नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

Nepali Professorकाठमाडौं, साउन २५ गते । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त हुनुभएको छ ।

चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त हुनुभएको हो ।

उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ ।

उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् ।

साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ (हन्ड्रेड ट्यालेन्ट) पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिनुएको थियो ।

विगत २० वर्षदेखि चीनमा रहनुभएका प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत हुनुहुन्छ ।

उहाँले चीनको सियान जियानतोङ विश्वविद्यालयबाट प्याङ्क्रियाटिजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिदर कम गर्ने विषयमा विद्यावारिधी गर्नुभएको हो । उहाँले सन् २०१३ मा सोही विश्वविद्यालयबाट सोही विषयमा महाविद्यावारिधी (पोष्ट डक) गर्नुभएको छ ।

उहाँको नाममा चीन सरकारले सन् २०१५ मा युनिभर्सिटी अफ सियानमा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’ पनि स्थापना गरेको छ ।

त्यस संस्थामार्फत उहाँले मेडिकल क्षेत्रमा अनुसन्धान गरिरहनुभएको छ । उहाँले महाविद्यावारिधिमा प्याङ्क्रियाजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिको गतिलाई कसरी र कुन उपचार विधिबाट कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्नुभएको थियो ।

उहाँले हाल यस विषयमा सियान मेडिकल युनिभर्सिटी बाहेकका अरु तीनवटा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन गरिरहनुभएको छ ।

विसं २०३६ मा धनुषाको प्रवाहा गाउँमा जन्मिनुभएका डा झा २० बर्षअघि एमबिबीएस अध्ययन गर्न चीन जानुभएको थियो । विद्यावारिधि सकेपछि उहाँ चीनमा नै प्राध्यापनरत हुनुहुन्छ ।

उक्त पदमा नियुक्तिपछि प्रा.डा.झाले भन्नुभयो ‘मलाई लाग्छ चीनमा बसेर आफ्नो पेसा र व्यवसाय गरिरहेका नेपालीमा यति उच्च पदमा सम्भवतः पहिलो नेपालीका रुपमा आफूले नियुक्ति पाएको खबरले निकै खुसी तुल्याएको छ ।’

चीनले नेपालसँगको सम्बन्धमा पछिल्लो समयमा निकै महत्व दिएको रुपमा आफूले बुझेको र सोही परिणामस्वरुप आफूले चीनको यो अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क संस्थामा महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै उहाँले यसबाट नेपाल–चीन सम्बन्धको विकास र सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने धारणा पनि राख्नुभयो ।

चीनले ओबोरलाई महत्व दिएको र यस संस्थामार्फत पनि ओबोरमा संलग्न राष्ट्रहरुको विकासमा सहयोग गर्ने भएकोले नेपालको कृषि, पूर्वाधार निर्माण, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन र अरु विविध क्षेत्रमा अनुसन्धानका लागि पनि सहयोग पुग्ने धारणा उहाँको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter