नेपाल छिमेकी मात्र होइन, असल मित्र पनि होः प्रम देउवा; प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

Deuba-and-Modiनयाँदिल्ली, भदौ ८ गते । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको हो ।

भारत भ्रमणका क्रममा आजै दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक द्विपक्षीय भेटवार्तापछि सहमति र सम्झौतालगत्तै भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खुला सिमानाका साथै अरु कैयौँ कारणले पनि नेपाल र भारतबीच महत्वपूर्ण र ऐतिहासिक सम्बन्ध रहिआएको छ । नेपालको आर्थिक समाजिक विकासका साथै नेपाल र नेपालीप्रति भारतले सधैंँ देखाउँदै आएको ऐक्यबद्धता, सद्भाव र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा नेपालले गरेको छ ।”

प्रधानमन्त्री देउवाले नेपालको विकासमा प्रयासमा भारतको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण छ भन्दै विद्युतीय टान्समिसन लाइन, पञ्चेश्वर आयोजनाको सम्पन्नता एवम् नेपालमा सञ्चालनमा रहेका भारतीय सहयोगका आयोजनालाई समयमै सम्पन्न गर्न भारतीय पक्षबाट र विशेषगरी प्रधानमन्त्री मोदीबाट व्यक्त चासोप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

दुई देशबीचको सहयोग र सम्झौताको क्षेत्रलाई दुवै देशको तहमा थप लाभदायक बनाउन संयुक्त रुपमै भेटघाट र वार्ताजस्ता कुरालाई निरन्तर गर्ने र थप गति दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपालले नयाँ संविधानको कार्यान्वयनसँगै अब नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालमा जलस्रोत, पर्यटनलगायत कैयौँ क्षेत्रमा वैदेशिक लगानीका लागि नेपाल सरकारले आग्रह गरिरहेको र त्यसतर्फ विदेशी समुदायको आकर्षणका लागि पनि पहल गरिएको बताउनुभयो ।

उहाँले भारतसँग नेपालको खुला सिमाना रहेको र यो सिमानाको फाइदा उठाएर अरु कुनै पनि तत्वले नेपाल वा भारतलाई हानि गर्ने खालका कुनै क्रियाकलाप नगरुन् भनेर नेपाल सचेत रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले समृद्धि र आर्थिक विकासका क्षेत्रमा सफलताको उदाहरण भारतबाट नेपालले पनि सिकेर र उसको समृद्धिबाट फाइदा लिएर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । उहाँले आजै केही क्षणअघि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाको सम्पन्नताका लागि नेपालसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गर्नुभएको र त्यसलाई नेपालले जति सक्दो चाँडै सकेर पठाइने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालले नयाँ संविधानको निर्माण र यसको कार्यान्वयनसँगै नयाँ राजनीतिक अध्यायमा नेपाल प्रवेश गरेको भन्दै वर्तमान संविधानमा कतिपय विषयप्रति असन्तुष्टि राखिरहेकाले उनीहरूलाई पनि सम्बोधन गरी सबैको साझा धारणा र साझा राजनीतिक सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।

ती माग सम्बोधनका लागि हालै मात्र पनि नेपालको संसद्मा संविधान संशोधनको प्रस्ताव लगिएको र संसदीय प्रक्रियामा प्रवेश गरेको त्यो मुद्दाले पूर्णता नपाएको स्मरण गर्दै संविधानप्रति असहमति राखेका नागरिकको मागलाई सम्बोधन गर्ने गरी भविष्यमा पनि संविधान संशोधनको प्रक्रियालाई निरन्तरता दिइने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ती असहमतिका बुँदामा सहमति कायम गर्ने गरी सबैलाई आगामी निर्वाचनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भारतले भूकम्पपछिको पुनःनिर्माणका लागि देखाएको सदाशयता र सहयोगको सराहना गर्दै भारतद्वारा प्रदान गरिएको यस सहयोगको पूर्णरुपमा सदुपयोग गरिने बताउनुभयो ।

सोही पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको बृहत्तर विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, भारत सँधै समृद्ध र शान्त नेपालको पक्षमा छ र यस्तो नेपाल देख्नका लागि सहयोग र साझेदरी बढाउन भारत सधैँ तयार छ । प्रधानमन्त्री मोदीले सुरुमै नेपाली भाषामा छोटो सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डललाई स्वागत पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालका प्रधानमन्त्री मान्यवर शेरबहादुर देउवा र तपार्इँको भ्रमणमा रहनुभएका सबै जनालाई भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।” उहाँले प्रजातन्त्रको अभियान र त्यसको कार्यान्वयनका माध्यमबाट नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भनी कामना गर्दै संविधानको सफलताका साथ कार्यान्वयन गरी हालै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकेकामा नेपाललाई उहाँले विशेष बधाई दिनुभयो ।

भारत र नेपालको सम्बन्ध सामान्य नभएर विशिष्ट खालको रहेको बताउँदै उहाँले दुवै मुलुक असल छिमेकी मात्र नभएर असल मित्र पनि रहेको र एकार्काको खुसी र पीडामा पनि अनुभूति हुने खालको सम्बन्ध यी दुई देशको रहेको बताउनुभयो । नेपालमा गएको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणको काम भारत र नेपालले एकसाथ मिलेर गरिरहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुःखको बेलामा गरिएको सहकार्यले असल सम्बन्ध र छिमेकीको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

भारतले आफ्नो स्वतन्त्रताको ७० औँ वर्षगाँठ मनाइरहेको यस महत्वपूर्ण क्षणमा नेपालका प्रधानमन्त्रीको भ्रमण धेरै महत्वपूर्ण रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भारतीय सहयोगमा नेपालमा जारी रहेका आयोजनाको सफल कार्यान्वयन तथा समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको प्रतिबद्धताका लागि विशेष धन्यवाद दिनुभयो ।

अरुण आयोजनामा जमीन समस्या हल
अरुण तेस्रो जलविद्युत् आयोजनामा जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको जानकारी गराउँदै आयोजनाको शिलान्यासका लागि आफूलाई नेपाल आउन प्रधानमन्त्री देउवाले गर्नुभएको निमन्त्रणाले आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।

त्यस्तै भारत सरकारका तर्फबाट माग भइआएको पञ्चेश्वर आयोजनाको डिपिआर चाँडै नेपालले भारतलाई पठाउने जानकारी प्रधानमन्त्री देउवाले दिएको प्रति पनि उहाँले खुसी व्यक्त गर्नुभयो । नयाँ संविधान र त्यसमार्फत स्थानीय निकायको निर्वाचन गरी लोकतान्त्रिक अभियानमा व्यक्तिगत रुपमा प्रधानमन्त्री देउवा र नेपाली जनताले गरेको संघर्षको प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभयो ।

यसअघि आजै उहाँहरूबीच हैदरावाद भवनमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित हुनुहुन्थ्यो । सो भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि रहनुभएको थियो । सोही द्विपक्षीय वार्तामा भएको सहमतिबमोजिम आठ समझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस

प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट
प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।

भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

यसैगरी आजै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गर्नुभयो । उहाँहरुबचि हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter