घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली

Birgunj customभीमदत्तनगर, असोज ११ गते । गतवर्ष दशँैंका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा आइपुग्नुभयो । उहाँसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो ।

कुरो गतवर्ष दशैँंमा घर फर्किन लागेका नीरबहादुरको मात्रै होइन । उहाँजस्तै सयाँैं नेपाली मजदुर गड्डाचौकी सिमानाका आई नपुग्दै लुटिइसकेका छन् । कुनै दशैँं पर्व विशेष भन्दा पनि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने नेपाली चाडपर्वका बेला घर फर्किनेबेलामा हरेकवर्ष लुटिएका धेरै घटना भए पनि न्यूनीकरणको ठोस् पहल सरकारी तवरबाट भएको छैन ।

सोमबार मात्रै उत्तराखण्डको किच्चामा पाँच नेपाली रु तीनलाख नगदसहित लुटेरा समूहबाट लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाल, भारत नेपाली, कमल नेपाली र रमेश सिँजापति नगदसहित लुटिएका हुन् । मादक पदार्थमा विभिन्न बेहोस् हुने औषधि सेवन गराएर लुटपाटका घटना भारतीय भूमिमा हुने गरेका छन् ।

लुटपाटका प्रायः घटनामा नेपालीभाषीसमेत संलग्न हुने गरेको प्रहरीको बुझाइ छ । यसपटक मात्रै दशैँं पर्व मनाउन घर फर्किरहेका नेपाली भारतको राजधानीमा रहेको आनन्दविहार बसपार्कदेखि सुरु भएको लुटिनेक्रम भीमदत्तनगरसम्म नै जारी रहेको छ । लुटेरा समूहको सिमाक्षेत्रमा बढी शिकार बन्दै आइरहेका नेपाली भारतीय प्रहरी र भन्सारकर्मीबाट समेत ठगिने गरेका छन् ।

सामानको चेकजाँचका नाउँमा मजदुरी गरेर फर्किने नेपालीबाट उनीहरुले रकम असुल्ने गरेका छन् । ‘भारतीय एसएसबीले त चेकजाँच मात्र गर्छ,’ भीमदत्तनगरका एक स्थानीयवासीले भन्नुभयो–“भारतीय कष्टमका कर्मचारी त नेपाली लुट्नकै लागि बसेका हुन् भन्दा फरक नपर्ला ।” उनीहरुले मानसिकरुपले समेत तनाव दिने गरेको उहाँले बताउनुभयो ।

चाडपर्वको खुसी परिवारसित साट्न नपाउँदै सिमानाकाबाट रित्तोहात दुखः बोकेर घर फर्किने नेपालीको पीडामा मलम लगाउन स्थानीय प्रशासनले समेत पहलकदमी चालेको देखिँदैन ।

गड्डाचौकीमा खटिएको प्रहरीले पछिल्लो समय लुटपाटका घटनामा कमी आएको दाबी गरेपनि लुटपाट भने रोकिएको छैन । ‘भारतमै नेपालीबाटै पनि कतिपय मजदुर लुटिएका छन् ।’ इलाका प्रहरी कार्यालय, गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करनसिंह धामीले भन्नुभयो–“हामीले सिमाक्षेत्रमा सवारीसाधनवाला र टाँगा चालकमाथि पनि निगरानी बढाएका छौं ।”

सिमानाकामा आवतजावत गर्ने समयमा मजदुरी गर्नेहरु लुटिनु नियती जस्तै बनेको छ । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलबीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका थिए ।

सो समूहसित रहेका गंगाराम रानाले मादक पदार्थ सेवन गराएर लुटपाट गरेको बताउनुभयो । सुदूरपश्चिम र मध्यपश्चिमका नागरिक बढी संख्यामा यो नाका भएर भारत रोजगारीका लागि जानेगरेका छन् ।

यहाँका बेरोजगार युवा कामको समयमा घर आउने र फुर्सदका बेला भारत जाने गरेको दशकौं बितिसक्यो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले सिमाक्षेत्रमा लुटपाटमा कमी आएको बताउनुभयो ।

‘हिजो पनि पाँच नेपाली सीमाभन्दा करिब ८० किलोमिटर परै भारतमा नेपालीबाटै लुटिएका हुन् ।’ उहाँले भन्नुभयो–“उनीहरुलाई नेपालीले नै चिसोमा बेहोस् हुने औषधि मिसाएर लुटेका हुन् ।” उहाँले सिमाक्षेत्रमा खटिएका भारतीय सुरक्षा निकायसित पनि लुटपाटलगायतका आपराधिक घटना हुननदिन समन्वय भइरहेको बताउनुभयो ।

त्यसैगरी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल चाडपर्वका बेला घर फर्किंदा नेपालीले स्वयं सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँले विगतको भन्दा सिमाक्षेत्रमा नेपाली लुटिने क्रममा कमी आएको बताउँदै अझै पनि विभिन्न बहानामा ठगिने क्रम न्यूनीकरण भइनसकेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter