निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल; ‘निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह’

Electionकाठमाडौँ, वैशाख ३० गते । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।

निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “तीनवटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान अधिकृत र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसक्नु भएको छ ।”

राजनीतिक प्रणाली परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रुपमा आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लागि भोेलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म पहिलो पटक स्थानीय तहको निर्वाचन हँुदैछ ।

उक्त निर्वाचनबाट १८६ गाउँपालिकाका अध्यक्ष, १८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५९८ वडा अध्यक्ष, दुई हजार ५९८ वडा सदस्य, दुई हजार ५९८ महिला वडा सदस्य र दुई हजार ५९८ दलित महिला वडा सदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १५६ सहित १३ हजार ५५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाता महानुभावसँग हार्दिक अपिल गर्दछु ।”

मुलुकमा १५ वर्षदेखि कर्मचारीले सञ्चालन गर्दै आएको स्थानीय तहको नेतृत्व यो निर्वाचनबाट जनप्रतिनिधिमा हस्तान्तरण हुने भएकाले पनि मतदाताहरू यस पटकको निर्वाचनप्रति धेरै नै उत्सुक देखिएका छन् ।

“जनप्रतिनिधिहरूले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा मतदानमा सहभागी हुँदैछौँ, मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो स्थानीय तहको निर्वाचनले जनताको सुख–दुःख हेर्ने घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरू निर्वाचित गर्नेछ”, प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।

आइतबारको निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, जसमा नौ हजार ८३ महिला वडा सदस्य र सात हजार ५२६ दलित महिला वडा सदस्यको उम्मेदवारी छ ।

उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि आयोगले मतदातालाई आग्रह गरेको छ ।

जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न पनि मतदातालाई सचेत गराउँदै आयोगले यो निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिन पनि आयोगले सुझाव दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान गर्दै छन् ।

निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्ने ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन र सूक्ष्म अनुगमनको समेत व्यवस्था मिलाएको छ ।

आचारसंहिता पालना गर्नुस्

आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गर्दै आयोगले मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई सबैले मनन पनि ध्यानाकर्षण गराएको छ ।

निर्वाचन कार्यक्षेत्रमा खटिनुभएका राष्ट्रसेवकको मेहनतले आयोगको मर्यादालाई उच्च बनाएको जनाउँदै आयोगले लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा सबैबाट सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

आयोगले भनेको छ – ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग दृढ छ । तपाईंको मत अमूल्य छ । खर्बपति र गरिबको मत समान छ । तसर्थ कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्नुहोस् ।

‘निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह’
काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज अपिल जारी गर्दै नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्नसक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको बताउनुभएको छ ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा १३ हजार पाँच सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, “लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।”

धेरैले लगभग २० वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन लागेको भन्ने गरे पनि यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुन लागेको प्रधानमन्त्रीको भनाइ छ । अपिलमा भनिएको छ, “ एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कोतिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्य सत्ताको अन्त्य गरी सङ्घात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुङ्गाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।”

चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई महिला चुनिने व्यवस्था तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये एक महिला उठाउनैपर्ने व्यवस्थाबाट गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनी अनिवार्य रुपमा चुनिएर आउने अपिलमा उल्लेख छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नातर्फबाट सबै उपाय अपनाएको तथा सरकारले पनि आफ्नातर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभएको छ ।

सबै मतदाता दिदीबहिनी तथा दाजुभाइलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र सङ्कोचबिना निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ । निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनीतिक दल, सञ्चारकर्मीलगायत सम्पूर्णमा आआफ्नो क्षेत्रबाट सहयोगका लागि प्रधानमन्त्रीले अपिल गर्नुभएको छ ।

अपिलमा भनिएको छ, “भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।” संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएकाले ती प्रदेशका जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्री प्रचण्डले विशेष अपिल गर्नुभएको छ ।

उहाँले सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको दोह¥याउँदै नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रतिे आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदा झँै सहयोग र सद्भावको अपेक्षा गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter