अन्नपूर्ण पदमार्गमा पर्यटकको ‘जाम’

annapurna-base-campविश्वास रेग्मी / काठमाडौँ, कात्तिक ३० गते । बिहान सुरु भएसँगै विदेशी पदयात्री गन्तव्य छोट्याउन हतार देखिन्छन् । झिसमिसमै उकालो चढिसक्ने लक्ष्यसहित अघि बढेका स्वदेशी पदयात्रीको हतारो पनि उस्तै छ । अन्नपूर्ण आधार शिविर पुगेर जितको भावमा फर्किंदै गरेका पर्यटकमा भने यस्तो हतार केही कम देखिन्छ । चिसोबाट बच्न राखिएका बाक्ला ज्याकेटसहितको ‘ब्याग प्याक’र सहाराका लागि लठ्ठी समाएर हिँडिरहेका पर्यटकको दृश्यले अन्नपूर्ण पदमार्गको रौनक झल्काउँछ ।

खास सिजन सकिँदा पनि विश्वमै उत्कृष्ट पदमार्गका  रूपमा चर्चित अन्नपूर्ण पदमार्गमा भने पर्यटकको आकर्षण अझै उस्तै छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र सञ्चालनमा रहेका होटलहरू यतिबेला पनि भरिभराउ छन् ।

पदमार्गको साँघुरो गोरेटोमा आउने र जानेको संयोगले भेट हुँदाको दृश्य मान्छेको ‘जाम’ भएजस्तै देखिन्छ । मुख्य सिजन अक्टोबरदेखि नोभेम्बरको मध्यसम्म पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको भीड उस्तै छ । करिब तीन हप्ताको अन्नपूर्ण सर्किटबाहेक कास्कीको बीरेठाँटीबाट हप्तादिनमै सकिने अन्नपूर्ण आधार शिविरसम्म पुग्न दैनिक करिब तीन सय पर्यटक पदयात्रामा निस्कने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्क छ ।

आयोजनाको छोम्रोङस्थित जाँच चौकी तथा सूचना केन्द्रका अनुसार नोभेम्बर १० तारिखसम्म २६ हजार २६६ जना पर्यटकले आधार शिविरसम्मको पदयात्राको अनुमति लिएका छन् । गत अक्टोबर महिना मात्रै छ हजार ३६९ जना पदमार्ग हुँदै आधार शिविर पुगेका थिए । गत वर्षको अक्टोबर महिनामा यो सङ्ख्या चार हजार ४१२ थियो । पर्यटकको आगमन यस्तै रहे यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गर्ने जाँच चौकी प्रमुख नेत्र शर्मा बताउनुहुन्छ । यस वर्ष पदमार्गमा पर्यटकको भीड नै लागेको छ, उहाँले भन्नुभयो, दैनिक करिब तीन सय पर्यटकले प्रवेश गरिरहेका छन् । tourist

पदयात्रीको चाप बढेसँगै बासस्थानका लागि पनि समस्या बढिरहेको होटल व्यवसायीको भनाइ छ । संरक्षित क्षेत्रभित्र सञ्चालनमा रहेका करिब दुई दर्जन होटल नोभेम्बर महिनामा पनि भरिभराउ हुन पुगेको उनीहरूको भनाइ छ । कोठा नपुगेर डाइनिङ(खाना खाने ठाउँ) समेत भरिएको हुन्छ, छोम्रोङ्मा होटल सञ्चालन गर्दै आउनुभएका राजकुमार गुरुङले भन्नुभयो, बुकिङ नगरी आउने पर्यटक बस्न नपाएर समस्यामा पनि परेका छन् । यस वर्ष अन्नपूर्ण पदमार्गमा दक्षिण कोरिया र चीनका पर्यटकको बढी आकर्षण रह्यो । खास सिजनमै दक्षिण कोरिया र चीनमा पनि सार्वजनिक बिदा पर्दा ती देशका पर्यटक पदयात्राका लागि यहाँ आएको शर्माले जानकारी दिनुभयो । जाँच चौकीका अनुसार छोम्रोङ हुँदै अहिलेसम्म दुई हजार ३७७ जना दक्षिण कोरियाली पर्यटक र दुई हजार १८० जना चिनियाँ पर्यटकले पदयात्राको अनुमति लिएका छन् । त्यसपछि बेलायतका पर्यटक रहेका छन् ।

बढ्दैछन् नेपाली पदयात्री

अन्नपूर्ण पदमार्ग हुँदै आधार शिविरसम्म जाने नेपाली पर्यटकको सङ्ख्या पनि बढ्दो छ । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने पदमार्गमा यस वर्ष नेपालका आन्तरिक पर्यटकको पनि व्यापक आकर्षण देखिएको केन्द्र प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ महिनामा मात्रै ११६ जना नेपाली आधार शिविर पुगेका छन् । जसमध्ये ४० जना महिला रहेका छन् । त्यस्तै असोजमा एक हजार ६८ जना आन्तरिक पर्यटक अन्नपूर्ण पदमार्ग पुगेका छन् । कात्तिक २५ गतेसम्म ४२७ जना नेपाली आधार शिविरका लागि गएको तथ्याङ्कले देखाउँछ ।

पदमार्गमा सडकको सास्ती

अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गको प्रवेश बिन्दुका रूपमा रहेको कास्कीको बीरेठाँटीबाट संरक्षण क्षेत्र सुरु हुन्छ तर बीरेठाँटीबाट पनि सेवईसम्म अहिले नियमित यातायात सञ्चालनमा छ । यातायात सञ्चालनमा आए पनि करिब एक दिनको पदयात्रासमेत छोटिएको छ । यातायात सञ्चालनमा आए पनि सोही सडक हुँदै पदयात्रा गर्न बाध्य पर्यटकका लागि सास्ती पनि थपिएको छ । कच्ची सडकमा गुड्ने सवारीका कारण धुलो धुवाँको असर खेप्न पर्यटक बाध्य छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter