‘लप्सी जिल्ला’मा लप्सी प्रशोधन

lapsiगणेश पौडेल / पर्वत, पुस ३० गते । लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्षको लप्सी प्रशोधन गर्न सुरु भएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका विभिन्न तीन स्थानमा सञ्चालित प्रशोधन उद्योगमा उत्पादन सुरु भएको हो । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योग, झाँक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योग दुर्लुङ र लप्सी विकास समूह खानीगाउँमा रहेका तीनवटा उद्योगले यसै सातादेखि प्रशोधन थालेका हुन् । धान कोदोजस्ता मुख्य खाद्यान्न बाली थन्क्याउनुका साथै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनसमेत सकेर प्रशोधन सुरु भएको हो ।

गत वर्ष पर्वतमा झन्डै ६० टन लप्सी प्रशोधन गरिएकोमा यस वर्ष एक सय टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा कुल १३० मेट्रिकटन लप्सी उत्पादन भए पनि अझै ३० मेट्रिकटन लप्सी प्रशोधन हुन सकेको छैन ।

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको हो पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले गुनासो गरे ।

दुई वर्ष पहिले उत्पादित लप्सीका दस लाख बराबरका परिकार अमेरिका पठाइएको भए पनि गत वर्ष भने स्वदेशमै खपत भएको थियो । लप्सीबाट माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायतका परिकार बन्दै आएका छन्

एक गाउँ एक उत्पादनअन्तर्गत नेपाल सरकारबाट लप्सी प्रशोधनसम्बन्धी आधुनिक मेसिन भित्रिएपछि यस वर्ष विगतभन्दा धेरै मात्रामा प्रशोधन गर्ने लक्ष्य लिइएको हो । पर्वतमा १५ वर्षदेखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्रै यस वर्ष ५० मेट्रिक टन प्रशोधन गर्ने लक्ष्य राखिएको छ भने झाँक्री सल्ला र लप्सी विकास समूह खानीगाउँले पनि २०÷२० टन उत्पादन गर्ने योजनाका साथ लागेको जनाएका छन् ।

लप्सी प्रशोधनबाट यस वर्ष झन्डै एक करोडको कारोबार गर्ने तिनवटै उद्योग सञ्चालकहरूको अपेक्षा रहेको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्र विगतका वर्षमा २० लाखभन्दा बढीको कारोबार गर्र्दै आएकोमा यस वर्ष आधुनिक मेसिन भएकाले प्रशोधनको मात्रा पनि बढ्ने र कारोबारसमेत बढ्ने सञ्चालन थानेश्वर भुसालले जानकारी दिनु भयो ।

एक जिल्ला एक उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको छ । जिल्लाका साविकका ३५ गाविसमा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको छ । लप्सी प्रशोधनमा जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले समेत सघाउ पु¥याउँदै आएका छन् ।

कृषि उद्यमी तथा नेपाली काँग्रेसका पूर्वमुख्यसचिव ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया सुरु गर्नुभएको थियो । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका करिब तीन दर्जन गाविसमा यसको व्यावसायिक खेतीसमेत सुरु भएको छ ।

पर्वतमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानीलगायतको प्रशोधनसमेत हुँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter