‘पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा’; निर्वाचन विरोधी गतिविधिमा संलग्न सय बढी पक्राउ

Election Commissionकिरण भट्टराई / काठमाडौँ, मंसिर २ गते । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले राससलाई जानकारी दिनुभयो ।

पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी तीन तहको निर्वाचन सुरक्षा योजना बनेको छ, प्रवक्ता दुवाडीले भन्नुभयो, “निर्वाचनपूर्व खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्थालगायतका निर्वाचन पूर्व तयारीका काम लगभग सकिएको छ ।”

उहाँका अनुसार पहिलो चरणमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो । नेपाली सेनालाई भने आवश्यकताअनुसार परिचालन गरिनेछ ।

यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा पहिलो चरणमा २३ हजार ५०० म्यादी प्रहरी खटिने छन् ।

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने छ ।

मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको प्रवक्ता दुवाडीले बताउनुभयो । सामान्य मतदानस्थलमा प्रहरी र म्यादी प्रहरी गरेर आठ जना, संवेदनशील मतदान केन्द्रमा ११ र अतिसंवेदनशील मतदान केन्द्रमा १५ जनाका दरले प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।

केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा योजना र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनेको छ । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् ।

खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्नेतर्फ ध्यान दिँदै भारत र चीनतर्फका सीमामा सुरक्षाजाँचमा कडाइ गरिएको छ । आवश्यकताअनुसार विभिन्न नाकामा तालीम प्राप्त कुकुरको समेत परिचालन गरिएको छ ।

निर्वाचनमा सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गर्न मतदानको केही दिनअघिदेखिनै विभिन्न स्थानमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिनेछ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न सय बढी पक्राउ

प्रवक्ता दुवाडीले निर्वाचन विरोधी गतिविधिमा संलग्न १०० भन्दा बढी व्यक्तिलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अधिकांश निर्वाचन बहिस्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेका छन् ।

पछिल्लो समय निर्वाचन विरोधी समूहले रोल्पामा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र)का रोल्पा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभा उम्मेदवार कुलप्रसाद केसी, भोजपुरमा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राई, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ, नुवाकोटमा काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा रामशरण महत र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका उम्मेदवामाथि आक्रमण गरेको छ ।

प्रवक्ता दुवाडीले निर्वाचन विरोधी समूहले केही स्थानमा लुकिछिपी आक्रमणका घटना घटाए पनि त्यसलाई नियन्त्रण गर्नका लागि मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो चाहना घटना हुनै नदिनु हो, घटना भइहालेमा तत्काल सुरक्षा निकाय त्यहाँ पुगी राहत तथा उद्धारमा लाग्न तथा दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छौँ ।”

उहाँले जनताको मतदानको अधिकारलाई कुनै पनि नाममा अवरोध र हस्तक्षेप गर्ने कार्य मन्त्रालयलाई मान्य नहुने स्पष्ट पार्नुभयो । उहाँले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको भन्दै ढुक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी
सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

उहाँले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुं्गो लगाउने बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ ।

नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ । प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था कानूनमा राखिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter