पर्यटन क्षेत्रमा पूर्वाधार बन्दै

Radisson Hotelकाठमाडौँ, फागुन ६ गते । लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत सो क्षेत्रमा आकर्षित भएका हुन् ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने निजी व्यवसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्न सहज कार्यविघि कार्यान्वयनमा ल्याएपछि आर्कषणको मात्रा बढेको हो ।

पछिल्लो पटक टाइगर प्यालेस रिसोर्ट भैरहवा (पाँच तारे), होटल इच्छा बारा (चार तारे), कृष्णा होटल नेपालगञ्ज (चार तारे) होटल सञ्चालनमा आइसकेका छन् ।

यस्तै राजधानीकै नक्सालमा जे डब्ल्यू म्यारियट र ठमेलमा समेत नयाँ होटल खुल्ने तयारीमा रहेको छ । यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटल शेराटन निर्माणाधीन अवस्थामा छ । पर्यटकको आगमन र रोजगारीको अवसर वृद्धिका लागि नयाँ÷नयाँ होटल सञ्चालनमा आउनु नेपालको पर्यटन बजारका लागि सुखद देखिन्छ ।

विदेशमा सञ्चालनमा रहेका र नेपालमा समेत शाखा खोल्ने लक्ष्यका साथ विदेशी होटल सेवा प्रदायक समेत पछिल्लो दिनमा आर्कषित भएका छन् । अन्तर्राष्ट्रिय ‘चेन होटल’ को रुपमा त्यस्ता संस्था वा निकायले नेपालमा एक दर्जनको हाराहारीमा आफ्ना शाखा विस्तार गरेका छन् ।

त्यस्ता होटलको सम्पूर्ण व्यवस्थापनको दायित्व समेत नेपालीलाई नै दिइएको छ । रोजगारीको अवसर तथा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन समेत त्यस्ता चेन होटल सहायक सिद्ध हुने होटल एशोसियशन अफ नेपाल(हान)का महासचिव विनायक शाह बताउनुहुन्छ ।

लगानीमैत्री वातावरणका कारण होटलमा लगानी गर्ने वातावरण बढ्दै गएको भन्दै महासचिव शाहले आगामी केही वर्षभित्रै नेपाल संसारका आर्कषक गन्तव्यका रुपमा परिचित दाबी गर्नुभयो ।

हाल सञ्चालनमा रहेका होटलमा ४५ हजार श्यया संख्या पुगेको छ । आगामी तीन वर्षभित्र थप चार हजार श्यया थपिनेछन् । सो संख्या थपिएपछि करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिने हानका महासचिव शाहको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा समेत सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समीक्षा अवधिमा कूल सेवा आयमा ११.७ प्रतिशत र कूल सेवा खर्च १९.८ प्रतिशतले बढेको देखिन्छ । पछिल्लो समय लगानीको मात्रामा समेत वृद्धि भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले पनि पछिल्लो दिनमा होटल तथा सेवा क्षेत्रमा लगानी बढाएका छन् । घर जग्गा क्षेत्रमा मात्रै लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाको लगानीको क्षेत्रमा होटल पर्न थालेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकको निर्देशनअनुसार पर्यटन क्षेत्रमा पाँच प्रतिशत लगानी गर्नैपर्ने भएकाले विशेष जोड दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “केन्द्रीय बैंकले ५ प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरे पनि त्यसअनुसार लगानी पुग्न सकेको छैन । हाल तीन प्रतिशत मात्रै रहेको छ । आगामी वर्ष भने तोकिए बमोजिम नै पुग्छन्, हामी प्रयारत छौं ।” केन्द्रीय बैंकले तोकेअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच खर्ब ५० अर्ब लगानी गर्नुपर्ने देखिन्छ । बैंकले तत्काल नै उक्त परिमाण बराबरको लगानी भने गर्नसक्ने अवस्था भने छैन ।

नयाँ होटल निर्माण, पुरानाको स्तर वृद्धि जस्ता काममा उक्त ऋण प्रवाह भएको छ । चालु आवमा होटल क्षेत्रमा लगानी १५ प्रतिशतले बढेको व्यवसायीको भनाइ छ ।
होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा पनि उत्तिकै रहेकाले सरकार, व्यवसायी तथा सरोकार भएका पक्षले विशेष ध्यान दिनुपर्ने होटल व्यवसायी योगेन्द्र शाक्यको भनाइ छ । होटल बढाएर मात्रै नभई नेपाली मौलिक स्वादसमेत पर्यटकका लागि उपलब्ध गराउनुपर्ने अवस्था पनि होटल क्षेत्रका लागि चुनौती बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्ड, हानलगायतका संस्थाको अग्रसरतामा २० नेपाली मौलिक परिकारलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान समेत शुरु गरिएको छ ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले यसको संयोजन गरिरहनु भएको छ । नेपाली परिकारलाई विश्वव्यापी बनाएर पर्यटक आर्कषण गर्ने योजनाअनुसार नै त्यस्तो अभियान शुरु गरिएको व्यवसायी शाक्यको भनाइ छ । पर्यटन विभाग, होटल शाखाका अधिकृत गौतम रिमालकाअनुसार पछिल्लो दिनमा कार्यान्वयनमा ल्याइएको कार्यविधिअनुसार होटल क्षेत्रमा लगानीको मात्रा तथा गुणस्तर कायम गर्नुपर्ने चेतनाको विकास समेत भएको छ ।

उहाँले होटलमा लगानी गर्न चाहने बढ्दै गएको र विभागमा समेत जानकारी लिन आउनेको संख्यामा बढोत्तरी भएको बताउनुभयो । तारे र पर्यटकीय होटलको अनुमति विभागले दिने गरेको छ भने अन्य होटल स्थानीय प्रशासन तथा साना तथा घरेलु विभाग, महानगरपालिका तथा नगरपालिकामा दर्ता गर्न सकिने व्यवस्था छ ।

विभागकाअनुसार हाल ११ पाँचतारे, सात चारतारे, ३७ तीनतारे, ५० दुईतारे र ३७ एकतारे होटल सञ्चालनमा छन् । यस्तै पर्यटकस्तरका ४८७ होटल सञ्चालनमा छन् । दुईतारे र एकतारे होटल विभागका शाखा कार्यालयमा समेत दर्ता हुने हुँदा यो संख्या अझ बढी हुने रिमालको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter