बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर; तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहतमा

Koshi Floodलहान, भदौ १ गते । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

बाढी प्रभावित स्थानमा रोगको संक्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इटारी प्रसाहीस्थित निमावि परिसरमा साउन २९ देखि ३२ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका २४८ जनाको निःशुल्क स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयो ।

सो क्रममा काठमाडौँ विश्वविद्यालयको धुलिखेल अस्पतालले स्वास्थ्य शिविरसँगै विभिन्न लत्ताकपडा, भाँडाकुडालगायतका सामग्री बाढीपीडितलाई वितरण गर्न कल्याणपुर नगरपालिका कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

यसैगरी बाढी प्रभावित जिल्लाको कर्जन्हा गाउँपालिका–२ मा स्वास्थ्यकर्मीको टोली परिचालन गरी २९ जना बाढीपीडितको स्वास्थ्य जाँच गरेको छ भने लहान नगरपालिका–१ मुसहरबस्ती, कर्जन्हा गाउँपालिकाको गौतारी, औरही र मिर्चैया नगरपालिकाका बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख डा दासले जानकारी दिनुभयो ।

शिविरमा दूषित पानी तथा खाना तथा प्रदुषणका कारण हुने कमलपित्त (जण्डिस), झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधि समेतको प्रबन्ध मिलाइएको उहाँको भनाइ छ ।

यसैबीच बाढीका कारण खानेपानी दूषित भएकाले पानी शुद्धीकरणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत खानेपानीका क्षेत्रमा कार्यरत सङ्घघसंस्थाले इटारी प्रसाहीका बाढीबाट पीडित ७६ परिवारलाई हाइजिंब किट, पियुस र बाल्टिन वितरण गरेको छ ।

बाढीका कारण प्रदूषण फैलिएको र खानेपानीको मुहानसमेत दूषित भएकाले पानी निर्मलीकरण गर्न बाढीपीडित परिवारलाई ती सामान वितरण गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । रासस

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहतमा
तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् ।

तीज आउनै लाग्दा जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरु संस्थागतरुपमा उद्धार र राहतमा जुटेका हुन् ।

जिल्लाका महिलासँग सम्बन्धित अधिकांश सङ्घसंस्थाले तीजमा जुटेर नाचगान गर्ने, भोज खाने र त्यसलाई स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्थे । यस वर्ष भने यस्ता गतिविधि जिल्लामा शून्य जस्तै भएको छ ।

हालैमात्र भरतपुर महानगरपालिकाको उपप्रमुखमा विजयी नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह गाउँदेखि वडा, नगर, क्षेत्र हुँदै जिल्लासम्मका सबै तीजका कार्यक्रम स्थगित गरी बाढीपीडितका लागि राहतमा जुट्न निर्देशन दिइएको बताउनुहुन्छ । अधिकांश ठाउँमा तीजका लागि आर्थिक संकलन भइसकेको, होटल र पार्टी प्यालेस बुक भइसकेको भए पनि स्थगित गरी संकलित रकम राहत वितरणमा खर्च गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष सरस्वती विष्ट विपत्ति परेका बेला रमाउन नसकिने बताउँदै जे जस्तो सकिन्छ, प्रभावितलाई सहयोग गरेर यस वर्षको तीज मनाउने तयारीमा रहेको बताउनुहुन्छ । सङ्घले जिल्लादेखि गाउँ तहसम्म बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) चितवनकी अध्यक्ष संगीता भट्टराई देश रोइरहेका बेला नाचगान र भोजभतेर आवश्यक नरहेको बताउनुहुन्छ । जिल्लादेखि गाउँ तहसम्मका तीजका सबै कार्यक्रम स्थगित गरी तीजका लागि उठेको रकम राहतमा खर्च गर्न भनिएको उहाँले बताउनुभयो ।

जिल्लाको एकमात्र महिलामात्रै पढाउने मैयादेवी कन्या क्याम्पस भरतपुरले हरेक वर्ष तीजलाई विशेष कार्यक्रमका बीच मनाउने गरेको थियो । तर यस वर्षको तीजका लागि खर्च गरिने रकम माडीका बाढी प्रभावितलाई आज राहत बाँडिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार माडी बरुवाका एक सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ संगठनका महिला विभागले गर्ने तीज कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ । नेपाल पत्रकार महासङ्घका महिलाले साउन ३२ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेका छन् भने प्रेस युनियनको महिला विभागले भदौ २ गतेका लागि तय गरेको तीजको कार्यक्रम स्थगित भएको विभागकी संयोजक अनिता खनालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीजका कुनै तडकभडक कार्यक्रम नभएको भन्दै राहत र सहयोग कहाँ गर्ने भन्ने विषयमा विभिन्न सङ्घसंस्थाले चासो दिइरहेको बताउनुभयो ।

जिल्लामा रहेका आमा समूह, टोल सुधार समिति, सहकारी संस्थाले पनि तीजको कार्यक्रम स्थगित गरी कार्यक्रमको बजेट राहतमा वितरण गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter