त्रिशूली थ्री ‘ए’ जलविद्युत्: ऋण सम्झौता नवीकरण नहुँदा योजना पूरा हुन पाएन

hydropowerलक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, असार २१ गते । चिनियाँ एक्जिम बैङ्कले विगत करिब १३ महिनादेखि ऋण सम्झौता नवीकरण नगर्दा त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । ६० मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताका रूपमा रहेको चिनियाँ उक्त बैङ्क सँगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट समाप्त भएको थियोे । नेपाली पक्षको लामो र लगातार अनुरोधपछि पनि हालसम्म ऋण सम्झौता नवीकरण हुन नसक्दा आयोजनाको काम प्रभावित हुनपुगेको छ ।

गत दुई वर्ष अघिको भूकम्पको प्रभाव र ऋणदाताले निर्धारित समयमा ऋण सम्झौता नवीकरण नगरिदिँदा आयोजना करिब तीन वर्षपछि धकेलिएको छ । सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ रुपियाँ) नेपाललाई चिनियाँ एक्जिम बैङ्कले दिने सम्झौता भएको छ ।

एकातिर गत दुई वर्षको भूकम्पले आयोजनाको अधिकांश भागमा क्षति पु¥याएपछि आयोजनाको सिभिल कार्य हालसम्म पनि प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन भने अर्काेतिर ऋणदाताले ऋण प्रवाह गर्ने सम्झौतासमेत नवीकरण नगर्दा निर्माण गर्ने कम्पनीले काम बन्द गर्नुपर्ने अवस्था आएको छ ।

अर्थ मन्त्रालय वैदेशिक समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्यालका अनुसार अर्थ मन्त्रालयले चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता नवीकरणका लागि विभिन्न पटक छलफल तथा पत्राचार गरिसकेको छ तर हालसम्म औपचारिक रूपमा ऋण नवीकरण भएको जानकारी आएको छैन ।

उहाँले भन्नुभयो– हामीसँगका बैठक, छलफलमा उहाँहरू (चिनियाँ एक्जिम बैङ्क र वाणिज्य मन्त्रालयका पदाधिकारी) सकारात्मक हुनुहुन्छ । हामीले चिनियाँ वाणिज्य मन्त्रालयसँग प्रत्यक्ष सम्पर्क गर्दा ऋण सम्झौता नवीकरण गर्ने अन्तिम चरणमा पुगेको सम्म जानकारी प्राप्त भएको छ तर पनि लामो समयसम्म ऋण सम्झौता नवीकरण नहुँदा आयोजनाको काममा केही प्रभाव त परेको छ । त्यो पनि हामीले उहाँहरूसँग भनिसकेका छौँ ।

आयोजना प्रमुख फणीन्द्रराज जोशीका अनुसार ऋण सम्झौता नवीकरण नभएकाले आयोजनाको प्रसारण लाइन निर्माण चिनियाँ कम्पनी सीडब्लूईले कामको गति घटाएको छ । सो कम्पनीलाई तिनुपर्ने रकम भुक्तानी नभएपछि निर्माण कम्पनीले काम गर्न छाडेको छ । सो कम्पनीले आयोजनाको प्रसारण लाइन निर्माण गर्ने काम गरिरहेको छ । नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटरमा १४२ वटा टावर खडा गरी प्रसारण लाइन निर्माण गर्नुपर्ने काम ऋण सम्झौता नवीकरण नहुँदा प्रभावित भएको हो । १४२ वटा टावरमध्ये ९० वटा टावरको फाउन्डेसन निर्माण भइसकेको भए पनि पछिल्लो केही महिनामा ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि काम रोकेको छ ।

प्रसारण लाइन निर्माणका लागि २६ वटा सामुदायिक वनमध्ये २५ वटा वनभित्रका रूख काट्ने काम पनि सम्पन्न भइसकेको आयोजना प्रमुख जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– हामीले २५ वटा सामुदायिक वनभित्र प्रभावित हुने स्थानका रूख काट्न सफल भएका छौँ तर काठमाडौँको मातातीर्थ सामुदायिक वनमा भने अलि जटिलता देखिएको छ ।

भूकम्पका कारण क्षतविक्षत अवस्थामा रहेको आयोजनाको बाटोघाटो, सुरुङ, पावर हाउस लगायतका संरचना सरसफाई गर्ने काम बल्ल ठेकेदार कम्पनीले सकेको छ । आयोजनाको सिभिलतर्फको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको भए पनि भूकम्पले सुरुङ, पावर हाउस, ड्याम साइटमा निर्माण भएका सबै संरचना भत्काइदिएपछि आयोजनाको निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने दोधार भएको थियो ।

आयोजना प्रमुख जोशीले भन्नुभयो– लामो समयसम्म हामी पनि द्विविधामा बस्यौँ । भित्रको संरचना के कति क्षति भएको छ भन्ने यकिन थिएन । पावर हाउसमा पानी भरिएको थियो, पावर हाउस एवम् ड्याम साइट जाने बाटो पहिरोले पुरिएको थियो तर लामो प्रयासपछि पावर हाउसभित्र जमेको पानी निकाल्ने र पहुँच मार्ग निर्माण गर्ने काम सम्पन्न भएको छ ।

सिभिल कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पाेरेसन (सीजीजीसी) ले भूकम्पले क्षति भएको संरचनाको अध्ययन अनुसन्धान गर्दै कामलाई गत दुई महिनादेखि पुनः सुचारु गरेको छ । बिग्रेको बाटोघाटो तथा अन्य संरचना निर्माण गर्न नेपाली सेनाले पनि सहयोग गरिरहेको छ ।

आयोजना प्रमुख जोशीका अनुसार पावर हाउसभित्र छिर्न नसक्ने अवस्थाबाट हाल त्यहाँ भित्र भरिएको पानी निकास गरिएको छ । सुरुङ भित्रको बिग्रे, भत्केका उपकरण र निर्माण के कति भत्के बिग्रिएका छन् भन्ने पत्ता लगाई सम्पूर्ण रूपमा विज्ञको टोलीद्वारा अध्ययन अनुसन्धान गरी प्रतिवेदनले औँल्याए अनुसार कामको थालनी गरिसकिएको छ ।

हाल आयोजना स्थलसम्मको पहुँचमार्ग बनेपछि सिभिल निर्माण तर्फको ठेकेदार कम्पनी सीजीजीसीले सिमेन्ट, छड लगायतका कच्चा पदार्थ ओसार्ने काम गरिरहेको छ । आउँदो १५ दिनभित्रै सुरुङको काम सुचारु गरिने योजना बनाएका छौँ, आयोजना प्रमुख जोशीले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter