विदेशमा हजारथरिका नेपाली सामान !; एक हजारको मात्रै पनि निर्यात 

Handicraft Goods Nepalविश्वास रेग्मी / काठमाडौँ, साउन १६ गते । आयात र निर्यातमा बढ्दो अन्तरबीच पनि नेपाली वस्तु तथा उत्पादनको विदेशी बजारमा उपस्थिति भने फैलँदै गएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार विदेशमा हजारभन्दा बढी किसिमका नेपाली सामानको निर्यात भएको उल्लेख छ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७४ अर्ब ७१ करोड २६ लाख ५७ हजार रुपियाँ बराबरका एक हजार १३६ थरिका नेपाली सामान निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा करिब तीन दर्जन देशमा नेपाली सामान निर्यात भएको छ ।

मूल्यका हिसाबले सबैभन्दा धेरै निर्यात हुने वस्तुमा गलैँचा रहेको छ । विभागका अनुसार अघिल्लो आवमा सात अर्ब २९ करोड ९५ लाख रुपियाँ बराबरको गलैँचा विदेश निर्यात भएको छ । गलैँचा पछि विभिन्न किसिमका जुस नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु मध्ये दोस्रो स्थानमा छ । समीक्षा अवधिमा तीन अर्ब ५३ करोड ९० लाख रुपियाँको जुस निर्यात भएको छ । त्यस्तै यस बीचमा तीन अर्ब ५३ करोड ५८ लाख रुपियाँ बराबरका उनी वस्तु, तीन अर्ब २१ करोड २५ लाख रुपियाँका बुना कपडा निर्यात भएको तथ्याङ्क छ । दुई अर्ब ४३ करोड ७४ लाख रुपियाँसहित सल, मफलर लगायतका कपडा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौँ स्थानमा छ ।

नेपालबाट गत आवमा जनावरको मासुदेखि दुग्धजन्य विभिन्न उत्पादन निर्यात भएका छन् । त्यस्तै मह, फलफूल, विभिन्न किसिमका तरकारी, अदुवा, अलैँचीजस्ता मसला, चामल, मैदा लगायतका खाद्यान्न पनि विदेश निर्यात हुने प्रमुख वस्तुमा छन् । त्यस्तै बोट बिरुवाका लागि आवश्यक बीउदेखि उखु, रुद्राक्ष, तेल, पास्ता, बिस्कुटजस्ता वस्तु पनि नेपालले निर्यात गरेको छ । जौबाट बन्ने नेपाली बियर पनि आधा दर्जनभन्दा बढी देशमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । चुरोट, कुकुर बिरालोका लागि खाना, पान मसाला, कार्बनडाइअक्साइड, विभिन्न किसिमका औषधि, कत्था, पेन्ट्स, आँखा र ओठका शृङ्गार सामग्री, स्याम्पु, शरीरमा लगाउने क्रिम, सलाई, तारपिन तेलजस्ता वस्तु पनि नेपालबाट विदेश निर्यात भएको छ । निर्माणका लागि आवश्यक पाइप, स्टिल, जस्ता, प्लास्टिक ट्युब पनि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा छन् । झ्याल ढोकाका लागि काठ, भान्साका लागि आवश्यक सामग्री, हाते कागज पनि नेपालले निर्यात गरेको छ । महिलाले प्रयोग गर्ने कपडाको पनि विदेशमा माग बढ्दैगएको पाइएको छ । विदेशमा नेपाली जुत्ताको निर्यात पनि तुलनात्मक रुपमा वृद्धि हुँदैगएको देखिएको छ । दाह्री काट्ने रेजरदेखि सवारीका एसेसरिज पनि विदेश निर्यात भएका छन् ।

एक हजारको मात्रै पनि निर्यात
गत आर्थिक वर्षमा नेपालबाट एक हजार रुपियाँको मात्रै पनि वस्तु निर्यात भएको छ । जनावरको दानाका रूपमा प्रयोग हुने ‘फोरेज’ गत आवमा एक हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ । त्यस्तै मर्मत सम्भारमा प्रयोग हुने एक किसिमको क्रिम पनि एक हजार रुपियाँको मात्रै निर्यात भएको छ । गत आवमा चार किलो बराबरको उक्त क्रिम विदेश निर्यात भएको थियो । दस हजार रुपियाँभन्दा कम रुपियाँको मात्रै निर्यात हुने वस्तुको सूची पनि आधा दर्जनभन्दा बढी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter