टिएमजेमा गुराँस फँडानी तीव्र

Guransतेह्रथुम, कात्तिक १८ गते । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् । जनसंख्या बृद्धिसँगै वर्षेनी यस्ता गतिविधि बढेर गइरहेको भएपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । वन संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गर्न वाध्य छन् ।

दशैँ तिहारजस्ता चाडपर्व र जाडो महिना नजिकिएपछि इन्धनको जोहो गर्न स्थानीयवासीले दाउराका लागि धमाधम रुख काट्न थालेका छन् । खाना पकाउन र आगो ताप्नका लागि सरकारले स्थानीयवासीलाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनालको भनाइ छ । यहाँ बसोवास गर्ने सर्वसाधारणको इन्धनको मुख्य स्रोत नै गुराँसको दाउरा हो ।

टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँसै नासिने अवस्थामा पुगेको छ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ ।

तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र वनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको संगमस्थलका रुपमा समेत चिनिन्छ । यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीन वटै जिल्लाका वन कार्यालय, सरोकारवाला र स्थानीयवासीको हो । तर गुराँसे वन फँडानी भएर गुराँस नै मासिने खतरा भइरहँदासमेत तीन वटै जिल्लाका वन कार्यालयले प्रभावकारी कदम चाल्न सकेका छैनन् । तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

टिएमजे क्षेत्रलाई सरकारीस्तरबाट यी तीन वटै जिल्लाका वन कार्यालयले रेखदेख गर्ने जिम्मा पाएका भए पनि संरक्षण प्रयास प्रभावकारी हुन सकेको छैन । टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तुलगायतको संरक्षण गर्न स्थानीयस्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो ।

तर समिति पनि अहिले निष्क्रिय छ । सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो, समितिका संयोजक लक्ष्मण तिवारी भन्नुहुन्छ, “ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीयवासीलाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।” पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्यांक छ ।

तिनका लागि पकाइने खाद्यान्नका लागि इन्धनको प्रमुख स्रोत दाउरा नै हो । बाहै्र महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्नसमेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो कलर बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ । गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

समुद्री सतहबाट १७ सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका साविकका २५ वटा गाविसमा फैलिएको छ । यहाँका उच्च भागमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघुजस्ता साना ठूला बस्ती छन् । संरक्षित क्षेत्रका रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङ्नाम, सोल्मा, जिरीखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला, सभापोखरी गाउँ पर्छन् ।

यो क्षेत्रमा १८ हजार ७८३ घरधुरीका एक लाख तीन हजार ४६५ जना बस्ने गरेको जिल्ला वन कार्यालय तेह्रथुमको तथ्यांक छ । संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर छ ।

विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति पाइन्छन् । तीमध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलका रुपमा घोषणा गरेको छ । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुरलगायत जडीबुटीसमेत पाइने गरेका छन् । तर ती जडीबुटीको संरक्षण र संवद्र्धन हुन सकेको छैन । वनमा उत्पादन हुने यी जडीबुटी कसले टिप्छ ? कहिले र कता लैजान्छ ? थाहा नै नपाइने गरेको गुफाबजारका व्यवसायी खनालले बताउनुभयो ।

“वन कार्यालयले यसतर्फ ध्यान दिएका छैनन्, मूल्यवान् जडीबुटी चाहिँ कसले टिप्छ ? थाहै हुन्नँ”, उहाँले भन्नुभयो ।

अहिले यो क्षेत्रमा चिराइतोको व्यावसायिक खेतीसमेत भइरहेको छ । बाँकी जडीबुटीको व्यवसायिक खेतीको उच्च सम्भावना भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटाभन्दा बढी पोखरी छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरीलगायत पोखरी चर्चित छन् ।

टिएमजेका सिमसार र पहाडलाई मुहान बनाएर यी जिल्लाका लम्बू, पिंगुवा, खोरुङ्गा, ताङ्माया, कोया, सोबुवा, नेरुवा, मैवा, सभा, हेवा, पिलुवालगायत खोला बगिरहेका छन् । यो क्षेत्रको संरक्षण गर्न ६९ वटा सामुदायिक वन समूह क्रियाशील छन् ।

तीमध्ये ५८ वटा तेह्रथुममा, आठ वटा संखुवासभामा र तीन वटा ताप्लेजुङ जिल्लामा छन् । संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन गतवर्ष सामुदायिक वन समूह सञ्जाल गठनको प्रयास भए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter