नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा

Alichiनारायण तुम्बापो / फिदिम, कात्तिक २२ गते । अलैँचीको मूल्य धेरै घटेर निराश भइरहेका किसानका लागि खुसीको खबर छ । मूल्यमा समेत सुधार ल्याउन सक्ने गरी नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको बताउनुभयो । दर्तापछि सीधै अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँची निर्यातकर्ताले बेच्न पाउने छन् । यसले किसान नै निराश हुने गरी घट्दो अवस्थामा रहेको नेपाली अलैँचीको मूल्य बढाउने वरिष्ठ उपाध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष नेपालले विश्व बजारमा अलैँची पठाउनलाई भारत, पाकिस्तान र युएईमा ट्रेडमार्क दर्ता गर्नुपर्ने प्रावधान रहे अनुसार यसतर्फ पहल भइरहेको बताउनुभयो । उहाँले कृषि, वाणिज्य, उद्योग मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र व्यवसायीको सक्रियतामा ‘एभरेस्ट विग कार्डामम’ नामक नेपाली अलैँचीको ट्रेडमार्क दर्ता भइरहेको सुनाउनुभयो । यो प्रक्रिया पूरा भएपछि २०७६ सालसम्मबाट नेपाली अलैँची विश्व बजारमा आफ्नै ट्रेडमार्कका साथ बिक्री हुने विश्वास गरिएको छ ।

नेपाली ट्रेडमार्कमा विश्व बजारमा अलैँची पठाएर राम्रो मूल्य लिन किसानले पनि अब गुणस्तरीय उत्पादन, प्रशोधनमा ध्यान दिन जरुरी रहेको बताइएको छ । वर्तमानमा आफ्नै ट्रेडमार्क अभावमा नेपालको अलैँची भारत हुँदै तेस्रो मुलुकमा बिक्री हुने चलनले किसानले भने जस्तो मूल्य नपाइरहेको बताइएको छ । नेपाली अलैँची खाडी तथा युरोपमा बढी बिक्ने गर्छ । हिजोआज बिनाट्रेड मार्कको नेपाली अलैँची भारतीयले सस्तोमा लगेर आफ्नो ट्रेड मार्कमा आफ्नै देशमा फलेको फल बनाएर महँगोमा बेच्ने गरेको बताइएको छ । यसको प्रत्यक्ष मार नेपाली किसानले भोग्नु परिरहेको नेपाल अलैँची व्यवसायी पाँचथर अध्यक्ष नरेन्द्र अधिकारीले बताउनुभयो ।

अहिले नेपालका मध्यपहाडी ४० जिल्लाका चौध हजार ७०० हेक्टरमा ६ मेट्रिक टनसम्म उत्पान हुने गरी अलैँची खेती भइरहेको पाइएको छ । महँगोमा बिक्ने लोभले पाखो, खोल्सीमा मात्र रोपिने अलैँची खेती अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा विस्तार गरिरहेका छन् । यही अलैँचीको मूल्य पछिल्लो समयमा घट्न थाल्नाले भने घाटा खप्न सकिने पिरलोले सयौँ किसानमा निराशा छाउन थालेको छ । भारतीयले नेपालको गुणस्तरीय अलैँचीमा विभिन्न देशमा फल्ने सस्तो र कमसल अलैँचीसँग मिसाएर बेच्नाले पनि मूल्य घट्दो अवस्थामा रहेको बताइन्छ । नेपालको आठ सयदेखि दुई हजार १०० मिटर उचाइको मध्य पहाडी क्षेत्रमा थप बृहत्तर क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने सम्भावना औँल्याइएको छ ।

जडीबुटी तथा मसलेदार अदुवाबाली परिवारमा पर्ने अलैँची खेती विकासमा सरकारले विशेष कार्यक्रम बढाउन थालेको छ । जसअनुसार धेरै अलैँची खेती भइरहेको पाँचथर फालेलुङ गाउँपालिकाको १, २, ६ र ७ वडाका सिदिन र एक्तिनको पाँच सय हेक्टर जमिनमा अलैँची जोन कार्यक्रम सञ्चालनमा छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा सुख्खा प्रतिमन असी हजारदेखि एक लाख २० हजार रुपियाँसम्ममा बिक्री भएको अलैँचीको मूल्य हिजोआज ३० हजार रुपियाँमा झरेको छ । मूल्य घटेर सुख्खा प्रतिमन २५ हजार रुपियाँभन्दा कम थाप्ने अवस्था आए किसानलाई घाटा हुने अलैँची व्यवसायी महासङ्घ पाँचथर अध्यक्ष अधिकारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter