पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

Pokharaसिलगुडी (भारत), जेठ २८ गते । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित एक समारोहमा उक्त जोड दिइएको हो ।

कार्यक्रममा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसनका अध्यक्ष सम्राट सन्यालले पर्यटनको विकासका लागि कनेक्टिभिटी आवश्यक भएको बताउँदै पोखराबाट भारतका सीमा नजिकै रहेका विमानस्थलमा सिधा हवाई सम्पर्क हुनुपर्ने बताउनुभयो ।

पोखरा आफैँमा सुन्दर नगरी भएको बताउँदै उहाँले यसको समग्र विकासका लागि पर्यटन सम्बद्ध संस्था र यहाँका व्यवसायी अग्रसर बन्नुपर्ने उल्लेख गर्नुभयो ।

उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थाहरू पोखरासँग पर्यटनमा साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरिएको थियो ।

पोखराको पर्यटकीय विकासका लागि उक्त सम्झौता एउटा महत्वपूर्ण आधार बनेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

उहाँले यससँगै व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको समग्र पर्यटकीय विकासका लागि प्रवद्र्धनात्मक भ्रमण बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणका लागि आउने गरेको पाइन्छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटन व्यवसायीले पोखराको पर्यटनका लागि हवाई सम्पर्कका साथै अत्यावश्कीय पूर्वाधार विकासका लागि दिएको सुझावलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटनका पर्याप्त सम्भावना बोकेका स्थलमा सडक यातयातका साथै हवाई यातायात सेवा सहज गर्नु अपरिहार्य भएको बताउँदै उहाँले यसतर्फ राज्यको प्राथमिकता आवश्यक हुने उल्लेख गर्नुभयो ।

प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा भारतका डुवर्स, गान्तोकलगायतका स्थानका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिसँग पनि छलफल एवम् अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter