मंसिर १४ बाट बाघ गणना गरिने

tigerचितवन, कात्तिक २८ गते । आगामी मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो । करिब दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्बिरको अध्ययन गरेर बाघ गणना गरिने उहाँले बताउनुभयो ।

पर्सा वन्यजन्तु आरक्षबाट गणना शुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर करिब तीन महिनाको अवधिमा बाघ गणना सम्पन्न गरिने छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने महानिर्देशक खड्काले जानकारी दिनुभयो । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने छ ।

महानिर्देशक खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो बासस्थान बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताउनुभयो ।

यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ ।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि यस पटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।

यसअघि नोभेम्बर दोस्रो साताबाट बाघ गणना थालिने भनिए पनि निर्वाचनका कारण टुंगो लाग्न सकेको थिएन । सरोकारवालाको बैठकले निर्वाचनको दिनबाहेक अरु अन्य दिनमा काममा अवरोध नहुने देखिएपछि निर्वाचन अघि नै गणना शुरु गर्न लागिएको हो ।

महानिर्देशक खड्काले निर्वाचनको दिनमा पनि क्यामरा जडान गरेर निर्वाचनमा सहभागी हुन जान सकिने भएकाले गणनालाई नरोकी अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।

गणना कार्यमा विश्व वन्यजन्तु कोष, जेडएसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्जअन्तर्गतका कर्मचारी, मध्यवर्तीका संरक्षणकर्मीलगायतको सहभागिता रहने छ । गणनाका लागि रु तीन करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।

सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु¥याउने निर्णय गरेको थियो । जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ ।

क्यामेरा ट्र्यापिङ पद्धतिमार्फत बाघको संख्या यकिन गर्ने गरिन्छ । बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ । बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । त्यो क्यामेराको अगाडिबाट बाघलगायत जो गए पनि स्वचालितरुपमा फोटो खिचिन्छ ।

निश्चित समयपछि क्यामेराको फोटो झिकेर विश्लेषण गर्ने काम हुन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर संख्या अनुमान गरिने कँडेलले बताउनुभयो ।

पछिल्लो समय चोरी शिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, वासस्थान व्यवस्थापनमा भएको सुधारका कारण बाघको संख्या बढ्दै गएको अनुमान छ ।

पर्यटक, गस्तीमा जाने सुरक्षाकर्मी, अनुगमनमा जाने निकुञ्ज कर्मचारीको भनाइका आधारमा संख्या बढेको अनुमान गरिएको कँडेलले बताउनुभयो । नेपालमा चार–चार वर्षमा बाघको गणना हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter