बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति; सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Koshi Floodकाठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छाँै । थप क्षतिको विवरण भने अध्ययनपछि नै थाहा हुनेछ ।”

अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

दुहवी सबस्टेसन पानीमा, दर्जनौँ टावर समस्यामा

बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । सबस्टेसनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणालीसमेत समस्या आएको छ । यही साउन २७ गते बिहानदेखि ती सबस्टेसन पूर्णरुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटाँैडा सबस्टेसनअन्तर्गतको हेटौँडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ ।

तराईका सम्पूर्ण फिडरमा समस्या

प्राधिकरणका अनुसार लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ ।

ढल्केबर सबस्टेसनअन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो ।

चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ ।

हरिपुर र गौर नजिकको फिडरमा एक फिटभन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सबस्टेसन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सबस्टेसनको स्थानीय फिडरमा एक मिटरभन्दा बढी पानी जमेको छ ।

हेटाँैडा सबस्टेसन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सबस्टेसन र पर्सा सबस्टेसनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुरअन्तर्गतको गँैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकामा दुई मेगावाट मात्रै सञ्चालनमा रहेको छ ।

प्राधिकरणका अनुसार शिवपुर सबस्टेसनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुई मेगावाट मात्रै प्रयोग भइरहेको छ ।

अधिकांश आयोजना ट्रिपिङमा

कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

मध्य–मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात÷सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक विद्युत् बाढीका कारणले बन्द अवस्थामा रहेको छ ।

भारतबाट आउने विद्युत् बन्दप्रायः

भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ ।

यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युत्समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा रु एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ । रासस

सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।

शनिबार अपराह्न २ बजेबाट जारी वर्षासँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

यस्तै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा झरेको पहिरो पन्छाएपछि एकातर्फी सडक सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार दुईतर्फी सञ्चालन गर्न भने साँझसम्म सकिएको छैन ।

मध्याह्न १२ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भए पनि अघिल्लो दिनदेखि रोकिएका सवारीसाधन चार वटासम्म लाइन बनेर बसेकाले आवातजावत गराउन निकै कठिन भएको छ । उहाँका अनुसार पहिरोका कारण बाटो नरोकिएको भए पनि सवारी जामका कारण सो सडकमा समस्या उत्पन्न भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter