बाढी पहिरोका कारण २९ जनाको मृत्यु;  कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

 

Koshi Floodकाठमाडौँ, साउन २८ गते । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आज गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उहाँले बताउनुुभयो । उहाँले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराउनुभयो ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ ।

उहाँले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताउनुभयो ।

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो ।

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।

पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् ।

उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन ।

यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन ।

यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ ।

इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ ।

अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter