प्रवासकोे अभियान – ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

hydropowerम्याग्दी, वैशाख ७ गते । वैदेशिक रोजगारी आमनेपाली युवाका लागि बाध्यता हो । रोजगारी, अध्ययन, व्यापार व्यवसायको सिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाइले कतिपय व्यक्ति सम्पन्न बन्दै सुविधायुक्त जीवनयापन गरिरहेका छन् । तर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरी आर्जन गरेको कमाइलाई आफ्नो दैनिक जीवनयापनको लागि मात्रै खर्च नगरी गाउँको शिक्षा, स्वास्थ्य, खेलकूद, सडकलगायतको विकास निर्माणमा समेत खर्चिने गरेका छन् ।

विविध कारण जन्मथलो बेगखोला भन्दा बाहिर बस्दैआएका नागरिकले बेगखोला कल्याणकारी समाजमार्फत गोलबद्ध भएर गाउँमा विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग जुटाउने गरेका हुन् । पछिल्लो समय बेगमा रहेको महादेव माविको स्वर्ण जयन्तीको अवसरमा प्रवासी बेगखोलावासीहरुको नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गर्न थालिएको छ । प्रवासमा रहेका बेगखोलावासीले सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यममार्फत विद्यालय स्थापना भएको ५० औँ वर्ष पूरा भएको अवसरमा विद्यालय पुनःनिर्माणको लागि आर्थिक संकलन गरेका हुन् ।

अभियानअन्तर्गत अहिलेसम्म विद्यालय पुनःनिर्माणका लागि रु १ करोड ३३ लाख संकलन भैसकेको अभियानका सचिव नक्कु ९नगेन्द्र० पुर्जाले बताउनुभयो । रु ५ लाख भन्दा बढी सहयोग गर्ने दाताहरुको नामबाट कक्षाकोठाको नामकरण गर्ने गरी अभियान चलाइएको र विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलावासीहरु कोही पनि नछुट्ने गरी आर्थिक सहयोग अभियानमा सहभागिता जनाउने क्रम जारी रहेको पुर्जाले जानकारी दिनुभयो । अभियानअन्र्तगत करीव रु २ करोड आर्थिक संकलन गरी हाल जीर्ण रहेको विद्यालय भवनको पुनःनिर्माण गर्ने अभियन्ताहरुको योजना छ ।

बेलायत, हङकङ, दक्षिण कोरिया, जापान, पोर्चुगल, मलेशिया, कतार, सउदी अरब, अमेरिकालगायतका मुलुकमा पुगेका बेगखोलावासीले अहिले गाउँको विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग गर्दैआएका छन् । एनआरएनए बेलायतका अध्यक्ष समेत रहेका बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको स्वर्ण जयन्तीलाई उपलब्धिमूलक तवरले मनाउने उद्देश्य अनुरुप प्रवासमा रहेका बेगखोलावासीको पहलमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको बताउनुहुन्छ । “हामीले यसअघि गाउँमा सडक सञ्जाल विस्तार गर्न, खेलमैदान स्तरोन्नति गर्न, विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष स्थापना लगायतका क्षेत्रमा पनि ठूलो रकम भित्र्याइसकेका छौँ” – फगामीले भन्नुभयो ।

प्रवासमा हुने कमाइबाट जन्मथलोको विकाससँगै स्वदेशमा लगानीको लागि समेत बेगखोलावासीहरु जुटेको उहाँको भनाइ छ । ‘‘एक प्रवासी, एक स्वदेशी रोजगारी’का लागि समेत सम्भाव्यता अध्ययन थालिएको र निकट भविष्यमै स्वदेशमै आयआर्जन हुने खालका योजनामा लगानी भित्र्याउने उहाँले बताउनुभयो । फगामीका अनुसार, पछिल्ला केही वर्षमा मात्रै सडक निर्माण, खेलकूद मैदान पुनःनिर्माण, विद्यालयमा अक्षयकोष, कला संस्कृति संरक्षणका लागि सहयोग स्वरुप प्रवासी बेगखोलावासीले रु ३ करोड भन्दा बढी रकम गाउँमा भित्र्याएका छन् ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलादेखि बेग र तिप्ल्याङदेखि बाँदुक गाउँमा सडक सञ्जाल निर्माण गर्ने क्रममा समेत प्रवासी बेगखोलावासीहरुकै पहलमा रु १ करोड २५ लाख रकम संकलन गरी करीव १३ किलोमिटर सडक निर्माण गरिएको थियो । प्रवासबाटै आर्थिक संकलन गरी बेग, सिम र बाँदुक गाउँमा रहेका क्लबहरुको खेलमैदान ढलान गर्ने योजनामा समेत लाखौँ सहयोग जुटेको थियो । बाँदुक गाउँमा जन्मिएका दोस्रो विश्व युद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरे बापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रम पाउनुभएका स्व तुलबहादुर पुनको परिवार र अन्य प्रवासी स्थानीयवासीको पहलमा बाँदुक गाउँमा विकास निर्माण र सामाजिक कार्यका लागि लगानी भित्रने गरेको छ ।

तिल्याङमा रहेको कालिका आधारभूत विद्यालयमा १० कोठा भएको भूकम्प प्रतिरोधी भवनसमेत सरकारी लगानी विना नै निर्माण गरिएको छ । भिसी पुनका परिवारको पहलमा बेलायती नागरिक ९नायिका० जोहना लुम्लीको करीव रु ४६ लाख को लगानीमा उक्त भवन बनेको थियो । साविकको बेगखोला गाविसभित्र रहेका विद्यालयहरुमा समेत प्रवासीहरुकै पहलमा पूर्वाधार बन्ने गरेको छ । गाउँको विकास र प्राकृतिक रुपमा आइपर्ने समस्याहरुमा प्रवासमा रहेका बेगखोलावासीले सामूहिक रुपमा सहयोग जुटाउने गरेको बेगखोला कल्याणकारी समाज हङकङका अध्यक्ष गिरि शेरबुजाले बताउनुभयो । यहाँका सबैजसो गाउँका खेलमैदान प्रवासीहरुकै पहलमा आर्थिक संकलन गरी स्तरोन्नति र ढलान गरिएका छन् ।

महादेव माविमा शैक्षिक गुणस्तर सुधारका लागि समेत प्रवासीहरुले अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा एसइईमा उत्तीर्ण हुने विद्यार्थीहरु, उत्कृष्ट शिक्षक, गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति प्रदानका साथै विद्यालयमा निजी स्रोतका शिक्षकको तलब र कम्प्युटर शिक्षाको निरन्तरताका लागि विभिन्न कोषमा गरी करीव रु २५ लाख रकमको अक्षय कोषसमेत प्रवासीहरुबाटै जुटेको प्रधानाध्यापक धनबहादुर फगामीले बताउनुभयो ।

“यहाँ कम्प्युटर शिक्षाका लागि आवश्यक पर्ने सामग्री खरिदमा समेत प्रवासीहरुले नै सहयोग गर्दैआएका छन्, हालै युकेमा बस्नुहुने पद्मबहादुर पुर्जाले यस विद्यालयलाई १४ वटा कम्प्युटर र ल्यापटप उपलब्ध गराउनुभएको छ, अन्य व्यक्तिहरुले पनि सहयोग गर्दै आउनुभएको छ” – प्रअ फगामीले भन्नुभयो ।

विदेशमा बगाएको पसिनाबाट हुने आम्दानीलाई बेगखोलावासीले गाउँको विद्यालय भवन, खेलमैदान, सडक, स्टेजलगायतका पूर्वाधार निर्माणमा करोडौँ भित्र्याइसकेका छन् भने गाउँमा प्राकृतिक विपद्का पीडित, बिरामी भएर उपचार गराउन नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दैआएका छन् । उनीहरुले सामाजिक क्षेत्रमा गाउँमा मात्रै नभएर जिल्ला र अन्य ठाउँमा समेत सहयोगी हात अगाडि बढाइरहेका छन् । प्रवासी बेगखोलावासीकै नेतृत्वमा पुनःनिर्माण हुन लागेको महादेव माविको भवन शिलान्यास गर्न हालै बेग पुग्नुभएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले प्रवासमा आफूले गरेको पौरखबाट हुने कमाइलाई जन्मथलोको विकासमा खर्च गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

प्रवासीहरुबाट गाउँमा भित्रने सहयोग र लगानीलाई पारदर्शी रुपमा सम्बन्धित क्षेत्रमै परिचालन गरिने भएकाले वर्षेनी गाउँको विभिन्न क्षेत्रमा सहयोग आउने क्रम बढ्ने गरेको वडा सचिव बिल बहादुर फगामी बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter