राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास; लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध – प्रम

President Foundation Stoneबुटवल, वैशाख १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ ।

बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहनुभएको थियो ।

दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिनुभएको थियो ।

कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षात्का कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

कोषले प्रधानमन्त्रीको निर्देशनबमोजिम सभाहल निर्माण गर्ने निर्णय तत्काल गरे पनि लुम्बिनीमा बन्ने सभाहल अत्याधुनिक र बहुउपयोगी हुनुपर्ने ठहर गर्दै परामर्शदाता छनोट गरेर काम थालेको थियो । सभाहलको लागत करीब रु २७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइरहेको छ ।

सभाहलको परामर्शका लागि छनोट भएको काठमाडौँस्थित श्रेष्ठ कन्सल्ट्यान्टले केही महिनाअघि सभाहलको विस्तृत डिजाइन र लागत स्टिमेट पेश गरेको थियो ।

लुम्बिनीमा निर्माण हुने सभाहल गुम्बा आकारको हुनेछ । गोलो सभाहलमा ठूला–ठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह, ठूला ठूला ध्यान शिविरसमेत हुनेछन् । सभाहललाई सानो ठूलो आकारमा विभाजन गर्न मिल्ने प्रविधिसमेत जडान हुनेछ ।

दुई वर्षभित्र सक्ने योजना रहेको यो सभागृहको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताउनुभयो ।

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध – प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै उहाँले भन्नुभयो, “अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी छन् ।”

बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि हो ।”

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकेको तथ्य स्वीकार गर्दै बुद्धले मानव जातिको विकासका लागि नयाँ दर्शन प्रतिपादन गरेको बताउनुभयो ।

बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामको एकीकृत विकासमा जोड दिँदै उहाँले बुद्ध जयन्तीलाई प्रदेशको राष्ट्रिय पर्वको रुपमा मनाउन चाहन्छौँ भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका चार उत्कृष्ट कर्मचारी, दुई अति उत्कृष्ट कर्मचारी र एक सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुभएको थियो । उत्कृष्ट कर्मचारीलाई रु १० हजार, अति उत्कृष्ट कर्मचारीलाई रु २० हजार र सर्वोत्कृष्ट कर्मचारीलाई रु ३० हजार नगद प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter