कागतीबाटै करोडपति

Lemonहरि कोइराला / उर्लाबारी, साउन ५ गते । कागती खेती गरेरै किसान करोडपति भए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङको बूढीगंगा–६ (साविक डङ्ग्राहा­–३) का ६० वर्षीय ढालुराम माझी कागती खेतीबाटै करोडपति बन्नुभएको छ ।

२०४९ सालमा भएको स्थानीय चुनावमा तत्कालीन डङ्ग्राहा गाविसको अध्यक्षमा काँग्रेसबाट निर्वाचित हुनुभएका माझी काँग्रेसको क्षेत्रीय सभापतिसमेत बन्नुभयो तर जब उहाँ ५० वर्ष लाग्नुभयो, उहाँले राजनीति छोड्नुभयो र खेतीपातिमा लाग्नुभयो । उहाँले भन्नुभयो, ­म आध्यात्मिक चेतनाको व्यक्ति, राजनीतिबाट सन्तुष्टि मिलेन । आफैँ केही न केही उद्यम नगरी नहुने टुङ्गोमा पुगेपछि २०६४ मा एक बोट कागती ल्याएर रोपेँ । यसबाटै फैलिएको होे यो सबै । kagti

एक दशकमा उहाँको पूरै दैनिकी फेरिएको छ । अहिले राजनीतिक भेटघाट हुँदैन । अहिले माझीको एउटै सपना छ । कागती धेरै उत्पादन गर्ने र परनिर्भरता घटाउने । हाल माझीले पाँच बिघा खेतमा कागती लगाउनुभएको छ जसमध्ये दुई बिघामा लगाइएका एक हजार दुई सय बोटले आम्दानी दिइरहेको छ भने तीन बिघामा लगाइएका एक हजार तीन सय बोटले आगामी वर्षदेखि उत्पादन दिने छन् ।

उहाँले भन्नुभयो, ५० हजारभन्दा बढी बिरुवा मात्र बेचिसकेँ । कागतीका दाना, बिरुवा र अचार गरी गत वर्ष मात्र ३५ लाख रुपियाँ समाए ।

सुरुमा आफ्नो अढाई बिघा जग्गामा धान खेती गर्दा मुस्किलले वर्षभरि खाने धान उत्पादन हुन्थ्यो तर त्यही जग्गामा कागती लगाएपछि माझीको वार्षिक ३०÷४० लाख रुपियाँ आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।

गत वर्ष एक करोड रुपियाँमा पाँच बिघा जग्गा किनेपछि हाल उहाँसँग साढे सात बिघा जग्गा छ । पाँच बिघामा कागती खेती छ भने बाँकी अढाई बिघामा नर्सरी ।

ढालुरामको कपाली फुलिसकेको छ, दाँत खुस्किसकेका छन् तर पनि एक्लै खट्नु हुन्छ, नर्सरी र कागतीबारीमा । श्रीमती बितेको पाँच वर्ष भयो । चार छोरीको बिहे भइसक्यो, छोरो काठमाडौँ बसेर बीएस्सी एजी पढ्दैछन् । गाउँकै १२÷१३ जनालाई उहाँले रोजगारी पनि दिनुभएको छ । उहाँले भन्नुभयो, एक्लै छु तर पनि काम नगरी बस्न मन लाग्दैन ।

कृषि र प्रविधिका विषयमा उहाँ आफैँ पनि जानकार हुनुहुन्छ । सबै अनुभवले हो पढेको छैन । उहाँले भन्नुभयो, एउटै खेतीमा व्यावसायिक ढङ्गले लाग्ने हो भने कृषिको परनिर्भरता घटाउन सकिन्छ ।

जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरीका अनुसार मोरङमा कागतीको उत्पादन क्षेत्र र उत्पादन हरेक वर्ष बढिरहेको छ ।

उहाँले भन्नुभयो, आव २०७०÷७१ मा १५० हेक्टर क्षेत्रफलमा कागती उत्पादन हुने गरेको थियो । जहाँ ४५० मेट्रिक टन कागती उत्पादन भएको तथ्याङ्क छ । दुई वर्षपछि अर्थात् ०७२÷०७३ मा १७० हेक्टर क्षेत्रफलमा ५१० मेट्रिक टन कागती उत्पादन भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter