बलदेवको दुःख (व्यङ्ग्य)

Baldev ko dukhaयोगीशकृष्ण : आज बलदेवको फोन दिउँसो आयो । आवाज मधुरो थियो । पहिले जस्तो फूर्ति थिएन ।

सोधेँ “चुनावमा टिकट नपाउने भयौ कि कसो ? ”

“टिकट उसले पाउँदैछ जसले १० कठ्ठा खेतमा दाउमा लगाउने भयो । म दुई कठ्ठाभन्दा बढी दाउमा लगाउने पक्षमा थिइँन । ”

उसलाई के गरी सान्तवना दिउँ भनेर सोचिरहेको थिएँ , उसले भन्यो “केही छैन , आर्को चानस पनि त आउँछ । नेपाल न हो , एकआध वर्षमा फेरि चुनाव हुन पनि सक्छ । संविधानसभाको चुनाव त दुई पटक भयो , यो त स्थानीय न हो । जति पटक गरे पनि हुन्छ ।”

उसको मसिनो स्वर सुनेर मैले भने “दुःख नमान । उमेर छ , फेरि पनि समय आउँछ । ”

“हे दाजु , टिकट नपाएकोले दुःख भएको छैन । शरीरमा अलि अलि चोट लागेको छ । ”

“के भयो ?”

“ के भएन ? त्यो सोध्नूस् न । यो बलदेव पहलमान् नभएको भए आज शायदै जिन्दा हुन्थ्यो । मरेको भए त मलाई सरकारले निर्वाचन शहीद घोषणा गर्नुपर्ने हुन्थ्यो । हा हा हा । सरकारको दश लाख जोगियो । एक प्रकारले मान्नूस कि बलदेवले सरकारलाई १० लाख दियो । यति त मन्त्री प्रधानमन्त्रीले पनि अनिवार्यबाहेक कर तिरेको छैन होला । ”

मलाई उसको चिन्ता लाग्यो “हैन , भयो के ? त्यो बताउन पहिले ।”

“खास केही छैन । देहमा दुई चार घाउ खरोँच लागेको छ ।”

मलाई छटपटि भइरहेको थियो –बलदेव कुनै जोखिममा त परेन ।

“खास केही छैन , दाजु ” उसले भन्यो “धेरै वर्षदेखि लोकल इलेक्सन भएको थिएन । सोँचे , चुनाव हेर्न जान्छु । एक नम्बर प्रदेश गयो भने ससुरालीयात्रा पनि हुन्छ , चुनावको तामझाम पनि हेरिहाल्छु । ”

“ए ”

“हेर्नुस् न” उसले चुनावी लीला सुनाउन थाल्यो “ मेुरो जेठान जो छ ऊ छ –पुच्छर पार्टीमा । दिल्लीदेखि लैनचउरसम्म , लाजिम्पाटदेखि कोटेश्वरसम्म यो पार्टी पुच्छर हल्लाउँदै हिँडछ । उता चचिया ससुरको छोराको अर्कै फूर्ति छ । ”

“कस्तो फुर्ति ?”

“ऊ छ स्याल पार्टीमा । कहाँ कसलाई के भनेर जुधाउने हो सँधै त्यही फिराकमा रहन्छ । एक पटक भन्छ –यी अवसरवादी हो । भोलि पल्ट भन्छ कि तिमीसँग लभ परेको छ । पर्सीपल्ट भन्छ कि तिमी मेरो माइती हो । स्याल जस्तै धूर्त छ ।”

“मेरो त थाहै छ दाजु , तिमीलाई । म त सदाको बगुला पार्टीको समर्थक । बगुलालाई भगत पनि भन्छ । लाग्छ कि जनताको हितमा ध्यान गरिरहेछ । ध्यान त खास उसको सत्ताको माछाको लागि रहन्छ । कहिले प्रतिगमन सच्चिएको चारा फ्याँक्छ त कहिले राष्ट्रिय आवश्यकताको । ”

मैले केही भनिँन । हाँसे मात्र । ऊ भन्दै गयो “चारखुट्टेको तडकभडक त अर्कै छ । जहाँ देख्छ सत्ताको साँढे त्यही गएर हत्त न पत्त चर्न थालिहाल्छ । उता काग पार्टी त खालि मौकाको ताकमा रहन्छ – कसैले नदेख्ने गरी खाइहालुँ । यस्तो माहौलमा म चुनाव प्रचारमा पहिले जेठानसँग पछि लागेँ । जसरी उसको नेता लाजिम्पाट त कोटेश्वर, लैनचउर त द्वारिका होटल चाहर्छ , त्यसैगरी यो नेता त घरि ऊ नेताको घर घर दौडिन्थ्यो । उसको यो कर्तुतको बारेमा बुझ्दा थाहा भो कि –स्याल पार्टीसँग उसको तालमेल छ । रे बाबा रे । स्याल पार्टीले पुच्छरलाई दुश्मन भन्थ्यो , यहाँ तालमेल भएको छ । ”

“चुनावमा पार्टीबीच तालमेल त भइहाल्छ नि । ”मैले उसलाई सम्झाउने प्रयास गरेँ ।

“त्यो त म पनि बुझ्दछु कि तालमेल हुन्छ । यहाँ त विचित्रको कुरा भयो अनि मैले मार खाएँ कि ।”

“जेठानको पार्टीको प्रचार गर्ने भएपछिे स्याल पार्टी र पुच्छर पार्टीको दुवैको झण्डा बोकेँर हिँडे । आर्को टोलमा पुगेपछि एक हुल केटाहरूले मलाई समातेर स्याल पार्टीको झण्डा फ्याँक भनेर मलाई धम्काए । म पनि त पहलमान् हुँ कि । किन डराउँनेवाला थिएँ –यस्तंै तालमेल भएको छ । यस्तो तालमेलको हामी विरोधी हौँ भन्दै मलाई स्याल पार्टी मुर्दावाद भन्ने नारा लगाउँदै फर्किन आदेश दिए । आदेशसँगसँगै दुई चार मुक्का लगाए । मन त थियो , दुई चार जनालाई धोवीपछाड लगाइदिऊँ । पछि सोचेँ ससुराल आएको मानिस के लफडा मोल लिनु । ”

“अनि के भो त ? ”

तिनीहरूले मलाई भने कि स्याल पार्टीको झण्डा फेक्नु , पुच्छर पार्टी जिन्दावाद स्याल पार्टी मुर्दावाद भन्दै हिँडनू। मैले त्यसै गरेँ । आर्को टोलमा पुगेपछि अर्कै आपद आइलाग्यो ।”

“के भयो ?”

यहाँ स्याल पार्टीका केटाहरूले मलाई घेर्दै भने – त धोकेबाज होस् । गद्दार होस् । हाम्रो पार्टीलाई मुर्दावाद भन्ने । उनीहरूले यहाँ पनि दुई चार मुक्का लगाइदियो । तिनीहरुले मेरो झण्डा भाँचिदिए । मन त थियो दुई चार जनालाइ चित पारिदिँऊ । सोचेँ ससुराल आएको मानिस के लफडामा पर्नु ? उनीहरूले भने कि स्याल पार्टीबाहेक सबलाई मुर्दावाद भन्दै जानू । मरता क्या न कर्ता । म नारा लगाउँदै आर्को वडातिर लागे । यहाँको हालत त झन खराब थियो । ”

“कस्तो खराब ।”

यो वडामा स्थानीय तालमेल थियो । काग र बगुला पार्टी एक तरफ । सब पार्टी एक तरफ । मेरो नारा सुन्नासाथ सब पार्टीमा मानिसले मलाई घेरिहाले । सबले मिलेर मलाई । अब के भन्नु दाजु आफै बुझिहाल । मन त थियो कि दुई चार जनालाई दे पटकन दे पटकन गरिदिऊँ । ससुराल आएको मानिस किन झगडा झन्झट गरूँ । आह । मुखमा पनि चोट लागेको छ । धेरै बेर बोल्न सक्दिन ।”

बलदेवले फोन राख्यो । अचानक मैले आफूलाई बलदेव भएको महसुस गरेँ । यो बलदेवै बलदेवको देश त हो ।

(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter