लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रम देउवा; प्रचण्डको चितवन घोषणापत्र सार्वजनिक

Sher Bahadur Deuwaधनगढी, कात्तिक २९ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन भन्नुभयो ।

सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताउनुभयो ।

“म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै “म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस” भन्नुभयो ।

कैलाली क्षेत्र नं. १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताउनुभयो ।

एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँंग्रेसमा प्रवेश गर्नुभएको थियो ।

सभामा नेकपा एमाले र (माओवादी केन्द्र)का स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रचण्डको चितवन घोषणापत्र सार्वजनिक

माओवादी अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले चितवनको विकासका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निकै महत्वाकांक्षी घोषणापत्रमा मोनो रेल सञ्चालन, फ्लाइओभर र रिंगरोड बनाउने, रंगशाला निर्माणजस्ता योजना अघि सारिएको छ ।

भरतपुरमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनबाट प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा चितवनमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख छ । चितवनबाट काठमाडौं दुई घन्टामा पुग्ने गरी रेल या सडक राजमार्गको योजना अघि बढाउने पनि उल्लेख छ ।

मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बुँदालाई पनि महत्वका साथ राखिएको छ । त्यस्तै, भरतपुर–मेघौली सडक यातायातलाई २०-२५ मिनेटमा ओहोर–दोहोर गर्न सक्ने ढंगले स्तरोन्नति गरिने उल्लेख छ । अन्य स्थानीय सडक निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा थप तीनवटा पुल निर्माण, नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिंगरोड निर्माण, पूर्वी चितवनको कयर खोला र राप्ती नदीमा समेत तटबन्धन गरी सडक निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । भूमिको खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रूपमा वर्गीकरणको नीति लिइने घोषणापत्रमा लेखिएको छ । शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गरिने पनि जनाइएको छ । चितवनमा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क (फनपार्क) निर्माण गरिने उल्लेख छ ।

जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिनेजस्ता बुँदा समेटिएका छन् । चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने घोषणा गरिएको छ ।

निकुञ्जमा सुरुङमार्ग वा फ्लाइओभर
माडी र बाँकी चितवन जोड्ने गरी पाँच वर्षभित्र राष्ट्रिय निकुञ्जमा सुरुंगमार्ग वा फ्लाइओभर सडकमध्ये एक निर्माण गरिनेछ । साथै रिउ कोरिडोर पनि पूरा गरिने जनाइएको छ । माडीमा रिंगरोडको करिब ४० किमी सडक निर्माणको ठोस पहल गरिने उल्लेख छ । ‘जनयुद्धका क्रममा पार्टीको भुलवश भएको बाँदरमुढे दुर्घटनामा दिवंगतहरूको चिरस्मरणमा एक पार्क निर्माण गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

रोजगार योजना
उद्योग, कृषि, सेवा, यातायातलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र ५० हजार नयाँ रोजगार सिर्जना गरिने लेखिएको छ । यस्ता रोजगारमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

आवास योजना
भूमिहीन सुकुमवासीलाई पहिलो प्राथमिकताका साथ हाल बसोवास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुलताको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने घोषणा गरिएको छ ।

औद्योगिक नगरी स्थापना
औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत्, सञ्चार, आदि सुविधा पु¥याइने जनाइएको छ । देशभित्र र बाहिरका उद्योगीलाई आकर्षित गरी आगामी पाँच वर्षभित्र औद्योगिक सहर निर्माण गरिने उल्लेख छ । त्यस्तै, ठोरी नाकालाई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुक्खा पारवहनलाई नियमित गरिने पनि उल्लेख छ ।

पर्यटकीय नगरी
देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, ताल–तलैया, सामुदायिक वन, कृषि तथा जडीबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जंगल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रवद्र्धन गर्दै यातायातको व्यवस्था (प्रस्तावित रेल, सडक सञ्जाल तथा एअरपोर्ट)को उचित व्यवस्थापन गर्ने जनाइएको छ । चितवनलाई पहिलो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरिएको छ । देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गुरुयोजना तयार गरिने उल्लेख छ ।

चितवन मेडिकल राजधानी
जिल्लालाई देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने उल्लेख छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजका रूपमा निर्माण गर्ने योजना बनाइने घोषणा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter