पेट्रोलियम पाइपलाइन निर्माण कार्य तीव्र

Petroleum Pipelineदीपकप्रसाद गौतम / वीरगञ्ज, कात्तिक २० गते । करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निर्माण हुँदै गरेको भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ६९ दशमलव नौ किलोमिटरकोे पेट्रोलियम पाइपलाइनको कामले तीव्रता पाएको छ ।

बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ ।

परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइन कार्य भारतीय आयल कार्पोरेसनले तीव्र रूपमा अघि बढाएको छ । उहाँका अनुसार परियोजनाका लागि भारतले आगामी डिसेम्बरदेखि पाइपहरू वीरगञ्ज पठाउने भएको छ ।

पाइप राख्नका लागि वीरगञ्ज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना दुई लाख ३० हजार रुपियाँको दरले भाडामा लिइसकिएको उहाँले जानकारी गराउनुभयो ।

पाइपलाइनका लागि जमिनमुनि राख्ने पाइपको ब्यास १०.७५ इञ्चको हुने उहाँले बताउनुभयो । भारतमा अहिले पाइप निर्माण भइरहेको जानकारी गराउँदै पाइप निर्माण गर्ने भारतको एनएसएल कम्पनीसँग सम्झौता भएको जानकारी उहाँले दिनुभयो ।

परियोजना पूरा गर्न पथलैयादेखि परवानीपुरसम्म व्यापारिक मार्ग निर्माण भइरहेकोले निमार्ण कार्यमा खासै समस्या नभए पनि अमलेखगञ्जदेखि पथलैयाबीच जङ्गल भएकाले केही समस्या रहेको बताइएको छ भने परवानीपुरदेखि बाइपास रोड हुँदै रक्सौल नाकासम्म सडकको छेउछाउमा बिजुलीका पोल हुँदा परियोजना सम्पन्न गर्न केही चुनौती थपिएको परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर पौडेलले बताउनुभयो ।

पथलैयादेखि अमलेखगञ्जको बीचमा रहेको जङ्गलको रूख कटानीका लागि परियोजनाका इन्जिनियरले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा फाइलसमेत पठाइ सकिएको र पाइपलाइनको रूटमा पर्ने बस्ती, पसल र बिजुलीको पोल खाली गराउनसमेत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको उहाँले जनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter