तरकारी खेतीले फेरियो जीवन

Vegetable farmingमधुसुधन तिमल्सिना / काभ्रे, वैशाख ९ गते । काभ्रे पलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैसीथोकस्थित राम्चेबेसीका कृषकको जनजीवन तरकारीखेतीबाट फेरिएको छ । यहाँका करिब दुई सय कृषक पछिल्ला दिनमा व्यावसायिक तरकारी खेतीतर्फ लागेकै कारण वार्षिक एक करोड रुपियाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

परम्परागत रूपमा गरिने कृषि प्रणालीबाट लगानी बढी र फाइदा कम हुन थालेपछि यहाँका कृषक अहिले आधुनिक तरकारी खेतीतर्फ लागेका हुन् । उनीहरू यसतर्फ लागेको करिब दुई दशक जति भयो ।

आफ्ना अधिकांश खेतबारीमा गोलभेँडा, आलु, घिरौँला, काउली, बन्दा, बोडी, करेला, भन्टा लगायतका तरकारी रोपेर यहाँका कृषकले अहिले प्रतिपरिवार वार्षिक एकदेखि छ लाख रुपियाँसम्म कमाउन सफल भएका छन् । तरकारी खेतीले गर्दा नै आफूहरूको आर्थिक स्थिति उकासिएको उनीहरू बताउँछन् ।

पहिले तरकारी खेती गर्नुपर्छ भन्ने नजान्दा काठमाडौँको कालीमाटीबाट काउली किनेर गाउँ लैजाने कृषक अहिले दैनिक दुई टन जति तरकारी बेच्न गाउँबाट कालीमाटी आउने गर्छन् । आधुनिक किसिमका हाइब्रिड बीउका तरकारी रोप्न यहाँका कृषकले अहिले दक्षता पाएका छन् ।

जैसीथोकका कृषक काशीनाथ न्यौपानेले तरकारी खेती गर्न थालेको अहिले १५ वर्षभन्दा बढी भयो । आफ्नो भएभरको सबै जग्गामा तरकारी रोपेर वार्षिक छ लाख रुपियाँभन्दा बढी आम्दानी गर्दैआउनुभएका उहाँको खेतबारीमा बाह्रै महिना तरकारी मात्र देख्न पाइन्छ । तरकारी खेती गरेकै भरमा उहाँले पाँच रोपनी जग्गा पनि जोड्नुभएको छ ।

उहाँले भन्नुभयो, म तरकारी खेती गर्नकै लागि जन्मिएको हुँ जस्तो लाग्छ । यस खेतीबाट आफूले अहिले सोचेभन्दा बढी नै सफलता पाउन सकेको उहाँले बताउनुभयो । यहाँका कृषक अहिले मौसमी तथा बेमौसमी दुवै खाले तरकारी खेतीतिर लागेकाले राम्रो कमाइ पाउन सफल भएको न्यौपानेले बताउनुभयो ।

तरकारी खेती गर्न धेरै समस्या पनि छन् । मुख्य रूपमा सिँचाइको समस्या छ भने तरकारी खेतीमा विभिन्न खालका रोगको सङ्क्रमण पनि उत्तिकै चुनौतीको रहेको छ । समय–समयमा हुने रासायनिक मलको अभावले पनि यहाँका कृषकलाई अप्ठ्यारो पार्ने गरेको छ । तैपनि कृषक निराश छैनन् ।

गाउँबाट करिब छ सय मिटर तल रहेको चाखोलाको पानी विद्युतीय पम्पसेटबाट तानेर सिँचाइ गर्दैआएका उनीहरूका लागि यसमा कसैले पनि सहयोग गरेका छैनन् । कतिपयले आफ्नै लगानीमा सिँचाइ पोखरी निर्माण गर्दै वर्षायाममा परेको पानी सङ्कलन गरेर सुख्खायाममा पनि तरकारी खेती गर्दैआएका छन् । सिँचाइका लागि सहज वातावरण भए तरकारी खेती गर्न अझ सजिलो हुने राम्चेबेसीका कृषक हरिप्रसाद सापकोटाले बताउनुभयो । मलका लागि भने अहिले तरकारी खेतीमा प्राङ्गारिक मलको प्रयोग बढ्न थालेको सापकोटाले जानकारी दिनुभयो ।

तरकारी ढुवानी गरेर बजार लैजान भने यहाँ खासै समस्या छैन । गाउँसम्म नै गाडी पुग्छ, त्यसैले उत्पादित तरकारी हामीले आफै कालीमाटी लगेर बेच्ने गरेका छौँ, सापकोटाले भन्नुभयो ।

यहाँ उत्पादित तरकारीमा अलि बढी मात्रामा विषादि प्रयोग हुने गरेको जनगुनासो पनि बेला–बेलामा आउने गर्छ । तरकारी खेतीमा विभिन्न किसिमका रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेपछि विषादिको प्रयोग केही बढाउन बाध्य भएको कृषकले स्वीकार गरेका छन् । तैपनि हामीले अनावश्यक रूपमा विषादि प्रयोग गरेका छैनौँ, उनीहरू भन्छन् ।

यस गाउँबाट प्रभावित भएर अहिले जिल्लाका चण्डेनी मण्डन, कुन्ताबेसी, पाँचखाल, बनेपा, नाला लगायतका कृषक पनि तरकारी खेतीतिर आकर्षित भएका छन् । उनीहरूले पनि पछिल्ला दिनमा यस खेतीबाट राम्रै फाइदा लिन सकेको बताएका छन् । राजधानीको बजारमा काभे्र जिल्लामा उत्पादन भएको तरकारीले अहिले करिब ३५ प्रतिशत स्थान ओगटेको बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter