भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरिएकामा दुःख छः प्रम

Prachandaकाठमाडौँ, जेठ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताउनुभयो । संविधान गतिशील दस्तावेज भएकाले संशोधन हुँदै जाने भन्ने प्रतिबद्धता विगतमा व्यक्त गरिएको स्मरण गर्दै उहाँले थारु, मधेसी र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास जारी रहेको र त्यो निकट भविष्यमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधन विधेयकमाथि खुला दिलले छलफल गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उहाँले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने जस्तो दृष्टिकोणले काम नगर्ने भएकाले प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी उहाँले दिनुभयो ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएर प्रधानमन्त्रीबाट राजीनामा दिएको होइन भन्दै प्रधानमन्त्री दाहालले आफूले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न चाहेको उल्लेख गर्नुभयो ।

संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगले गर्ने नियमित कामको विषय संसद्मा ल्याएर घोलमेल गरिएको छ भन्दै प्रधानमन्त्री दाहालले भरतपुर प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु लोकतन्त्रको प्रमुख पक्ष कसरी हुन गयो प्रश्न गर्नुभयो । भरतपुर प्रकरणमा मतपत्र च्यातिएको विषय सुन्नेबित्तिकै आफूले सो कार्य सही होइन भनी निर्वाचन आयोगलाई बोलाएर कानुनअनुसार गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भरतपुर प्रकरणमा आफ्नो पार्टी र आफूलाई अनपेक्षित रुपमा आरोप लगाइएको, गलत प्रचार गरिएको र प्रमुख प्रतिपक्षले राजनीतिक लाभ उठाउन नाजायज विषय उचालेको आरोप लगाउँदै प्रधानमन्त्रीले एउटा घटनालाई देखाएर गलत प्रचार गरिनु मुलुक र जनताका लागि जायज र फाइदाजनक विषय नभएको स्पष्ट पार्नुभयो । भरतपुरमा सबैभन्दा बढी ध्यान गएकाले निष्पक्ष र भयरहित रुपमा चुनाव सम्पन्न हुने र अन्य क्षेत्रका लागि पनि सकारात्मक उदाहरण हुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “इतिहासदेखि आजसम्म मैले व्यक्त गरेको लोकतन्त्रप्रतिको निष्ठाको कति प्रमाण चाहियो ? बाह्रबुँदेदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले गरेको त्याग र बलिदानको कति प्रमाण चाहियो ? प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि मेरो प्रश्न छ ।”
प्रतिपक्षलाई विश्वासमा नलिइएको भन्ने एमालेको भनाइ जायज नभएको स्पष्ट पार्दै उहाँले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा आफूले निरन्तर छलफल र संवाद गरेको स्मरण गराउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दलमा सबैभन्दा बढी दम्भ देखिएको छ । त्यो दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन ।”

नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राख्नुभयो ।

राजनीतिक दललाई मिलाएर देशमा आर्थिक एवम् औद्योगिक वातावरण नबनाएको भए र विद्युत्भार कटौती अन्त्य नगरेको भए आर्थिक वृद्धि ७.२ प्रतिशतको हाराहारीमा विगतको बजेटले मात्रै नहुने स्पष्ट पार्नुभयो । राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच अझै सहमतिको आवश्यकता छ भन्दै उहाँले कोही कसैको मानमर्दन गरेर राष्ट्रिय आवश्यकता भुल्न नहुने र राष्ट्रिय अपेक्षा विपरीत जान नहुने धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter