‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

Education Minister Pokharelकाठमाडौँ, भदौ १८ गते । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।

मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्यही विश्वासलाई बलियो बनाएर राम्रो सेवा लिएर घर फर्कँदैछु ।’’

सामान्य उपचारका लागि निजी अस्पताल वा विदेशै धाउनुनपर्ने भन्दै मन्त्री पोखरेलले बाहिर जानैपर्ने भए चिकित्सकले सिफारिस गर्ने हुँदा देशभित्रैका अस्पतालमा विश्वास गर्न आग्रह गर्नुभयो ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेललाई अस्पताल भर्ना हुँदा ज्वरो, रुघाखोकी र छातीमा संक्रमणको समस्या देखिएको जानकारी दिनुभयो ।

परीक्षणका क्रममा मौसमी रुघाखोकी एच१एन१ देखिएकाले पाँच दिनको औषधि दिइएको निर्देशक बस्नेतले बताउनुभयो । उहाँलाई अझै केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । उहाँलाई पहिलेदेखि नै मधुमेह र प्रोष्टेटको समस्या छ ।

राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी ( इन्फ्लुएन्जा भाइरस ) का बिरामीको संख्या बढेको छ । इन्फ्लुएन्जा भाइरस टाइप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको अढाइ महिनाको अवधिमा १२ बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक भीम आचार्यले जानकारी दिनुभयो ।

सुरुमा यसको भाइरस सुँगरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु नभन्न चिकित्सकले आग्रह गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, खासगरी केही जटिलता भएमा भने मृत्यु हुने खतरा बढी हुन्छ ।’’

उहाँले विगतमा सुँगुरबाट एच१एन१ भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ । सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको निर्देशक आर्चायले बताउनुभयो । केही वर्षयता एच१एन१ का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको भए पनि मृत्यु हुनेको संख्या भने अहिलेसम्मकै उच्च हो ।

‘‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक छ,’’ उहाँले भन्नुभयो ।

खासगरी मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद् ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका संक्रमित देखिने गरेका छन् । क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूमपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गाैला फेल भएका, डायलासिस गरिएका, ६५ वर्षमाथि व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter