अलैँचीको उत्पादन बढाउन नयाँ बिरूवा

Alichiचन्द्र पन्दाक / ताप्लेजुङ, पुस १५ गते । नगदेबाली अलैँचीको उत्पादन बढाउनलाई प्रत्येक दस वर्षमा नयाँ बिरुवा रोप्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । ताप्लेजुङमा आयोजित एक कार्यक्रममा दस वर्षभन्दा पुरानो अलैँची बगानबाट उत्पादनमा ह्रास आइरहेको भन्दै उत्पादन बढाउनलाई प्रत्येक दस वर्षभित्र बगानमा नयाँ अलैँचीका बिरुवा लगाउन विज्ञले सुझाव दिएका हुन् ।

अलैँचीको क्षेत्रमा अध्ययन गर्दै आएका जानकार तथा कृषि विज्ञले बगान पुराना हुँदै गएपछि उत्पादन घट्दै गएको पाइएकाले कम्तीमा १० वर्षभित्र नयाँ बिरुवा रोप्दा उत्पादनमा कुनै कमी नआउने सुझाव दिएका हुन् । अलैँचीको क्षेत्रमा काम गर्दै आउनुभएका हरिश्चन्द्र चिलवालले १० वर्ष पुरानो अलैँची बगानबाट त्यसपछिका वर्षमा प्रत्येक वर्ष उत्पादनमा ह्रास आउने गरेको अध्ययनले देखाएको बताउनुभयो । उहाँका अनुसार अलैँची बगानले उत्पादन थालेको पहिलो वर्ष प्रतिरोपनी औसतमा २५ किलोग्रामका दरले उत्पादन हुने गरेकोमा दस वर्षपछि सोही बगानको उत्पादन प्रतिरोपनी १० देखि १५ किलोग्राममा झर्ने गरेको छ । उहाँले ताप्लेजुङका दुई सय ८८ अलैँची किसानमा गरिएको अध्ययनबाट यस्तो तथ्य फेला परेको जानकारी दिनुभयो । प्रत्येक १० वर्षमा बगानमा अलैँचीका नयाँ बिरुवा लगाउनका साथै बगानमा भएका रुखसमेत नयाँ लगाएमा उत्पादनमा वृद्धि हुने अध्ययनको निष्कर्ष रहेको उहाँले बताउनुभयो । अलैँची किसानले परम्परागत खेती पद्धति कायम राख्दा साथै पुरानो अलैँची बगान भएकाले उत्पादन लिन नसकिरहेका उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेका अनुसार दस वर्षभन्दा पुरानो अलैँची बगानको तुलनामा नयाँ बगानबाट प्रतिहेक्टर औसतमा शून्य दशमलव आठ मेट्रिकटनसम्म उत्पादनमा प्रभाव पर्ने गरेको छ । घिमिरेले दस वर्ष भन्दा पुरानो अलैँची बगानबाट सरदर ०.६ मेट्रिकटन प्रतिहेक्टर मात्र उत्पादन हुने गर्छ भने नयाँ बगानबाट १.४० मेट्रिकटन प्रतिहेक्टरसम्म उत्पादन हुने गरेको बताउनुभयो ।

उहाँले ताप्लेजुङको माटोमा ८६ प्रतिशतसम्म अम्लीयपन भएको माटो रहेको बताउँदै अलै्ँची खेतीका लागि सुहाउँदिलो माटो छनोट गर्नसमेत किसानलाई सल्लाह दिनुभएको छ । उहाँले अलैँचीका नयाँ बिरुवा रोप्नका अलवा बगानमा रहने रुख समेत नयाँ भएमा उत्पादन क्षमतामा वृद्धि हुने अनुसन्धानले देखाएको जानकारी दिनुभयो । वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले सेपिलो भन्दा पारिलो क्षेत्रमै अलैँची उत्पादन बढी हुने गरेको पाइएको पनि बताउनुभयो ।

उहाँले हाल जैविक तथा प्राङ्गारिक मलको बढ्दो प्रयोगले अलैँचीको उत्पादनमा वृद्धि हुने गरेको जानकारी दिनुभयो । अलैँची खेतीमा जैविक मलको प्रयोग बढाउन अहिले भकारो तथा गोठ सुधार कार्यक्रममार्फत झोल मलको प्रयोग, गड्यौला मल र अलैँची बगानभित्र कोसेबालीहरू सिमी, केराउ, बन्दा र किबी खेती समेत गर्न सकिने भएको उहाँको भनाइ छ । यस्तो खेती प्रणाली अपनाएमा किसानले दोहोरो आम्दानी लिन सक्ने साथै अलैँचीको उत्पादन बढाउन सकिने बताउनुभयो ।

जिल्लाको कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीको खेती हुँदै कृषि विकास कार्यालयले जनाएको छ । यसरी सरकारी क्षेत्रले गरेको आँकडा अनुसार चार हजार ५०० हेक्टर भए पनि गैरसरकारी संस्थाहरूले भने यसको दोब्बर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको जनाएका छन् । पछिल्लो वर्ष अलैँचीको मूल्यमा गिरावट आए पनि प्रमुख नगदेबाली भएकाले यसको गुणस्तर सुधार तथा उत्पादन वृद्धि गर्नमा किसानको सक्रियता रहिरहनुपर्नेमा जोड दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter