सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार; नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र

electrictyकाठमाडौँ, साउन ११ गते। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले बताउनुभयो ।

“तार कताबाट लगेको छ भनी कार्यालयका पुराना कर्मचारीलाई ल्याएर पनि देखायौँ, उहाँहरुले यहीँबाट लगेको भनी ठम्याउन सक्नुभएन, कार्यालयमा कतै यससम्बन्धी अभिलेख पनि पाइएन, विसं २०४२ अघि जापानी आयोजनाले बनाएकाले केन्द्रीय कार्यालयमा पनि यससम्बन्धी कुनै अभिलेख पाउन सकिएन”– उहाँले भन्नुभयो ।

ढुङ्गेअड्डाको मात्र नभई अन्यत्र पनि भूमिगतरुपमा बिच्छ्याइएका तारको अभिलेख पाउन नसकिएको कार्यालय प्रमुख खत्रीले सुनाउनुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डा क्षेत्रमा भूमिगत बिजुलीको तार कहाँ छ भन्ने ठम्याउन नसक्दा काम अघि बढ्न सकेको छैन ।

यो सडक विस्तारमा अन्य ठाउँमा अरु समस्या भए पनि ढुङ्गेअड्डामा भूमिगत तारको समस्याले सताएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताउनुभयो ।

“रत्नपार्क र नयाँबानेश्वरमा भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउने क्रममा काटियो, यहाँ पनि प्राधिकरणसँग तार कहाँबाट बिच्छ्याइएको छ भन्ने अभिलेख रहेनछ, धन्न दुर्घटना भएन, ढुङ्गेअड्डामा तार बिच्छ्याइएको अभिलेख नहुँदा सडक विस्तारमै समस्या भएको छ”– उहाँले भन्नुभयो ।

प्राधिकरणको केन्द्रीय कार्यालय र सम्बन्धित वितरण केन्द्रमा पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख नहुँदा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउँदा तार काटिएर उपत्यकाका धेरै स्थानमा विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकाल विद्युत् प्राधिकरणका कर्मचारी पनि सँगै काममा खटिएका बेला रत्नपार्क र नयाँ बानेश्वरमा बिजुलीको तार काटिएको बताउनुहुन्छ ।

“प्राधिकरणका कर्मचारीलाई पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार कताबाट कति गहिरोरुपमा लगिएको छ भन्ने थाहा रहेनछ”– उहाँले भन्नुभयो ।

भूमिगतरुपमा बिच्छ्याइएको संवेदनशील बिजुलीको तार कहाँबाट लगिएको छ भन्ने अभिलेख सम्बन्धित कार्यालयसँग नहुँदा खानेपानीको पाइप बिच्छ्याउने, सडक विस्तार गर्ने र भूमिगतरुपमा नेपाल टेलिकमको तार बिच्छ्याउने क्रममा दुर्घटना हुनसक्ने खतरा देखिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख भए सम्बन्धित वितरण केन्द्रमै हुने बताउनुहुन्छ । विसं २०४२ भदौ १ गते विद्युत् विकास विभाग, नेपाल विद्युत् निगम र विद्युत्सँग सम्बन्धित बोर्ड गाभेर प्राधिकरण गठन गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र
चितवन, साउन ११ गते । नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।

बायोइन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको हो । पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोइन्जिनियरिङको कार्य सम्पन्न भएको बताउनुभयो । उक्त सडकखण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

बायोइन्जिनियरिङअन्तर्गत जुटका ठूलाठूला जालीलाई माटो बग्ने ठाउँमा किला ठोकेर माटो बग्न दिइँदैन । उक्त जालीको बीचबीचका प्वालमा घाँसका बिरुवा तथा बीउ रोप्ने काम भइरहेको पाठकले बताउनुभयो । उहाँका अनुसार उक्त जालीमा लगाइका बिरुवा बढ्दै जाने र बिस्तार जाली कुहिएर मलका रुपमा परिणत हुने गर्दछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter