेघरमा धेरै भार पर्न जान्छ जसका कारण यस अवस्थाका महिलाले ग¥हुङ्गो भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बस्दा वा टुक्रुक्क बसेर काम गर्दा पाठेघर खस्न सक्ने सम्भावना धेरै रहन्छ ।

यसका साथै बच्चा जन्मने बेलामा धेरै बल गर्दा पनि पाठेघर खस्न सक्छ, नखसे पनि तलतल झर्दै गएको हुन्छ जसका कारण सुत्केरी अवस्थामा खानपिन नमिल्दा वा विशेष ख्याल नपुग्दा बच्चा जन्मेको दुई÷तीन महिनासम्म पाठेघर वा आङ खस्ने सम्भावना बढी हुन्छ । कब्जियतको समस्या हुने महिलाको पनि पाठेघर खस्न सक्छ । यसका साथै कम उमरेमा विवाह गर्दा वा कम उमेरमा बच्चा जन्माउँदा वा बच्चा जन्माउँदा जन्मान्तर नराख्दा पनि पाठेघर खस्न सक्छ । तर समयमै उपचार पाएमा यो समस्या समाधान हुनसक्ने भए पनि सामान्य अवस्थाका महिला जाँचका लागि अस्पताल आउँदैनन् ।

डा खानका अनुसार आङ खस्ने समस्याका बारेमा पछिल्लो पुस्ताका किशोरी भने केही सचेत बन्न थालेका छन् । यसरी जाँचका लागि आउने अधिकांश किशोरी पाठेघरको मुखको समस्या लिएर आउने गरेका छन् । उनीहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनीबाट गन्हाउने पानी बग्ने, पाठेघरमा केही झुन्डिएको जस्तो अनुभूति हुने समस्या देखिन्छ ।

अस्पतालले सामान्य समस्या भएका महिलाको पाठेघरमा रिङ राख्ने, पाठेघरको ‘सपोर्ट’लाई बलियो बनाउन कसरत गर्न सिकाउनेलगायतका सेवा दिँदै आएको छ । पाठेघरको जटिल समस्या भएका महिलालाई जिल्लामै समय समयमा शिविर राखेर आवश्यक जाँच तथा शल्यक्रिया सेवा दिने गरेको डा खानले जानकारी दिनुभयो ।

यस आवको साउनदेखि अहिलेसम्म जिल्ला अस्पताल रोल्पामा ९२ जना र स्क्रिनिङ क्याम्पमा १५८ जना गरी २५० जना महिला जाँचका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन आशा थापाले जानकारी दिनुभयो ।

अशिक्षा, गरिबी, चेतना अभाव र भौगोलिक विकटताका कारण रोल्पाली महिला आङ खस्ने समस्याबाट अछुतो बन्न सकिरहेका छैनन् । महिनावारी नहुँदै छोरीको कन्यादान गरे स्वर्गका बाटा खुल्छन् भन्ने सङ्कीर्ण सोचका कारण परिवारको मञ्जुरीमा पूर्वी रोल्पाकी ११ वर्षीया तिलसरी ९नाम परिवर्तन० को आजभन्दा ३० वर्ष पहिले मागी विवाह भयो । उहाँले त्यसबेला विवाहको महत्वका बारेमा बुझ्नुभएको थिएन । कक्षा ४ मा पढ्दै गरेका तिलसरी विवाह बन्धनमा बाँधिएपछि विद्यालय जाने अवसरबाट वञ्चित हुनुभयो ।

घरमा तिलसरीका श्रीमान्, देवर र ससुरा हुनुहुन्थ्यो । उहाँकी सासूको भने करिब सात वर्ष पहिले नै निधन भइसकेको थियो जसका कारण तिलसरीलाई घुम्टो ओढेकै दिनदेखि पारिवारिक जिम्मेवारी बहन गर्नुप¥यो । झोलामा किताब र कापी बोकेर विद्यालय जाँदै गरेका तिलसरीलाई विवाहपछि डोको नाम्लो बोकेर घाँस दाउरामा जानुपर्ने बाध्यता सुरु भयो । यसरी पारिवारिक दबाबका कारण परिवारको जिम्मेवारीमा परेकी तिलसरी विवाह भएको करिब चार वर्षपछि आमा बन्नुभयो । अब उहाँमा पहिलेको भन्दा अझ जिम्मेवारी बढ्यो । सुत्केरी अवस्थाका तिलसरीलाई घरभित्र मात्र होइन घर बाहिरको काममा समेत खट्नु पथ्र्यो । सानो दुधे बालकसहित तिलसरीलाई घाँस, दाउरा, मलसोत्तर र उकाली ओह्राली नगरी कामै नचल्ने भयो जसका कारण उहाँ सुत्केरी भएको तीन दिनपछि भातभान्छा लगायतका काम गर्न थाल्नुभयो । सुत्केरी भएको करिब १५ दिनपछि घरभित्र र बाहिरका सबै काममा खट्नुपर्ने बाध्यता थियो उहाँलाई ।

उहाँका अनुसार एकदिन आटो पिसेर जातो यथास्थानमा राख्दै गर्दा तिलसरीको आङ खस्यो । तर उहाँले आङ खसेको कुरा कसैलाई भन्नु भएन । आङ खसेको तीन दिनसम्म तिलसरी उठ्नै नसक्ने गरी बिरामी भएपछि करिब एक साताका लागि उहाँ माइती जानुभयो । माइतीमा पनि उहाँले कसैलाई यस विषयमा जानकारी दिनुभएन । बच्चा ठूलो हुँदै गयो । समयको क्रम बदलिँदै जाने क्रममा उहाँ करिब छ वर्षमा तीन सन्तानकी आमा बन्नुभयो तर उहाँको समस्याका बारेमा कसैलाई कुनै किसिमको जानकारी भएन । अरु त के यस विषयमा उहाँ श्रीमान्सँग पनि खुल्न सक्नु भएन । यस्तो समस्या थाहा पाए श्रीमान्ले दोस्रो विवाह गर्ने डरले कहिले पनि कसैसँग नखुलेको उहाँको भनाइ छ ।

उहाँलाई हरेक पल सानोसानो काम गर्दा समस्या हुन्थ्यो । तर पनि अज्ञानताका कारण उहाँले आफ्नो पीडा कसैसँग बाँड्नु भएन । केवल सारा कष्ट सहेर एक असल गृहिणीको भूमिकामा तल्लीन भइरहनुभयो । पछि झन् झन् ब्यथा बढ्दै गएर उहाँको समस्या थपिँदै गयो । लगातार बिरामी परेर विस्तरामा परेपछि तिलसरीले एकदिन बाध्य भएर श्रीमान्लाई आफ्नो समस्याका बारेमा बताउनुभयो अनि मात्र उहाँका श्रीमान्लाई यस विषयमा थाहा भयो । त्यसको केही समयपछि उहाँको पाठेघरको शल्यक्रिया भयो । तर दुर्भाग्य उहाँको पाठेघरमा क्यान्सर भइसकेको रहेछ । हाल उहाँ जीवन र मृत्युको दोसाँधमा बाँचिरहनुभएको छ ।

यस्तै, सधैँ चुरोट बिडीलाई आफ्नो अम्मलका रुपमा लिँदै आएका पश्चिम रोल्पाका रजनी कामी ९नाम परिवर्तन० को ७३ वर्षको उमेरमा खोक्ने क्रममा आङ खसेको थियो । उहाँले पनि कसैलाई आङ खसेको कुरा भन्न सक्नुभएन । तर उहाँकी बुहारीले थाहा पाएर अस्पताल लगेपछि उहाँको समस्या केही समाधान भएको थियो तर एक वर्ष पहिले उहाँको दमका कारण मृत्यु भयो ।

यस्तै, लिबाङ रोल्पामा बस्दै आएका प्यूठानका ३३ वर्षीया आशमती (नाम परिवर्तन) को पनि पहिलो सन्तान जन्मेको तीन वर्षपछि आङ खस्यो । उहाँले पनि श्रीमान्बाहेक कसैलाई आङ खसेको कुरा भन्नुभएन । तर समयमै उपचार गर्दा उहाँको भने केही समस्या समाधान भएको छ । तर पनि पहिले जति सहज नहुने उहाँले बताउनुभयो ।

यसरी आफ्नो समस्याका बारेमा खुल्न नसक्दा रोल्पाली महिला आङ खस्ने समस्याबाट प्रताडित बनिरहेका छन् । त्यसैले आङ खस्ने समस्याबाट बच्न र आङ खसिसकेपछि पनि नलजाएर स्वास्थ्य संस्थासम्म पुग्ने वातावरणको विकास हुनसके यस किसिमको समस्याबाट उनीहरुले छुटकारा पाउने थिए । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi