मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी

melamchiकाठमाडौँ, चैत २७ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्रीलगायत विशिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिनेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको हो ।

खानेपानी मन्त्री बिना मगरले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौँवासीको मेलम्ची सपना पूरा हुने क्रममा रहेको बताउनुभयो ।

मेलम्ची आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि काठमाडौँवासीले पानी पाउन अझै छ महिना प्रतिक्षा गर्नुपर्ने भएको छ । सुरुङको मर्मत तथा अन्य प्राविधिक काम पूरा गर्न अझै छ महिनाजति लाग्ने भएको छ । बाँधको मुख्य संरचना, सुरुङको पूर्ण मर्मत गर्ने काम बाँकी रहेकाले ती कार्य सम्पन्न गरेर काठमाडौँवासीलाई पानी उपलब्ध गराइनेछ ।

खानेपानी मन्त्री मगरले गत फागुनको अन्तिम साता सुरुङ निर्माण कार्य सम्पन्न गर्न आयोजनाका अधिकारीलाई निर्देशन दिनुभएको थियो । मन्त्री मगरले दिनुभएको समयसीमाभन्दा चार दिन पहिल्यै सुरुङ निर्माण सम्पन्न भएको हो ।

पहिलो चरणमा काठमाडौँ उपत्यकामा मेलम्ची खोलाको १७ करोड लिटर पानी आयात गरिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको समेत गरी ५१ करोड लिटर पानी ल्याइनेछ ।

विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपश्चात् आयोजनाको विस्तृत अध्ययन, तयारी चरणका कार्य अगाडि बढाइएको थियो । त्यसमा जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाको मुख्य संरचना निर्माण शुरु गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पहिलो पटक सो आयोजनाको चर्चा गर्दै निर्माण शुरु गर्ने घोषणा गर्नुभएको थियो ।

आयोजनाका प्रमुख रामचन्द्र देवकोटाका अनुसार मेलम्ची नदीका बाँध निर्माणदेखि सुन्दरीजलसम्म कूल २७ दशमलव ५ किमी पूर्ण क्षमताको सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङ सिन्धु, ग्याल्थुम र आम्बाथान सुरुङ सकिएको छ । आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड छ । कूल लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे छ ।

चिनियाँ ठेकेदार चाइना रेल्वेले आवश्यक काम नगर्दा ठेक्का तोडेर सन् २०१० मा इटालियन कम्पनीलाई ठेक्का दिइएको थियो । भूकम्प र अघोषित नाकाबन्दीका कारण आयोजनाको सुरुङ निर्माण कार्य एक वर्ष ढिला भएको आयोजना प्रमुख देवकोटाको भनाइ छ ।

गत मंसिरमा नै ग्याल्थुम–अम्बाथान खण्डको आठ दशमलव दुई किमी लामो सुरुङ निर्माण सम्पन्न भएको थियो । कमजोर चट्टान तथा भौगोलिक जटिलताका कारण पछिल्लो समयमा सुरुङ निर्माण कार्यमा जटिलता उत्पन्न भएको थियो । हालसम्म आयोजनाको कूल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ ।

पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

मेलम्ची आयोजनाबाट सुन्दरीजलमा आइपुग्ने पानी प्रशोधनका लागि आठ दशमलव पाँच करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै दोस्रो प्रशोधन केन्द्रको निर्माण कार्य जारी छ । आगामी मंसिरसम्म सो प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

आयोजनाका प्रमुख देवकोटाले पानी प्रशोधन केन्द्रको दोस्रो खण्डसमेत निर्माण सम्पन्न गरी काठमाडौँवासीलाई सहजरुपमा खानेपानी उपलब्ध गराइनेछ ।

एक सय किलोमिटर पाइप बिच्छ्याउन बाँकी

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार कूल एक हजार किमी पाइप लाइनमध्ये हालसम्म ९०० किमी पाइप बिच्छ्याइसकिएको छ । अब १०० किमी पाइप बिच्छ्याउन बाँकी रहेको निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।

“बाँकी रहेको खण्डमा समेत शीघ्र पाइप बिच्छ्याउने कार्य सम्पन्न गरिनेछ । पाइपको आवश्यक परीक्षणसमेत जारी छ । तीन चार वर्ष पहिले जडान गरिएका पाइप परीक्षणमा केही समय थप लाग्न सक्छ”, प्रमुख खत्रीले भन्नुभयो ।

लार्के र याङग्रीको डिपिआरको काम जारी

लार्के र याङग्रीको पानी ल्याउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीको काम जारी रहेको छ । आगामी तीन महिनाभित्र डिपिआरको काम सकेर आयोजनाको ढाँचा तय गरिने खानेपानी सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो ।

चालु आवको अन्तयसम्म सबै प्राविधिक तयारी पूरा गरेर मेलम्चीको दोस्रो खण्ड शुरु गरिने उहाँको भनाइ छ । दोस्रो खण्डमा कूल ११ किमी सुरुङ निर्माण गर्नुपर्नेछ ।

काठमाडौँवासीलाई दैनिक चार घण्टा पानी

आयोजना सम्पन्न भएपछि काठमाडौँवासीलाई दैनिक पानी उपलब्ध गराउने तयारी गरिएको छ । पानी वितरणका लागि मुुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने कार्य भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

लामो समयदेखिको सपना पूरा हुन लागेको जानकारी दिँदै उहाँले स्वच्छ पिउने पानी पाउने नागरिकको अधिकारकोसमेत सम्बोधन हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter