सुर्खेतमा सबैको एजेण्डा विकास र समृद्धि

surkhet_districtसुर्खेत, मंसिर ३ गते । संघ र प्रदेशको चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैला–दैलामा पुगेका देखिन्छन् ।

विभिन्न समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् । प्रदेश नं ६ को राजधानी सुर्खेत हुने भएकाले पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । फोरलेन सडक र हटलेन सडक निर्माण, भेरीको पानी पम्पिङ गरेर ल्याउने योजना, चक्रपथ निर्माण र काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना भने पुरानै हुन् । सुर्खेतका सबै उम्मेदवारले समृद्धिको योजना अघि सारेका छन् । जनतालाई सुनाउने र भाषणमा बोल्ने सबै एजेण्डा विकास, समृद्धि र परिवर्तनसँग सम्बन्धित छन् ।

प्रतिनिधिसभा सुर्खेत क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले समृद्ध सुर्खेत बनाउनका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभयो । “गुणस्तरीय, सन्तुलित र न्यायिक विकास, ५ वर्षभित्र जिल्लाका सबै वडामा सडक पु¥याउनाका साथै सञ्चार सेवासुविधा पु¥याउने संकल्प लिएको छु”, उहाँले भन्नुभयो । खड्काले गाउँको बाटाघाटा पिच गर्न, गाउँमा सुविधायुक्त अस्पताल निर्माण, विद्यालयका भौतिक पूर्वाधारदेखि शैक्षिक अवस्था सुधार गर्दै गाउँमै उच्च शिक्षा प्राप्त गर्नका लागि काँग्रेसलाइ रोज्न आग्रह गर्नुभयो ।

सिंहदरबारको अधिकार गाउँमा ल्याएर प्रादेशिक संरचनामार्फत जनताको अधिकार संरक्षण गर्न नेपाली काँग्रेसले मात्र सक्ने उहाँको दाबी छ ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं २ बाट उम्मेदवार दिएका नवराज रावतले पनि समृद्ध सुर्खेतकै नारा लिएर मतदातासँग मत मागिरहनु भएको छ । जिल्लामा सडक निर्माण नै प्रमुख एजेण्डा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ चक्रपथ निर्माण, विमानस्थल व्यवस्थित बनाउनाका साथै खानेपानीको सुविधा पु¥याउनेछु ।”

काँग्रेस, वाम गठवन्धन, राप्रपा नेपाल तथा विवेकशील साझा पार्टीले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सुर्खेत–नेपालगञ्ज टू लेन सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक हब सेन्टर बनाउने विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

यसअघिका निर्वाचनमा सुर्खेतका दलित जनजातिका मतहरु निर्णायक हुने गरेको थियो । सुर्खेतका झण्डै दुई लाख मतदातामध्ये करिब ४० प्रतिशतभन्दा बढी दलित र जनजाति छन् । यस्तै २० प्रतिशतभन्दा बढी भूमिहीन, सुकुम्वासी र बाढीपीडित छन् । २०७१ सालको बाढीपहिरोबाट सुर्खेतमा करिब एक हजार ४०० भन्दा बढी विस्थापित भएका छन् । तर यसपटक निर्णायक मत विस्थापितको हुने राजनीतिक दलहरुले आँकडा गरेका छन् । स्थानीय तहको निर्वाचनमै विस्थापितले आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिएका थिए । सुर्खेतका राजनीतिक दलहरुले पुनर्वास गराउने प्रतिबद्धता जनाएका थिए । तर पनि बाढीपीडित व्यवस्थापन हुन सकेको छैन, अझै पनि उनीहरु त्रिपालमुनि बस्न बाध्य छन् । बजेट पनि विनियोजित भयो, विस्थापितको समस्या समधान नभई बजेट त्यतिकै फ्रिज भयो । तरपनि राजनीतिक दलहरु फेरि यिनीहरुका एजेण्डालाई लिएरै चुनावमा होमिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter