‘सार्क प्रक्रियालाई सुदृढ बनाउनुपर्छ’

SAARC Secretariatकाठमाडौँ, साउन १९ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले विकास–निर्माण, गरिबी निवारण, शिक्षा–स्वास्थ्यजस्ता परियोजनामा केन्द्रित भएर सार्क प्रक्रियालाई सुदृढ तुल्याउन सकिने बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘सार्क प्रक्रियालाई नवजीवन’ विषयक प्रवचनमा उहाँले दक्षिण एसियाको आर्थिक एकीकरण तथा जल, स्थल र वायुमार्गबाट सबै सदस्य मुलुकलाई जोड्ने परियोजनामा केन्द्रित भएर काम गर्न सके सार्कले नवजीवन पाउने विचार व्यक्त गर्नुभयो ।

महासचिव सियालले सार्कलाई जीवन्त तुल्याउन तथा त्यसलाई गतिशील बनाउन परिणाम देखिने परियोजनामा केन्द्रित हुनु अहिलेको आवश्यकता भएको बताउँदै विगतका सबै घोषणा कार्यान्वयनको अपरिहार्यतामा जोड दिनुभयो ।

सार्कको बडापत्रले गरेका व्यवस्थाबारे जानकारी दिँदै उहाँले बडापत्रले बहुमतले निर्णय गर्ने प्रावधान नगरेकाले कुनै एक सदस्य मुलुकले शिखर सम्मेलन वा कुनै बैठकमा उपस्थित हुन असमर्थता जनाए त्यो सञ्चालन हुन नसक्ने जानकारी दिनुभयो ।

महासचिव सियालले दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क सांस्कृतिक केन्द्रलगायत सार्कअन्तर्गतका निकायले महसुस हुने गरी काम गरिरहेका बताउँदै सबै सार्क सदस्य मुलुकले सार्क मामिला हेर्ने कर्मचारीलाई लामोसमयसम्म सार्ककै जिम्मेवारी दिनुपर्ने सुझाव दिनुभयो ।

युवा पुस्तालाई सार्कबारे दीक्षित गराउनुपर्ने, ऐतिहासिक एवम् संस्कृतिक सम्पदा र परम्पराका धनी सार्क मुलुकबीच पर्यटन प्रवद्र्धनको प्रचुर संभावना रहेकाले सम्पर्क विस्तारमा देखिएका समस्या र चुनौतीको अन्त्यका लागि सार्क सचिवालय क्रियाशील रहेको उहाँले बताउनुभयो ।

महासचिव सियालले सार्क हवाई सम्झौता, मोटर सञ्जाल सम्झौतामा शीघ्र हस्ताक्षर हुनेमा आफू विश्वस्त रहेको बताउँदै निकट भविष्यमा भारत र श्रीलंकालाई जलमार्गबाट जोड्न पानीजहाज सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

हालै श्रीलंकामा सम्पन्न सार्क मुलुकका स्वास्थ्यमन्त्रीहरूको बैठकमा आफूले दक्षिण एसियाली चिकित्साशास्त्र विश्वविद्यालय स्थापनाको अवधारणा प्रस्तुत गरेको र त्यसलाई सम्बन्धित निकायमा पेस गर्न उक्त बैठकले सकारात्मक प्रयास थालेको उहाँले बताउनुभयो ।

महासचिव सियालले दक्षिण एसियाका जनताको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास सुनिश्चित गर्न ३२ वर्षअघि स्थापना भएको सार्कका सदस्य मुलुकले साझा चासोका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा एकताबद्ध भएर अभिमत जाहेर गर्नुपर्नेमा जोड दिदैं अन्तर्राष्ट्रिय एवं बहुपक्षीय संघसंस्थासँग पनि सार्कले सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा परिषद्का अध्यक्ष हेमन्त खरेल र महासचिव असिम थापाले सार्क स्थापनाका उद्देश्य र लक्ष्यबारे चर्चा गर्दै सार्क प्रक्रियालाई सुदृढ तुल्याउन सदस्य मुलुकबाट भएका प्रयासबारे समीक्षात्मक विवरण प्रस्तुत गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter