खाल्डोको उँचाइ (व्यङ्ग्य )

potholes–योगीशकृष्ण : चिन्तनशील मुद्रामा रहेको मित्रवर बन्धुलाई सोधेँ , “कुनै नया चिन्तन चलिरहेको छ कि क्या हो ?”

उसले रहस्यमय मुस्कानका साथ भन्यो , “हो , म खाल्डोको उँचाइको बारेमा चिन्तन गर्दै छु । ”

“के कुरा गरेको यार ?“ उसको अज्ञानताप्रति हाँसो उठ्यो ,“ खाल्डोको पनि उँचाइ नापिन्छ र । गहिराइ पो हुन्छ ।”

ऊ त्यसैगरी मुस्कुरायो जब कुनै नेता जनताको मूर्खताप्रति मुस्कुराउँदै मत माग्न जाने गर्छन् “ अब खाल्डोहरू सामान्य रहेनन् । जब प्रधानमन्त्री स्वयंले खाल्डो पुर्ने आदेश दिनुभयो त्यस दिनदेखि खाल्डोहरू विशिष्ट भइसके । खाल्डोको उचाइँ बढिसक्यो । ”

उसको. कुरा सही लाग्यो । खाल्डाखुल्डीको हैसियत अचानक बढ्यो । चुनाव जितेको नेता जस्तै । यसअघि खाल्डोको कुनै भाउ थिएन । खाल्डोमा मानिस टेक्दा पनि टेक्दैन थिए , आँखा टेढो पार्दै किनाराबाट हिँडथे । राज्यस्तरको कुरा गर्ने हो भने त झन कुनै मर्यादा नै थिएन । गाविस तहमा सचिव वा हद भए वडा सदस्यको यदाकदा आकर्षणको केन्द्र हुन्थ्यो – खाल्डो । नगर क्षेत्रमा मजदुरभन्दा अरुले त वास्तै गर्दैनथे । खाल्डोको दिन फि¥यो । खाल्डोको विषयमा सचिवहरू अद्यावधिक जानकारी सार्वजनिक गरिरहेका छन् । सदनमा खाल्डोको चर्चा हुन्छ । दलहरूका प्रवक्ताको बोलिमा खाल्डो छ । वरिष्ठ प्रशासकहरू खाल्डोको विषयमा सरकारलाई प्रतिवेदन बुझाउँछन् । सञ्चारमाध्यमहरू खाल्डोको समाचार प्रकाशन गरिरहेका छन् । कैयन् टिभी पत्रकारहरूलाई दुख पनि लाग्दो हो –खाल्डाहरू बोल्न सक्दैनन् । नभए मसलावाला समाचार लाइभ प्रसारण गर्न पाइन्थ्यो । छापे पत्रकार सोच्दा हुन् एक से एक खाल्डाहरूको अन्तवार्ता प्रकाशन गर्न सकिन्थ्यो – खाल्डो नेता , प्रभावशाली खाल्डो नेता , युवा खाल्डो नेता , वरिष्ठ खाल्डो नेता, सशक्त खाल्डो नेता आदि ।

खाल्डोहरू मानिस भएका भए के सोच्दा हुन् ? के गर्दा हुन् ?

सबैभन्दा पहिले खाल्डो भेला हुन्थ्यो । जुन खाल्डोमा पुरिएर एक बालिकाको मृत्यु भएको थियो त्यसको छेउको सानो खाल्डोले कानेखुसी गर्दै भन्ने थियो “आज हामी जुन अवस्थामा आइपुगेका छौँ , त्यसको श्रेय तपाइँलाई जान्छ । यो भेलाको सभाध्यक्ष गर्न म तपाइँको नाम प्रस्ताव गर्छु ।”

ठूलो खाल्डोको अनुहारमा चमक आउने थियो । उसलाई लाग्दो हो – गजब चमचा फेला पारेँ ।

चमचाले भेलाको कल्याङ् कुलुङ्लाई शान्त हुन आग्रह गर्दै भन्ने थियो “ यस्ता सबै कार्यक्रममा सभाध्यक्षको आवश्यकता हुन्छ । यसका लागि म उहाँ ठूलो खाल्डोको नाम प्रस्तावित गर्दछु ।”

रत्नपार्कको मञ्चको खाल्डोले तुरुन्त उठेर समर्थन जनाउँने थियो । उसको कुरा सकिनासाथ रौतहटको खाल्डो जहाँ चार जना डुबेर मरेका थिए , ऊ जुरमुराउने थियो “परिणाम मात्र होइन , परिमाण पनि हेर्नुस् , म भित्र डुबेर चार जना मरेका छन् । अध्यक्ष पदमा मेरो दावेदारी छ । ”

सामान्य खाल्डो जोमाथि टेकेर पनि मानिस आवतजावत गर्थे उसले विरोध जनाउने थियो “ हुन्न । मानिस मर्नु राम्रो कुरा होइन । हामी हिंसालाई प्रश्रय दिन सक्दैनौँ । ”

चमचाले जुरुक्क उठेर भन्ने थियो “ कैयन निर्दोषको हत्या गर्ने मुलुकको प्रधानमन्त्री , मन्त्री जस्ता ठूल ठूला पदमा बसेका छन् । यहाँ मलाई के लाग्छ भने हामी खाल्डोहरूको विरुद्ध ठूले षडयन्त्र भइराख्या छ । प्रतिगामी तत्वहरू सलबलाई रहेका छन् । हामी अग्रगमनमा गइरहेको वर्तमान अवस्थामा यस्ता कुराहरूप्रति वैज्ञानिक तवरले बुझ्नु आवश्यक छ ।”

खाल्डोले कृतज्ञतापूर्वक चमचालाई हेर्दै आफू सभाध्यक्ष भए पनि वा नभए पनि जस्तोसुकै अवस्थामा खाल्डोहरूको मुक्तिका लागि जस्तोसुकै मूल्य चुकाउने प्रतिबद्धता जाहेर गर्ने थियो र तालीको गडगडाहट बीच ऊ सभाध्यक्षको आसन ग्रहण गर्ने थियो ।

चमचाले भन्न सुरु गर्ने थियो “ मुलुकका प्रधानमन्त्रीले खाल्डोको विषयमा जसरी चासो देखाउनु भयो , त्यसलाई सारमा बुझ्ने हो भने ठूलै षडयन्त्र भएको हुनु पर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । संसारका कुनै पनि प्रधानमन्त्रीले खाल्डो पुर्ने आदेश दिएको कसैले सुन्नु भएको छ ? यस्तो संसारमा कतै भएको छैन । नेपालमात्र त्यस्तो देश हो जहाँ प्रधानमन्त्रीले यस्तो आदेश दिएका छन् । हाम्रो अस्तित्व समाप्त पार्न प्रधानमन्त्रीले यस्तो आदेश दिएका हुन् । विदेशीको इशारामा कर्मचारी नियुक्त हुने यो देशमा उनले सहजै यस्तो आदेश दिए होलान् त ? यसमा अन्तराष्ट्रिय षडयन्त्र भएको हुनुपर्छ । यसको निमित्त हामी सबै खाल्डोहरू एक ढिक्का भएर आफ्नो अस्तित्व रक्षाका लागि लडन तयार हुनुपर्छ ।”

राजनीतिक दलको एक नेताको घरछेउको खाल्डोले उठेर भन्ने थियो “ लडनाका लागि हामीलाई तन र मनले मात्र पुग्दैन । धनको पनि आवश्यकता पर्छ । हामीले यस विषयमा पनि ध्यान दिनुपर्छ । भन्नु हुन्छ भने म चन्दा उठाउन तयार छु ।”

इन्जिनियर र प्रशासकको घरछेउको खाल्डोले अर्को प्रस्ताव राख्ने थियो “ म कसैले थाहा पत्तो नदिएर अर्थ सङ्कलनको उपाय सुझाउँछु । खाल्डो पुर्ने त कर्मचारी र ठेकदारहरू न हुन् । उनीहरूसँग हामी गोप्य सभझौता गरौँला –हामी पुरिए जसरी बसिदिन्छौ । भुक्तानि आधा आधा बाँडेर लिउँला । अहिले वर्षातको मौसम छ –उनीहरूलाई पनि जबाफ दिन सजिलो छ –पुरेको त हो , पानीले बगायो । ”

एवम् रीतले भेला राजनीतिक दलको रूपमा परिणत हुने थियो । जुन खाल्डोमा परेर धेरै मानिस मर्छन् त्यसलाई दलको अध्यक्ष बनाउने विधान पारित हुने थियो । दलले सरकारसँग माग राख्ने थियो । अन्तराष्ट्रिय शान्ति संस्थाहरूले मध्यस्थता गर्ने इच्छा प्रकट गर्थै । विभिन्न विश्वविद्यालयका विद्वानहरू खाल्डो आन्दोलनको अध्ययन गर्न नेपाल आउने थिए ।

अन्ततः सरकारले खाल्डोसँग वार्ता गर्न सर्वदलीय सहमतिका आधारमा वार्ता कमिटी गर्ने थियो ।

(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter