बहु व्यवसायमा सफलता; चिया बेचेर मासिक पचास हजार आम्दानी

Tea Loungeनेत्र शाही / खलङ्गा, माघ २२ गते । जुम्ला चन्दननाथ नगरपालिका–३ का किसान रामकृष्ण बुढ्थापा एकाबिहानै घरवरिपरि राखिएका मौरीका घारको निरीक्षणमा लाग्नुहुन्छ । हेर्दा कपाल फुलेका बुढ्थापा मौरीपालन मात्र होइन जुम्ला सदरमुकामदेखि पाँच किलोमिटर उत्तर रडिखेल्लामा बहु व्यवसाय गर्न सफल हुनुभएको छ ।

उहाँले स्याउ, ओखर, जडीबुटी उत्पादन र स्थानीयस्तरमा पाइने कुटु, देवदार, सल्लाको प्रशोधन तथा मौरीपालनबाट आम्दानी गर्दै आउनुभएको छ ।

जुम्ला खोलिकोट गाउँमा रहेको मुख्य घरबाट चार किलोमिटर टाढा रडिखेल्लामा उहाँले बसोबास थालेर ७१ वर्षीय ज्येष्ठ नागरिक किसान बुढ्थापाले बहु व्यवसायमा सफलता हासिल गर्नुभएको छ ।

उहाँ २०५४ सालामा आफूसँग भएको एक घार मौरी र एक घार जिल्ला कृषि विकास कार्यालयबाट पाएको मौरीले अहिले १३५ घार बनाउन सफल हुनुभएको छ । मौरीबाटै पाँच वर्षदेखि वार्षिक दुई लाखदेखि पाँच लाख रुपियाँ आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।

यसैगरी उहाँले जडीबुटी प्रशोधनबाट मनग्ये आम्दानी थाल्नुभएको छ । १० हजार वर्गमिटरको बगैँचामा पाँचऔँले, चिराइतो, सुगन्धवाल, कटुको, अत्तिस, चिनी तुल्सी, रोजमरीलगायतका २५ प्रकारका जडीबुटी उत्पादन गर्नुका साथै स्थानीय कच्चा पदार्थबाट उत्पादित देवदार, सल्ला, ठिगोको कच्चा पदार्थ खरिद गरी प्रशोधन गरिरहनुभएको छ ।

बुढ्थापाले जडीबुटी र तेलबाट वार्षिक १५ देखि २० लाख आम्दानी भएको बताउनुभयो । यसैगरी स्याउको रुख भने पुरानो भएकाले करिब एक लाखको मात्रै आम्दानी हुने उहाँले बताउनुभयो ।

उहाँले यस वर्षदेखि माछापालन समेत सुरु गर्नुभएको छ । उहाँले आफ्नो बगैँचाको छेउमा बगिरहेको सानो पानीलाई बहुद्देश्यीय काममा लगानी गर्नुभएको छ । पानी जम्मा गरेको स्थानमा माछापालन, त्यहाँबाट आएको पानीबाट बहुद्देश्यीय घट्ट र त्यही पानीबाट एक किलोवाटको बत्तीसमेत निकालेर उज्यालो दिन सफल हुनुभएको छ ।

आफू गाउँबाट रडिखेल्लामा सर्दा तीन सय वर्ग मिटरको जग्गा अहिले १० हजार वर्ग मिटरमा फैलाउन सफल भएकोमा बुढ्थापा खुसी व्यक्त गर्नुहुन्छ । यही व्यवसायबाट दुई जना बाहिर र पाँच जना आफ्नै परिवारका सदस्यसमेत रोजगार छन् । कामदारलाई नौ हजारदेखि १४ हजार रुपियाँ मासिक तलब दिने गरेको उहाँले बताउनुभयो ।

स्रोत केन्द्रका रूपमा बगैँचा

बुड्थापाको बगैँचा अहिले सिकारु विद्यार्थीका लागि समेत स्रोत केन्द्रका रूपमा स्थापित भएको छ । यहाँ कर्णाली प्राविधिक शिक्षालयबाट विद्यार्थीहरू ओजेटी गर्न आउनुका साथै जिल्ला वन कार्यालय, जिल्ला वनस्पति कार्यालय, जिल्ला कृषि विकास कार्यालयदेखि विभिन्न विज्ञहरू र सरोकारवालाहरूले अवलोकन गर्ने गरेको बताउनुभयो ।

कर्णालीमा विश्व विद्यालय आवश्यक

जडीबुटीको खानी कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रसहित त्यसको अध्ययन गर्ने विश्वविद्यालय आवश्यक रहेको उहाँले बताउनुभयो । स्रोतको खानी हुँदा पनि अहिलेसम्म जडीबुटी र फलफूलमा ठोस लगानी हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बुढ्थापाको व्यवसायप्रति सरोकारवाला कार्यालयहरू निक्कै उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले उहाँ मौरीपालन व्यवसायदेखि जडीबुटी, स्याउमा नमुना किसान भएको र उहाँको सीप अझै अरूले सिक्नुपर्ने बताउनुभयो ।

चिया बेचेर मासिक पचास हजार आम्दानी

यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ ।

दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्नुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउनुभएको छ ।

उहाँले रु १० को दरले चिया बेच्दै आउनुभएको छ । चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्नुहुन्छ ।

बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter