बेलहिया नाकाबाट आयात घट्यो

Bhairahawaलुम्बिनी, साउन १८ गते । अधिकांश व्यवसायीले निकासी पैठारी संकेत नम्बर एक्जिम कोड प्रमाणपत्र नलिएका कारण बेलहिया नाकाबाट हुने आयात निर्यात घटेको छ ।

निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेपछि सो प्रमाणपत्र धेरैजसो व्यवसायीले नलिँदा निकासी पैठारी घटेको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा रु चार अर्ब ६८ करोडभन्दा बढी राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयमा एक्जिम कोड लागू गरिएपछि चालु आवको सुरुमा लक्ष्यभन्दा कम राजश्व असुली भइरहेको छ ।

भन्सार कार्यालले आव २०७३÷७४ मा रु दुई खर्ब तीन अर्ब ४० करोड बराबरको बस्तु तथा सामग्री आयात हुँदा भन्सार शुल्क, मूल्य अभिवृद्धी कर र अन्तःशुल्कबापत रु ६२ अर्ब ३२ करोड राजश्व संकलन गरेको थियो । भन्सार विभागले रु ५७ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य तोकेकामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताउनुभयो ।

गत आवमा रु ५७ अर्ब ३४ करोडको लक्ष्य राखेकामा चालु आव २०७४÷७५ मा रु ८१ अर्ब ४३ करोडको लक्ष्य रहेको शाक्यले बताउनुभयो । दैनिक रु १५ करोडभन्दा बढी राजश्व संकलन गर्दैआएको सो भन्सारमा अहिले दैनिक रु पाँचदेखि रु छ करोडसम्म राजश्व संकलन भइरहेको छ ।

चालु आव सुरु भएसँगै आयातनिर्यात आधाभन्दा बढी घटेको शाक्यले बताउनुभयो । राजश्व घट्नुको कारण एक्जिम कोड मात्रै नभएको उहाँको भनाइ छ । उहाँले एक्जिम कोड भर्खर लागू गरिएकाले प्रमाणपत्र लिएका व्यवसायीले आयात–निर्यात सुरु नगरेकाले तथा भारतमा जिएसटी लागू भएका कारण राजश्व घटेको बताउनुभयो ।

भारतले नेपालबाट भारत जाने गाडिमा चेकजाँचमा कडाइ गरेकाले पनि लोड गाडी र औद्योगिक सामग्री बोकेका भारतीय गाडी लामबद्ध जाममा फसेका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार, सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सयसम्म मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक एक सयदेखि एक सय ५० मालबाहक गाडी मात्र आएकोे छ । भारतीय पक्षले सुनौली नाकामा कडा चेकजाँच गरेका कारण आयातनिर्यात प्रक्रियामा असर पुगेको हो ।

हालसम्म पाँच सय व्यवसायीले निकासी पैठारी संकेत नम्बर प्रमाणपत्र लिएका छन् । सम्पूर्ण व्यवसायीले सो प्रमाणपत्र नलिएका कारण आयात निर्यात घटेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव भिष्मप्रसाद न्यौपाने बताउनुहुन्छ । सिमानामा हुने आयात निर्यातलाई व्यवस्थित गर्न भन्सार विभागले देशका सबै नाकामा एक्जिम कोड अनिवार्य गरेको छ ।

व्यवसायीले व्यवसायमा देखिएका बेतिथि रोक्न एक्जिम कोड आवश्यक रहेको भएपनि साना व्यवसायीलाई समस्या हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । आयात निर्यातको कारोबार गर्ने व्यवसायीले एक्जिम कोड प्राप्त गर्न प्रचलित कानून बमोजिम नियमित रूपमा कर बुझाउँदै आएको, चुक्ता पुँजी रु १० लाख वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ ।

आयातकर्ताले रु ५० हजार मूल्यभन्दा बढीको सामान ल्याउँदा अनिवार्य एक्जिम कोड लिएको हुनुपर्छ । पचास हजार रुपैयाँसम्मको सामान आयात र रु पाँच लाखसम्मको निर्यात गर्ने व्यवसायीले एक्जिम कोड लिन जरुरी छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter