दलका घोषणापत्र महत्वाकांक्षी

major-partiesभीष्मराज ओझा / काठमाडौँ, कात्तिक १९ गते । निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् ।

यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी १० वर्षमा पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जनाएको छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

देशको राजधानी एवं प्रमुख सहरका मुख्य सडक नै वर्षांैसम्म धुलो र हिलोमय भएर दुःख झेलिरहेका तथा छोटो दूरीका लागि पनि घण्टौँको कठिन तथा जोखिममय यात्रा गर्न बाध्य नेपालीले दलहरुका घोषणापत्रप्रति विश्वास गर्न सकेका छैन् ।

काँग्रेसले घोषणापत्रमा अबको १० वर्षमा नेपाल भनेर द्रुत र फराकिलो आर्थिक वृद्धि हासिल भई अर्थतन्त्रको आकार प्रचलित मूल्यमा रु १०० खर्बको हाराहारीमा पुग्ने र लाखौँ नयाँ रोजगारी सिर्जना हुने उल्लेख गरेको छ ।

एमाले र माओवादी केन्द्रले तयार गरेको संयुक्त निर्वाचन घोषणापत्रमा आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथमा आवश्यक गतिका रेल सञ्चालन गर्ने उल्लेख छ । वाम गठबन्धनको घोषणापत्रमा आगामी पाँच वर्षमा कर्णाली, गण्डकी र कोशी करिडोर तथा मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर उच्च क्षमताका प्रसारण लाइन जडान गरिने तथा आगामी तीन वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने उल्लेख छ ।

त्यस्तै काँग्रेसले कूल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत (वार्षिक रु एक खर्बदेखि पाँच खर्ब) बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिने तथा गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशतभन्दा कम हुने जनाएको छ ।

काँग्रेसको घोषणापत्रमा आगामी १० वर्षमा नेपालमा कुपोषण र भोकमरी निर्मूल हुने र औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १०००) जीवित जन्म) बाट घटेर एकल अंकमा सीमित हुने तथा मातृ मुत्युदर २५८ (प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० पु¥याउने उल्लेख छ ।

त्यस्तै काठमाडौँ–तराई द्रुतमार्ग चार वर्षभित्र निर्माण गर्ने, १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गर्ने, आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबिसै घण्टा पर्याप्त विद्युत् उपलब्ध गराउने एमाले र माओवादी केन्द्रले वाचा गरेका छन् ।

विसं २०४६ निरन्तर शासन सञ्चालन गरेका प्रमुख दलहरुले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसके पनि प्रत्येक निर्वाचनमा यसरी नै महत्वाकांक्षी घोषणापत्र जारी गर्ने गरेका छन् । जुन घोषणापत्र कागजमै सीमित रहने गरेका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा आगामी तीन वर्षमा काठमाडौँ उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र आठ÷छ लेनमा स्तरोन्नति गर्ने आगामी तीन वर्षमा हुलाकी राजमार्गलाई चार÷छ लेनमा स्तरोन्नति गर्ने उल्लेख छ ।

काँग्रेसले आगामी १० वर्षमा १५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन हुने, आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गरिने र नेपालको अन्तर्राष्ट्रिय छवि ‘शतप्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र’ को हुने प्रक्षेपण गरेको छ । प्रमुख पर्यटकीय नगरमा शतप्रतिशत र अन्य शहरमा बहुसंख्यक सवारीसाधन विद्युतीय हुनेछन् ।

त्यस्तै काठमाडौँ–मधेश एक्सप्रेस वे लगायत चारदेखि छ लेनका एक हजार किमीभन्दा बढी द्रु्रतमार्ग, ५०० किमीभन्दा बढी रेल्वेलाइन, ५० हजारभन्दा बढी किमी कालोपत्र सडक संजालले राष्ट्रलाई जोड्ने काँग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

काँग्रेसले प्रत्येक बर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र पचास लाख नेपालीहरुले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सृजना हुने अनुमान गरेको छ । तराई–मधेश र पहाडका १८ लाख हेक्टर भन्दा बढी खेतीयोग्य जमीन बाह्रै महिना सिंचित हुने, प्रमुख तरकारी र खाद्यान्नहरुमा नेपाल आत्मनिर्भर बनाउने काँग्रेसले वाचा गरेको छ ।

वामवठबन्धन दलहरुले आगामी १० वर्षमा नेपाललाई प्राङ्गारिक मुलुक घोषणा गर्ने, पाँच वर्षमा सम्पूर्ण सिंचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गर्ने, आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने वाचा गरेका छन् ।

त्यस्तै प्रत्येक प्रदेशका केन्द्रहरुलाई चार देखि आठ लेनका आधुनिक सडकहरुमार्फत् मुख्य राष्ट्रिय राजमार्गसँग आवद्ध गर्ने, आगामी ५ वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्व–पश्चिम औद्योगिक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गहरुका समानान्तर तीब्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गर्ने वामगठबन्धन दलको संयुक्त घोषणा पत्रमा उल्लेख छ ।

काँग्रेसले आगामी १० वर्षमा मोबाइल फोन र इन्टरनेटको पहँुँच सबै नेपाली जनतामा पुगेको हुने, १६ वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुने, नेपालको ७५ प्रतिशत भन्दा बढी जनसंख्या व्यवस्थित, सुविधा सम्पन्न, आधुनिक सहरहरुमा बसोबास गर्ने र नेपालको ४५ प्रतिशत भू–भाग वनले ढाकेको हुने प्रक्षेपण गरेको छ ।

एमाले र माओवादी केन्द्रले पनि घोषणापत्रमार्फत आगामी ५ वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, दुई वर्षभित्रमा भैरहवा र तीन वर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, दुई वर्षभित्र विद्यालय जाने उमेरका सबै बालबालिकाको विद्यालयमा भर्ना सुनिश्चित गर्ने तथा आगामी पाँच वर्षमा सबै नागरिकहरूलाई साक्षर तुल्याइने आश्वासन बाडेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter