महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान; निर्वाचन उत्साह जनक र शान्तिपूर्ण – जियोक

Electionकाठमाडौँ, जेठ १ गते । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौँ महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।

पोखरा महानगरपालिकामा मतदाता सङ्ख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसङ्ख्या चार लाख १४ हजार १४१ रहेको छ ।

तराई–मधेसको एक मात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता सङ्ख्याको ७५.०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसङ्ख्या दुई लाख ८० हजार पाँच सय दुई छ ।

मुलुकको पहिलो कामपामा मतदाता सङ्ख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो । चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । उनन्तीस वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार नौ सय २२ जनसङ्ख्या छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा आजदेखि मतगणना सुरु भएको छ ।

निर्वाचन उत्साह जनक र शान्तिपूर्ण – जियोक
आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको निष्र्कष निकालेको छ ।

सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त संस्थाले प्रेस विज्ञप्तिमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

चौतीस जिल्लाका २८३ स्थानीय तहको निर्वाचनमा छ हजार ६४२ मतदान केन्द्रको व्यवस्था गरिएको तर कतिपय जिल्लाका मतदान केन्द्र टाढा भएका कारण मतदातालाई घन्टाँैसम्म हिँड्नुपरेको थियो ।

अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाता मतदान गर्न उपस्थित भई मतदान गरेको कारण अपराह्न मतदान गर्नेको चाप कम भएको थियो । चुनाव प्रसारप्रसारका क्रममा चारदिन अघि दोलखामा कुलबहादुर तामाङ र मतदानको दिन मेजुङ गाउँपालिकाको शक्तिश्वर मावि मतदान केन्द्रमा नकुल भुजेलको मृत्युको घटनालाई उक्त संस्थाले दुःख संयोकका रुपमा रहेको भनेको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले समन्वयका साथ जिम्मेवारी निर्वाह गरेको पनि उक्त संस्थाले जनाएको छ ।

निर्वाचन आचारसंहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचारसंहिता उलङ्घनका सङ्केत देखिएको जनाएको छ । उम्मेदवारको सङ्ख्याको तुलनामा मतपत्र अत्यधिक ठूलो भएको, सम्बन्धित स्थानीय तहका लागि हुन गएको निर्वाचनबाट पदपूर्ति हुने पदको लागि कायम रहेको उम्मेदवारबाहेकको अप्रासङ्गिक निर्वाचन चिह्नहरु समेत समावेश गरिएको भद्दा रहेको सो संस्थाका अध्यक्ष हिमालय शम्शेर राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जियोकले राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका २९० गरी पर्यवेक्षक खटाएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter