दुई करोड सिमकार्डमा चल्दैन इन्टरनेट

Sim Cardविश्वास रेग्मी / काठमाडौं, फागुन ७ गते । दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म विक्री गरेका सिमकार्डमध्ये करिब दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग भएको देखिँदैन । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म सेवा प्रदायकले तीन करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री गरेका छन् ।

यो सङ्ख्या सीडीएमए मोबाइलमा प्रयोग हुने सिमकार्ड समेतको हो । तर बिक्री भएका सिमकार्डमध्ये मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या भने केवल एक करोड ५९ लाख ९५ हजार मात्रै रहेको प्राधिकरणकै तथ्याङ्क छ । यस हिसाबले बिक्री भएका सिमकार्ड र इन्टरनेट प्रयोग भएको सिमकार्डको अन्तर एक करोड ९९ लाख १६ हजार रहेको देखिन्छ ।

नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमा इन्टरनेट सुविधा उपलब्ध गराइ रहेका छन् । यी तिनै कम्पनीले पछिल्लो पुस्ताको फोरजी इन्टरनेट सेवा पनि सुरु गरि सकेका छन् । तथ्याङ्क अनुसार टेलिकमले जीएसएम र सीडीएमए गरी मङ्सिरसम्म एक करोड ७७ लाख ५४ हजार सिमकार्ड बिक्री गरि सकेको छ । त्यसमध्ये ८५ लाख ८३ हजार व्यक्तिले मात्र टेलिकमको सिमकार्डबाट इन्टरनेट प्रयोग गर्छन् ।

त्यस्तै एनसेलका एक करोड ६४ लाख ३३ हजार बिक्री भएका सिमकार्डमध्ये ७१ लाख ६४ हजार सिमकार्डबाट इन्टरनेट प्रयोग भएको छ । स्मार्ट टेलिकमले बिक्री गरेका १७ लाख २३ हजार सिमकार्डमध्य दुई लाख ४७ हजारले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् ।

नेपाल टेलिकम र स्मार्ट टेलिकमले अहिलेसम्म काठमाडौं उपत्यका र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराइ रहेका छन् । एनसेलले भने डेढ दर्जनभन्दा बढी सहरमा फोरजी विस्तार गरिसकेको छ । यी तीनै कम्पनी मोबाइल इन्टरनेट प्रयोगकर्तामा अधिकांशले तेस्रो पुस्ताको थ्रीजी डेटा प्रयोग गरिरहेको छ । यद्यपि कम्पनीहरुले फोरजी विस्तारलाई प्राथमिकतामा राखिरहेको जनाएका छन् । नेपाल टेलिकम देशैभर एकैपटक फोरजी विस्तार गर्ने लक्ष्यसहित एलटीई नेटवर्क विस्तारका लागि आह्वान गरिएको बोलपत्रको मूल्याङ्कनको क्रममा छ ।

एनसेलले सन् २०१८ भित्र देशका ४० सहरमा फोरजी विस्तार गर्ने योजना बनाएर काम अघि बढाइरहेको छ । स्मार्ट टेलिकमले बीटीएस टावर स्थापना गर्दै फोरजी इन्टरनेट विस्तारको रणनीतिमा छ । यी तीन कम्पनीबाहेक वायरलेस, केबल मोडम, अप्टिकल फाइबर, वाइम्याक्स इभिडिओजस्ता प्रविधिबाट नेपालमा इन्टरनेट प्रयोग भइरहेको छ । प्राधिकरणका अनुसार मोबाइलसहित अहिलेसम्म जनसङ्ख्याको ६३.१७ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् ।

सेवा प्रदायकले सिम बिक्रीका आधारमा आफ्नो ग्राहक विस्तार सहितको तथ्याङ्क प्रत्येक महिना प्राधिकरणलाई उपलब्ध गराउँछन् । यसैलाई दूरसञ्चार क्षेत्रमा रहेको पहुँच मान्ने गरिन्छ । सेवा प्रदायकले उपलब्ध गराउने तथ्याङ्कमा निस्क्रिय सिमकार्डको समेत गणना हुने भएकोले दूरसञ्चारको पहुँच नेपालको जनसङ्ख्याभन्दा बढी देखिएको प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो । ‘६ महिनाभन्दा बढी समय प्रयोग नभएका सिमकार्डलाई निष्क्रिय गर्नुपर्ने निर्देशन प्राधिकरणले सेवा प्रदायकलाई दिसकेको छ’ उहाँले भन्नुभयो ‘यद्यपि अहिलेसम्म सेवाप्रदायकले अहिलेसम्मकै ‘सब्सक्रिप्सन’लाई समेत गणना गरेर तथ्याङ्क उपलब्ध गराइरहेका छन्’ । प्राधिकरणका अनुसार नेपालमा दूरसञ्चारको पहुँच जनसङ्ख्याभन्दा बढी अर्थात १४१.८३ प्रतिशत पुगिसकेको छ । यसमध्ये मोबाइलमा मात्रै १३५.५५ प्रतिशत जनता पहुँचमा रहेको तथ्याङ्क छ । प्राधिकरण आफै भने नेपालमा दूरसञ्चारको सक्रिय पहुँच ७० प्रतिशत मात्रै रहेको जनाउँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter